धर्मेन्द्रले केटीका नाममा छाडेको धर्म

धर्मेन्द्रले केटीका नाममा छाडेको धर्म

काठमाडौंको नक्सालस्थित जयनेपाल चित्रघरमा हिन्दी चलचित्र ‘आइ मिलनकी बेला’ चलिरहेको थियो । त्यसबखत म ४/५ वर्षको थिएँ होला । आमाबुबासंगै हलमा छिरेको थिएँ । मैले सम्झेको र हेरेको पहिलो फिल्म त्यही हो । बच्चा भएकाले अलग्ग सिट हुने कुरै भएन । अगाडि सिटमा बसेको मानिस अग्लो परेकोले आमाको काखमा बसेर हेर्दा पनि राम्रोसित देखिएन । सिटको हातमाथि बसालेपछि बल्ल हेर्न पाइएको थियो । मैले हेरेको पहिलो चलचित्रका नायक थिए – राजेन्द्रकुमार अनि नायिका सायरा बानु । चलचित्रमा अभिनेता धर्मेन्द्र पनि थिए, यो उनको नवौं चलचित्र जुन सम्भवतः उनको पहिलो र अन्तिम नकारात्मक भूमिकावाला सिनेमा थियो ।

सम्झेसम्म मैले हेरेको दोश्रो चलचित्र थियो ‘फूल और पत्थर’ । रञ्जना हलमा हेरेको । संयोगै भन्नुपर्छ, त्यसमा पनि धर्मेन्द्र नै थिए । तर नायकको भूमिकामा । यो उनको २१औं चलचित्र थियो । नायिका थिइन् मीनाकुमारी । यो चलचित्र पनि आमाको काखमै बसेर हेरेको थिएँ । यो चलचित्रमा काम गर्दासम्म पनि धर्मेन्द्र फिल्मी क्षेत्रमा टिक्नका लागि संघर्ष गर्दै थिए । तर, मीनाकुमारी भने सफल अभिनेत्री बनिसकेकी थिइन् । उनी अभिनीत ३ दर्जनभन्दा बढी चलचित्र हिट भइसकेको थियो भने यो उनको ८१ औं चलचित्र थियो । उनी ३३ वर्षकी भइसकेकी थिइन् भने धर्मेन्द्र ३१ का । 

धर्मेन्द्र र मीनाको पहिलो फिल्म ‘मैं भी एक लडकी हुँ’ हो । मीनाले उनलाई क्यामेराको अगाडि कसरी उभिने, संवाद कसरी बोल्नेदेखि लिएर अभिनय कलासमेत सिकाइन् । मीनाकै सिफारिसमा धर्मेन्द्रले अर्को चलचित्र ‘पूर्णिमा’ मा काम पाए र त्यही दौरान मीनालाई मन पराउन थाले । धर्मेन्द्र विवाहित थिए, २ छोरा र २ छोरीको बाउ । १९ वर्षकै उमेरमा प्रकाश कौरसंग बिहे गरेका थिए, जतिखेर चलचित्र क्षेत्रमा पाइला टेकेकै थिएनन् । त्यतिञ्जेलसम्ममा मीनाको लोग्ने कमाल अमरोहीसित ११ वर्ष लामो दाम्पत्य सम्बन्ध दुःखद अवस्थामा पुगिसकेको थियो । त्यसैले मीना दुःखी थिइन् र एक्लोपन महसुस गर्दै थिइन् । त्यसमाथि मीना कवि हृदय भएकी शालिन पनि थिइन् । जब धर्मेन्द्रले खाने, बस्नेदेखि मीनाको स्वास्थ्यको खुब ख्याल राख्दै, ‘तपाईं त मेरो आदर्श हुनुहुन्छ’ भन्न थाले, अनायासै मन पग्लने नै भयो । पहिलो भेटमा त धर्मेन्द्रले मीनाको खुट्टा नै ढोगेका थिए । 

