विनोद चौधरीलाई स्थानीय सरकारमा बोलाइयो,हदसम्मको जरिवाना तिराउने तयारी

विनोद चौधरीलाई स्थानीय सरकारमा बोलाइयो,हदसम्मको जरिवाना तिराउने तयारी

डलर अर्बपति विनोद चौधरीको ललितपुरको बखुण्डोलस्थित निर्माणाधीन लक्जरियस अपार्टमेण्टका कारण हिजो राति पीडित बनेका आधा दर्जन घरधनी र स्थानीयलाई उचित क्षतिपूर्ति तिराउने आश्वासन महानगरपालिकाले दिएको छ । होटल समिट भएको स्थानमा बनाउन थालिएको चौधरीको समिट अपार्टमेण्टको जग खन्ने क्रममा दुई वटा घर ध्वस्त भएको छ । एउटा छ तले घरको भुईंतल्ला जमिनमुनी भासिएको छ भने आधा दर्जनबढी घरमा क्षति पुगेको छ ।

गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउन थालिएको र स्थानीयको निजी सम्पत्तिमा क्षति पुर्याएको भन्दै स्थानीय हिजो सबेरैदेखि आक्रोशित छन् । चौधरीविरुद्ध हिजो दिनभर नाराबाजी भएको छ । डलर अर्बपतिको मिचाहा प्रवृत्ति, गैरकानुनी भवन निर्माण प्रक्रियाको विरोधमा स्थानीय उत्रिएपछि सो क्षेत्रमा हिजो बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

ललितपुर महानगरले चौधरीको कम्पनीले नियमानुसारको निवेदन, प्रक्रिया र निर्माण स्वीकृति केही पनि नलिई काम थालेकाले महानगरका अधिकारीहरु पनि क्रुद्ध छन् । चौधरीको अपार्टमेण्ट कम्पनीले सहरी विकास मन्त्रालयबाट प्लानिङ परमिट मात्रै लिएको तर महानगरबाट कुनै स्वीकृति नलिएकाले हदैसम्म कारवाहीको निम्ति आज महानगरको कार्यालय पुल्चोकमा बोलाइएको छ । 

महानगर स्रोतले भन्यो, ‘लापरबाहीको पराकाष्ठा भयो । सांसद हुँ भन्नेले नै नियमविरुद्ध निर्माण गर्ने,सर्वसाधारणको उठीबास लगाउने कार्य गरेको देखिन आएकाले वास्तविकता बुझ्न आज बोलाइएको छ । कानुनसम्मत ढंगले उनले स्थानीयलाई चित्त बुझाउनुपर्यो । तर महागनरपालिकालाई बाइपास गरेकाले हदैसम्मको कारबाही र जरिवाना गरिने छ ।’

मेयर चिरिबाबु महर्जनले कारबाही गर्लान् ? भनेर सोधिएको जिज्ञासामा स्रोतले भन्यो, ‘सर्वसाधारणलाई बिचल्ली बनाएको यो इस्युमा उहाँले दायाँबायाँ गर्नुहुन्न । हिजो अनौपचारिक रुपमा मेयरले केही कर्मचारीहरुसँग कुराकानी गर्नुभएको छ ।’ स्रोतले भन्यो, ‘महानगरपालिकाबाट नक्सा पास र अस्थायी स्वीकृति लिएर मात्र भवन निर्माण थाल्नुपर्नेमा सो गरेको पाइएन ।’ 

स्थानीय सरकार सञ्चालन ऐनअनुसार कुनैपनि निर्माणअघि पालिकाबाट अस्थायी स्वीकृति लिनुपर्छ । डिपीसी भएपछि स्थायी निर्माणको स्वीकृति लिनुपर्नेमा उक्त अपार्टमेण्ट निर्माणमा कानुनको गम्भीर उल्लंघन भएको छ ।
 

टिप्पणीहरू