चीनसँग सीमाना जोडिएका राज्यमा भारतको महत्वाकांक्षी योजना

चीनसँग सीमाना जोडिएका राज्यमा भारतको महत्वाकांक्षी योजना

भारतको अरुणाचल प्रदेशको सीमावर्ती गाउँ किबिथुमा ‘भाइब्रन्ट भिलेज प्रोगाम’ शुरु गरिएको छ । गृहमन्त्री अमित साहले उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । 

सीमा क्षेत्रको शान्तिसुरक्षा ध्यानमा राखेर उक्त कार्यक्रम सञ्चालनमा ल्याएको बताइएको छ । कार्यक्रम उद्घाटन समारोहम बोल्दै साहले मुलुकको सुरक्षामा सरकार सँधै चनाखो र प्रतिबद्ध रहने घोषणा गरेका छन् । उनले अरुणाचल सरकारका नौ लघु जलविद्युत परियोजना र इन्डो–तिब्बत सीमा प्रहरी (आईटीबीपी) को १४ वटा पूर्वाधार परियोजनाको उद्घाटन गरेका हुन् ।

सिक्किम, उत्तराखण्ड, हिमाचल प्रदेश र केन्द्र शासित प्रदेश लद्दाखको उत्तरी सीमामा रहेका १९ जिल्लाका ४६ वटा ब्लकका दुई हजार ९६७ गाउँलाई समेट्ने गरी भारत सरकारले ल्याएको उक्त रणनीतिक परियोजनाले सीमा क्षेत्रमा विकासले फड्को मार्ने भारत सरकारले विश्वास लिएको छ । पहिलो चरणमा ११ जिल्लाका ६६२ गाउँका २८ ब्लक र एक हजार ४५१ गाउँका करिब एक लाख ४२ हजार जनसंख्यालाई समेटेर कार्य  थालनीको योजना भारत सरकारले बनाएको छ । 

परियोजना सन् २०२६ सम्म सम्पन्न गर्ने लक्ष्य छ । कार्यक्रममा बोल्दै गृहमन्त्रीले अरुणाचलका सबै जनतामा आधारभूत सेवाको पहुँच र पर्यटन प्रवद्र्धन मुलुकको पहिलो प्राथमिकता रहेको बताए । भारतीय समाचार संस्था इण्डिया न्युज नेटवर्कका अनुसार    पाँच वर्षे योजनाले बसाइँसराइका कारण उजाड बनेको गाउँघरलाई पहिल्यैको अवस्थामा फर्काउने छ । 

‘भाइब्रन्ट भिलेज प्रोगाम’ अन्तर्गत प्रदेशको दुर्गममा रहेका समुदायलाई विद्युत उपलब्ध गराउन ७ सय २५ किलोवाट क्षमताका नौ वटा लघु जलविद्युत परियोजना पनि अघि बढाइएको छ । यसमा कम्तीमा तीन करोड भारतीय रुपैयाँ खर्च हुनेछ ।

यता चीनले उक्त प्रदेशका अधिकांश भूभाग आफ्नो रहेको दाबी गर्दै आएको छ । उसले गत साता अरुणाचलका झण्डै एक दर्जन स्थानको नाम स्थानीय तिब्बती भाषामा राखेको थियो । त्यसको भारतले चर्को प्रतिक्रियासहित विरोध र खण्डन गरेको छ ।

टिप्पणीहरू