नेपाली शान्ति सेनालाई रोकेकोवारे राष्ट्रसंघमा उजुरी
शान्ति सैनिकको टोली बोकेर अफ्रिकी मुलुक युगाण्डा जान लागेको नेपाल वायुसेवा निगमको एउटा उडान अन्तिम क्षणमा रोकिएपछि उक्त विषय संयुक्त राष्ट्रसंघमा पुग्ने भएको छ । नेपाली सेनाको ७७ जनाको डफ्फालाई बोकेर युगाण्डा जान लागेको आरएको विमान इरिट्रियाले उसको आकाश मार्ग प्रयोग गर्न नदिएपछि रोकिएको थियो ।
आइतबार राति युगाण्डा पुर्याएर उता रहेका ६७ जना नेपाली सैनिकलाई काठमाडौं ल्याउन संयुक्त राष्ट्र संघले निगमको विमान चार्टर गरेको थियो । त्यसको निम्ति कतारको दोहामा १० जना चालक दलका सदस्यलाई चार दिनअघि नै पठाएर राखिएको थियो । तर,अन्तिम क्षणमा इरिट्रियाले निगमलाई उडान स्वीकृति नदिएपछि यताका सैनिक यतै र उताका उतै छन् ।

हवाई मार्गमा परेका १२ मुलुकमध्ये पहिले सबैले उडान अनुमति दिएका र पछि अन्तिम क्षणमा इरिट्रियाले अनुमति रद्द गरेको निगमको भनाइ छ । दुई साताअघि मागिएको उडान अनुमति अन्तिम क्षणमा दिएर तत्काल रद्द गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जनाएका छन् ।
इरिट्रियाको उक्त निर्णयपछि उत्पन्न समस्याबारे हिजो सैनिक मुख्यालयमा सैनिक र निगमका अधिकारीहरुबीच कुराकानी भएको छ । बैठकले संयुक्त राष्ट्रसंघलगायत विभिन्न निकायमा इरिट्रियाको पछिल्लो कदमबारे जानकारी गराउँदै अर्को उपयुक्त समयमा उडान गर्ने निर्णय गरेको बताइएको छ ।
| यो पनि... |
टिप्पणीहरू