विनोद चौधरीलाई कारबाहीसँगै १० अर्बको रोडम्याप

विनोद चौधरीलाई कारबाहीसँगै १० अर्बको रोडम्याप

काठमाडौंका मेयर बालेन साहले जथाभावी डोजर चलाएको घटनाबाट पाठ सिक्दै ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले सर्प मर्ने,लठ्ठी पनि नभाँचिने योजना बनाएका छन् । उनले भोलि सोही योजनालाई मूर्तरुप दिन सरोकारवालाहरुबीच भेला बोलाएका छन्  ।

‘भोलि हाम्रो महानगरले नगरक्षेत्रमा बनाइएका मापदण्डविपरितका संरचना भत्काउनेबारे महत्वपूर्ण छलफल गर्दैछ । काठमाडौं महानगर, टोखा नगरपालिका, स्ट्रक्चरल इञ्जिनियरहरु र विज्ञहरुबीच २ बजे छलफल डाकिएको छ । त्यसमा सर्वसाधारण पनि खुशी हुने,महानगरलाई पनि आर्थिक स्रोतको जोहो हुने योजना बनाइने छ,’महानगरपालिका स्रोतले भनेको छ ।

भोलिको छलफलले भवन अभिलेखीकरण कार्यविधिलाई अन्तिम रुप दिन सहयोगी भूमिका निभाउने बताइन्छ । कार्यविधिमा कम्तीमा तीन सय प्रतिशत जरिवाना लिएर मापदण्ड विपरितका संरचनालाई नियमन गर्न म्याद दिने तयारी मेयर महर्जनको छ । यसो गर्दा सक्नेलाई नियमित गराउने र नियमनमा नआउनेलाई कारवाही गर्ने बाटो खुल्ने उनको बुझाइ छ ।

महानगरमा विशेषगरी साढे २ तला भनेर तीन तला बनाइएको,टप नभएको ठाउँमा टप राखिएको र सेड ब्याक मिचेर भवन बनाइएको समस्या सबैभन्दा धेरै पाइएको स्रोतको दाबी छ । यस्तो अवस्थामा नयाँ कार्यविधि कार्यान्वयन गर्दा महागनरले झण्डै १० अर्ब आम्दानी हुने लक्ष्य राखेको बताइन्छ । कार्यविधि पहिले मूल बाटोमा, त्यसपछि भित्रीबाटो र गल्लीका भवनमा पनि लागू हुनेछ । 

यसैबीच डलर अर्बपति विनोद चौधरीको समिट अपार्टमेण्टले सहरी विकास मन्त्रालयबाट प्लानिङ परमिट मात्रै लिएको तर महानगरबाट कुनै स्वीकृति नलिएको सम्बन्धमा हदैसम्मको कारवाहीको निम्ति आज महानगरको कार्यालय पुल्चोकमा बोलाइएको छ । 

लापरबाहीको पराकाष्ठा गर्दै निर्माण थालिएको नजिकैका दुई वटा घर ध्वस्त भएका छन् । अन्य आठ वटा घरमा क्षति पुगेको छ । एउटा घरको भुईं तल्ला जमिनमुनि भासिएकाले वास्तविकता बुझ्न चौधरीको कम्पनीका प्रतिनिधिलाई आज पुल्चोक बोलाइएको छ । कानुनसम्मत ढंगले उनले स्थानीयलाई चित्त बुझाउनुपर्ने महानगरको भनाइ छ । तर निर्माण स्वीकृतिमा महागनरपालिकालाई बाइपास गरेकाले हदैसम्मको कारबाही र जरिवाना गरिने बताइन्छ ।

टिप्पणीहरू