कलेजमा ढुंगामुढा गरेकालाई तत्काल रिहा गर्न अखिलको माग
काठमाडौँको थापाथलीस्थित ब्रिटिश कलेजको तोडफोडमा नेकपा (एमाले) निकट अनेरास्ववियुका विद्यार्थीहरू संलग्न रहेको खुलेको छ । संगठनका उपमहासचिव कमल जोशीसहित डेढ दर्जन युवाहरुले दिउँसो कलेजको मुल गेट, ढोका, झ्यालमा ढुंगामुढा गरेका हुन् ।
कलेजले महंगो शुल्क असुल्दै आएको दावीसहित तोडफोडमा उत्रिएका उनीहरुमध्ये दश जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । पक्राउ पर्नेमा रुद्रहरी पोखरेल, जितप्रसाद सिटौला, अञ्जली लम्साल, मौसम स्याङ्बो, दिपक रेग्मी, सुस्मा शाही, आदित्य भण्डारी, अर्चना भट्टराई, रवि मिश्र, दुर्गा घिमिरेलगायत छन् ।
उता संगठनका अध्यक्ष दिपक धामीले शैक्षिक माफियाविरुद्ध पक्राउ परेका विद्यार्थीहरुलाई निशर्त रिहा गर्न माग गरेका छन् । उनले विद्यार्थीहरुमाथि प्रहरीले कुटपिट गरेकोमा पनि आपत्ती जनाएका हुन् । ‘ब्रिटिश कलेजले विद्यार्थीमाथि गरेको ठगीको विषयमा आवाज उठाउँदा अनेरास्ववियुका साथीहरुमाथि प्रहरीले अमानवीय ढंगले निर्ममतापूर्वक लाठी चार्ज गरेर घाइते बनाएको छ, भने दर्जनौ साथीहरुलाई अनामनगर प्रहरी वृतको हिरासतमा राखेको छ’, उनले भनेका छन्, ‘माफियाविरुद्ध बोल्दा प्रहरीले गरेको दमन गैरकानुनी र अराजक कार्य हो, घाइते साथीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै हिरासतमा रहेका सबै साथीहरुलाई यथाशिघ्र रिहा गर्न अपिल गर्दछु ।’
टिप्पणीहरू