शीर्ष नेताहरुको बैठकमा दशमलवको हिसाव
हिजो भएको तीन ठूला दलका शीर्ष नेताहरुको बैठकमा अंक र दशमलवको लामो चर्चा भएको छ । सत्य निरुपण तथा मेलमिलाप विधेयक र संसदीय सुनुवाई समितिमाथि भएको छलफलमा विधेयक पारित गराउनेवारे लगभग सहमति जनाइएको बुझिएको छ । तर, संसदीय सुनुवाई समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुको संख्याबारे नेपाली काँग्रेस,एमाले र माओवादीका शीर्ष नेताहरुबीच दशमलवमा चर्काचर्की भएको छ ।
‘समितिमा १२ जना रहने सहमति छ,तर संख्या भागबण्डाबारे गलफत्ती भएको छ,’ बैठकमा सहभागी एक जना शीर्ष नेताले बताए । १२ जनालाई दलका सांसदहरुको आधारमा भाग लगाउँदा नेपाली काँग्रेसको ३.८९ प्रतिशत हुन आएको थियो । त्यसो हुँदा उसलाई ४ सदस्य तोक्नेमा सभापति शेरबहादुर देउवासहित एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएको हो ।
त्यसैगरी एमालेको ३.४९ प्रतिशत हुँदा ३ जना सदस्यमा अध्यक्ष ओलीले ‘ओके’ गर्नुभएको थियो । माओवादीको १ जनामा पनि सबैले सहमति गरेका थिए ।
अन्य दलको सदस्य संख्याको आधारमा जसपाको ०.४९ र माधव नेपालको एकीकृत समाजवादीको ०.४४ प्रतिशत कायम भएको हो । त्यसो हुँदा दुबै दललाई एक जना सदस्य दिनुपर्ने प्रधानमन्त्री र देउवाको भनाईपछि एमाले अध्यक्ष ओलीले कडा प्रतिवाद गर्नुभएको बताइन्छ ।
उहाँहरुले सत्तारुढ सबै दललाई एक जना सदस्य दिनुपर्ने अडान राखेपछि क्यालकुलेटर थिच्दै ओलीले भन्नुभयो,‘दिन मन लाग्छ भने आफ्नो भागको कटाएर दिनुहोस् । हिसाब निकाल्दा ०.५० प्रतिशतभन्दा कम संख्या हुनेलाई एक सिट दिने हो भने एमालेको ०.४९ प्रतिशतको थप एक सदस्य किन नहुने ?’
अध्यक्ष ओलीको चर्को प्रतिवाद सुनेपछि नेताहरु बैशाख १ गते पुनः बैठक राख्ने सहमति गरेर उठेका थिए ।
| यो पनि... 1. राष्ट्रपति र प्रधानमन्त्रीलाई श्रमदान अवलोकनकाे निम्तो |
टिप्पणीहरू