‘बा’ र ‘बुवा’ माथि हावी आइटी विज्ञ

‘बा’ र ‘बुवा’ माथि हावी आइटी विज्ञ

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सूचना प्रविधि (आइटी) विज्ञ एवम् स्वकीय उपसचिव हुन्, प्रकाश रायमाझी । स्किमा टेक्नोलोजी प्रालिको प्रबन्ध निर्देशकसमेत रहेका छन् । रामेछापका उनलाई गत फागुन १ गतेदेखि प्रधानमन्त्रीको विज्ञमा नियुक्त गरिएको हो । बाहिरबाट मिजासिलो र आफ्नो छविमा अलिकति पनि दाग नलागेको देखाउने उनको भित्री आवरण भने क्रमिक रूपमा बाहिरिन थालेको छ । प्रचण्डकी बुहारी एवं पूर्व खानेपानीमन्त्री बिना मगरको ‘पर्सनल असिस्टेन्ट’ रहिसकेका रायमाझी आइटीको विद्यार्थी होइनन् ।

सम्बन्धित क्षेत्रमा दक्षता हासिल नगरेको भए पनि उनलाई प्रविधिको राम्रै ज्ञान छ । उनैको कारणले मन्त्रालयमा भागदौड मच्चिएको स्रोतले बतायो । रायमाझीले आइटीका सबै प्रोजेक्ट आफूलाई दिनुपर्ने भन्दै दबाब दिइरहेको चर्चा छ । हाल उनको आँखा गृह मन्त्रालयमा आएर अड्किएको छ । राष्ट्रिय परिचयपत्रसम्बन्धी सबै ठेक्का आफ्नो कम्पनीलाई दिनुपर्ने भन्दै उनले गृहका कर्मचारीलाई च्यापेका च्याप्यै छन् । केही दिनअघि बालुवाटारमा गृहसचिव विनोदप्रकाश सिंहसहितको बैठक बोलाएका थिए । प्रधानमन्त्रीको सामु दबाब दिएर ठेक्का हात पार्ने सोचमा रहेका उनी गृहसचिव नआएपछि रिसले मुर्मुरिएको बताइन्छ । प्रधानमन्त्रीकी छोरी एवम् स्वकीय सचिव गंगा दाहालको नाम लिएर मनपर्दी चलाउँदै आएका उनको स्वभावदेखि माओवादी नेताहरूसमेत वाक्कदिक्क बनेका छन् । गएको चुनावमा माओवादीको सबै प्रोजेक्ट जिम्मा लिएका थिए । हालसालै मात्र प्रधानमन्त्री प्रचण्डको ट्वीटर अकाउण्ट ह्याकरको कब्जामा पुगेको थियो । ह्याक भएको अकाउण्ट एकदिनपछि बल्लतल्ल ठीक पारियो ।

यसअघि एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आइटी विज्ञ थिए, असगर अली । ओलीलाई ‘बा’ भनेर संबोधन गर्ने अलीले थुप्रै गैरकानुनी धन्दा चलाए । उनको नाम अनाधिकृत रूपमा सूचना संकलन र न्यूज पोर्टल ह्याक गर्नेदेखि बिटक्वाइन धन्दासम्मका काण्डमा मुछिएको थियो । अनलाइन विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी (अनलाइन पेमेण्ट गेटवे इ–सेवा) को सिईओसम्म रहेका अलीले पदको दुरूपयोग गरेको साबितसमेत भयो । उनले व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका लागि सरकारका विभिन्न निकायमा रहेको सूचना अनाधिकृत रूपमा संकलन गरेका थिए ।

आम नागरिकका संवेदनशील र गोप्य विवरण उपलब्ध गराउन भन्दै विभिन्न सरकारी निकायलाई उनले दबाब दिने गरेकोसमेत सुनिन्थ्यो । प्रचण्डका आइटी विज्ञ प्रकाशको पारा पनि अलीसँग मिल्दोजिल्दो देखिएको छ ।  माओवादीका एक नेताले भने,‘अरुलाई देखाउन बुवाले यसो गर्नुभयो, उसो भन्नुभयो भन्दै हिँडेका हुन्छन् । जतिबेला नि पार्टी अध्यक्षकै पछिपछि दौडिरहेको देख्छु । बा भन्दाभन्दै ओली सकिए, प्रचण्डलाई  यिनले बुवा भनेरै डुबाउने भए ।’

– वाइसिएलका कर्मठ योद्धाहरु
 

टिप्पणीहरू