यसपछि मीना र धर्मेन्द्रले संगै समय बिताउन शुरु गरे । मीनाले धेरै निर्माता, निर्देशकसित परिचय र सिफारिस गरिदिइन् । धर्मेन्द्रलाई नायकमा लिनुपर्ने भनेर शर्त नै तेस्र्याउन थालिन् । उनैको बलमा धर्मेन्द्रले चलचित्र ‘फूल और पत्थर’मा काम पाए । यसैबीच, मीना र कमाल अमरोहीको दाम्पत्य जीवन अन्त्य भयो । त्यसपछि धर्मेन्द्रसित सम्बन्ध झन् गहिरो बन्यो । दिनहुँ ‘जानकी कुटी’ मा जाने अनि मदिरा पिउने दिनचर्या बन्यो । मीना अलि बढि पिउँथिन् । दाम्पत्य जीवनमा देखापरेको आरोह अवरोह र पीडालाई बिर्सन उनले मदिराको सहारा लिन थालेकी थिइन् । 

सन् १९६६ मा प्रदर्शित ‘फूल और पत्थर’ धर्मेन्द्रको पहिलो सुपर डुपर फिल्म बन्यो । मीनादेखि टाढा हुँदै गए । भनिन्छ, बहसकै दौरान आफूले गुरु मान्दै आएकी मीनाको गालामा थप्पड समेत हाने । मीना त्यसपछि शायरी लेखन र मदिरामा डुब्न थालिन् । प्रायः सबै समालोचकहरू ‘हि म्यान’ को छवि बनाएका धर्मेन्द्र वास्तविक जीवनमा पत्नीप्रति बफादार त बनेनन्–बनेनन् प्रेमिकाप्रति पनि न्याय गर्न नसकेको टिप्पणी गर्छन् । धर्मेन्द्र मीनालाई फिल्मी क्षेत्रमा सफलता प्राप्त गर्ने सिंढी मात्र बनाएको भनेर आलोचित छन् । मीनाको मृत्युपश्चात अभिनेत्री नरगीसले उनको नाउँमा एउटा पत्र लेखेकी थिइन् । ‘मृत्युमा बधाई’ शीर्षकको उक्त पत्रमा मीना धर्मेन्द्रको गहिरो प्रेममा डुबेको उल्लेख छ । स्मरणीय छ, मीनाकुमारीको जीवनको कोशेढुंगा ‘पाकिजा’ का नायक धर्मेन्द्र नै थिए । निर्देशक कमाल अमरोहीले धर्मेन्द्र र मीनाबीच गहिरो सम्बन्ध रहेको थाहा पाएपछि उनलाई हटाएर राजकुमारलाई खेलाएका थिए ।

पछि धर्मेन्द्रले हेमा मालिनीसित प्रेम गर्न थाले । पहिलो भेट सन् १९६८ मा चलचित्र ‘तुम हसिन मैं जवां’ को सुटिङस्थलमा भएको थियो । उनीहरूले १२ वर्षपछि सन् १९८० मा बिहे गरे । हेमासंग बिहे गर्न आफ्नी पत्नी प्रकाशलाई डिभोर्स पनि दिएनन् । हेमा र धर्मेन्द्रबिच १३ वर्षको फरक थियो । धर्मेन्द्रको गत साता मात्र नोभेम्बर २४ का दिन ८९ वर्षको उमेरमा निधन भइसकेको छ । हेमा धर्मेन्द्रको दोश्रो पत्नी बने पनि कहिल्यै प्रकाशको घर गइनन् । हेमातर्फ धर्मेन्द्रकी छोरी इशा देवल ३४ वर्षपछि बल्ल सन् २०१५ मा पहिलो पटक ठूली आमा प्रकाशको घर पुगेकी थिइन् । 

धर्मेन्द्रको अन्तिम संस्कारदेखि सबै कर्मकाण्ड पत्नी भइकन पनि कहिल्यै सार्वजनिक कार्यक्रममा देखा पर्न र लोग्नेको बारे टिप्पणी गर्न नचाहने प्रकाश र उनका छोराहरू अभिनेताद्वय सनी र बबी देवलले गरे । हेमा र उनका छोरीहरू इशा र आहाना कुनै संस्कारमा सामेल भएनन् । हेमाले बरु आफ्नै घरमा छुट्टै पूजापाठ गरी कर्तब्य निभाइन् । स्मरणीय छ, धर्मेन्द्र दुइटी पत्नीको लोग्ने भए पनि जीवनको अन्तिम समयतिर एक्लै बस्थे । सेवार्थ नोकरचाकर राखेका थिए । धर्मेन्द्रले हेमासँग बिहे गर्न धर्मसमेत परिवर्तन गरेका थिए । उनी पञ्जाबी परिवारका थिए भने हेमा दक्षिण भारतको नैय्यर परिवारकी । हिन्दू धर्ममा विवाहित पुरुषले घरमा पत्नी भइकन अर्की नारीसँग बिहे गर्न बन्देज लगाइएकोले उनी मुस्लिम बनेका थिए । मुस्लिम बन्दा ‘दिलावर खान’ नाउँ पाए ।

पछि उनीहरूले हिन्दू परम्पराअनुरुप बिहे गरे । बिहेपश्चात् पनि धर्मेन्द्रले आफ्नो रंगीन जीवनको अन्त्य भने गरेनन् । सन् १९८६ तिर अभिनेत्री अनिता राजसँग उनको अफेयर चल्यो । दुबैको उमेरमा २६ वर्षको फरक थियो । तैपनि, दुबैजना एकापसबाट टाढिन चाहिरहेका थिएनन् । यहाँसम्म कि अनिता धर्मेन्द्रको तेश्री पत्नी बन्न गइरहेको खबरसम्म फैलिसकेको थियो, ऐनमौकामा हेमाले हस्तक्षेप गरिन् र उक्त सम्बन्ध टुट्यो । यसबाहेक अभिनेत्रीहरू आशा पारेख, राखी, जया भादुडी, रेखासित पनि बेलाबखत अफेयरको हल्ला चल्ने गरेकै थियो ।

धर्मेन्द्रको पहिलो प्रेमिका न प्रकाश, न मीना न हेमा नै थिए । पहिलो पटक उनले एउटी मुस्लिम युवतीसित प्रेम गरेका थिए । तिनको नाउँ थियो– हमिदा । धर्मेन्द्र त्यसबखत भर्खर ६ कक्षामा पढ्दै थिए । उनको जन्म पञ्जाव प्रान्तको नसरली गाउँमा भएको थियो । धर्मेन्द्रका आमाबुबाले केही समय छिमेकी गाउँमा बस्न पठाए । त्यहाँ उनीहरूका नातेदार थिए । हमिदा सोही गाउँकी थिइन् । आठ कक्षामा पढ्थिन् । शिक्षककी छोरी । अत्यन्त लजालु अनि शिष्ट स्वभावकी । धर्मेन्द्र उक्त गाउँमा रहुञ्जेल दुबैले प्रेम गरे तर प्रेम इशारा इशारामै सीमित थियो ।

दुवै एकार्कालाई घण्टाैँ हेरी बस्थे । धर्मेन्द्र पनि त्यसबखत लजालु नै थिए, त्यसैले कहिल्यै प्रेम प्रकट गर्न सकेनन् न यो प्रेमबारे कसैले थाहै पाए । धर्मेन्द्रले हमिदाका नाउँमा एउटा प्रेमपत्रसमेत लेखेका थिए । हमिदाले पत्र लिएर पनि थिइन् तर प्रत्युत्तर भने दिन पाएकी थिइनन् । उनी सधैं धर्मेन्द्रलाई देखेर मुसुक्क हास्थिन् । जव धर्मेन्द्र नजिक पुग्थे, लाजले शिर निहुर्‍याउँथिन् । मात्र एकपटक धर्मेन्द्रले उनीसँग कुरा गर्न खोजेका थिए, हमिदाले ‘धरम, हतार नगर’ भनिन् र भागिन् । यसैबीच, भारत बिभाजन भयो । हमिदाको परिवार सधैंको लागि पाकिस्तानको सिन्धतर्फ लागे । धर्मेन्द्रको पहिलो प्रेम सम्झनामा मात्र सिमित भयो । धर्मेन्द्र भन्ने गर्थे– ‘मेरो हृदयमा उनको गहिरो छाप रहिरहनेछ ।’

टिप्पणीहरू