देउवाको डेरामा प्रधानमन्त्रीका पति
‘संसद पुनःस्थापना भएपछि नयाँ बन्ने सरकारको नेतृत्व गर्न के तपाईं तयार हो?’ एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पछिल्लो पटक गत शनिवार भएको संवादका क्रममा सोधिएको प्रश्न हो यो । समाचार स्रोतका अनुसार जवाफमा देउवाले भनेका थिए, ‘महाधिवेशन माघ महिनामा गर्न सहमति जनाउनुपूर्व गगन थापासँग संसद पुनः स्थापना भइहालेमा संसदीय दलको नेताबाट मलाई नहटाउने शर्तमा मात्र सहमति जनाएको हुँ ।’
त्यसो त देउवाले ओलीलाई गएको बिहिबारका दिन प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदीले भेटेर गरेको आग्रहबारे समेत खुलासा गरेका थिए । सुवेदीको प्रस्ताव थियो, ‘प्रचण्ड र केपी ओलीलाई एक दिन मात्रै भए पनि थुन्नुपर्ने हुन सक्छ यदि त्यस्तो भइहाल्यो भने कांग्रेसले आवाज उठाइदिनु भएन ।’ आफूले त्यस्तो प्रस्तावलाई इन्कार ठाडै गरेको समेत देउवाले बताएको समाचार स्रोतको दावी छ । उनले देउवा सिंगापुरमा भएकै बेलासमेत ठूला नेतालाई गिरफ्तार गर्ने योजनाअन्तर्गत उनीहरूको निवास वरिपरि प्रहरी निगरानी बढाइएकोबारे यसअघि नै चर्चा भएको थियो ।
उता, फागुन २१ गते हुने भनिएको निर्वाचनमा के–कस्तो गठबन्धन र तालमेल बन्छन् भन्ने विषयमा पनि चर्चा शुरु भइसकेको छ । माओवादी र समाजवादी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले साना कम्युनिष्ट पार्टीहरूसँग तालमेल हुन सक्ने तर एमालेसँग गठबन्धनको सम्भावना नरहेको प्रष्ट पारिसकेको छ । उता गगन थापालगायतले कांग्रेसले पनि कुनै अर्को दलसँग गठबन्धन नगर्ने प्रष्ट पारिसकेका छन् । एमालेले पनि अन्य दलसँग गठबन्धन नगर्ने नीति पारित गरेरै जाने बुझिएको छ ।
यसबीच, अमेरिकन युथ काउन्सिलले देशव्यापी रुपमा विस्तार गरेको सञ्जाल निर्वाचनमा कसरी परिचालन हुने हो भनेर चर्चा चल्न थालेको छ । बालेन शाहदेखि सुमना श्रेष्ठसम्मलाई प्रशिक्षित गर्दै आएको यो काउन्सिल को कतिपय स्थानमा वडा र पालिका तहसम्म कमिटी गठन भएको जानकारी प्राप्त भएपछि यसबारे राज्यका कतिपय निकायहरू निकै गम्भीर बनेको बताइन्छ । ठूला दलहरू यस प्रकारको संयन्त्रले निर्वाचनमा पार्ने प्रभाव यसैको स्थानीय र संसदीय निर्वाचनमा समेत देखिइसकेको हुनाले बढी चिन्तित बनेको समाचार स्रोतको भनाइ छ ।
एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीलगायत दललाई नयाँ खुलेका दलले भन्दा युथ काउन्सिलको राष्ट्रव्यापी सञ्जालले बढी चिन्तित तुल्याएको देखिएको छ । कारण के हो भने नयाँ दलहरूसँग तल्लो तहसम्म सांगठानिक संरचना नै छैन । एक हदसम्म संरचना विकास गरिसकेको रास्वपाले हो । तर, जसरी खगेन्द्र सुनारदेखि कुलमान घिसिङसम्मका दलले भारी मत प्राप्त हुने दावी गरिरहेका छन् त्यसको कुनै आधार नरहेको एमाले–कांग्रेसका नेता बताउँछन् । एमालेका एक नेताले टिप्पणी गर्दै भने, ‘के भएजति सबै तामाङले कुलमान घिसिङलाई नै भोट हाल्छन् ? अनि हाम्रा संगठित तामाङ कार्यकर्तासमेत उनकै भोटर हुन् ?’ उनले थप प्रश्न गर्दै भने, ‘हामीसँग ठूलो मात्रामा दलित कार्यकर्ताहरू हुनुहुन्छ । के ती सबै साथी खगेन्द्र सुनारकै मतदाता बनिसके?’
एक विश्लेषकले भने, ‘घिसिङको उज्यालो पार्टीले जित्छ भन्न सक्ने कुनै आधार छ ? त्यहाँ संगठन भएका दल एमाले र कांग्रेस नै हुन् । फेरि पनि तिनै दलले जित्छन् ।’ जुन पार्टीको जिल्ला कमिटी त परै जाओस् । प्रदेश समितिसमेत बन्न सकेको छैन । त्यसले अप्रत्यासित नतिजा ल्याउँछ भनेर अनुमान गर्न सक्ने कुनै आधार नरहेको उनीहरूको तर्क छ ।
०६४ सालमा माओवादीले प्राप्त गरेको अप्रत्यासित नतिजाझैँ कुनै एक दलले नतिजा ल्याउने सम्भावनाबारे समेत विश्लेषकहरु सहमत छैनन् । उनीहरूका अनुसार त्यसका लागि जुन लहर चाहिन्छ त्यो कसैले सिर्जना गर्न सकेको छैन । माओवादीले १० वर्षे जनयुद्धको पृष्ठभूमिमा सिर्जना गरेको लहर अलग्गै प्रकृतिको थियो । जुन नतिजाको रुपमा पहिलो संविधानसभा निर्वाचनमा देखियो । जबकि अहिले नयाँ दलका घोषणापत्र र पम्प्लेट बोक्नेसमेत कार्यकर्ता छैनन् । अघिल्लो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेभन्दा बढी तयारीको समय पाएको तर, अहिले स्थिति त्यस्तो नरहेको मानिसहरूको बुझाइ छ ।
(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू