ढुंगा फोर्दाफोर्दै मिडियाले खिचेको ध्यान

ढुंगा फोर्दाफोर्दै मिडियाले खिचेको ध्यान

भनिन्छ नि, सम्पत्तिमा सबैको हाईहाई, बिपत्तिमा कोही छैनन्, साथीभाइ । छैनन् भनौँ– ६ छोराछोरी छन्, छन् भनौँ गर्वका साथ कसैको नाम लिन सक्दैनन् । जन्मायो, हुर्कायो, पढायो, बढायो । तिनै सन्तान कालान्तरमा खुट्टा टेक्ने भएपछि हेर्लान्÷बुढेसकालको सहारा बन्लान् भन्नु त भ्रम मात्र रहेछ । त्यसमाथि पनि जेठो छोरो नै कारागार पुगेपछि पीरमाथि पीरको भारीले थिचिएका छन्, नवलसिंह राई । खाने मुख दुईबाट बढेर आठ भयो । न अन्न उब्जाउने थलो छ, न त आम्दानीको अन्य स्रोत नै । जीवनका तीन दशक ढुंगा फोडेरै बिताए । ढुङ्गा फोडेरै जीवनको नक्सा फेर्न चाहन्थे उनी तर घर सल्लाह नगरी श्रीमतीले बैंकबाट लिएको ऋण लागि गलपासो बन्न पुग्यो । 

भनिन्छ, महिला र पुरुष एक रथका दुई पांग्रा तर त्यही पांग्रा खुस्किँदा रथको यात्रा टुंगिने रहेछ । ऋण तिर्न संघर्षरत रहे, लामो समयसम्म । न छोराछोरी छैनन् भन्न सक्छन् न त गर्वका साथ तिनको नामै लिन सक्छन् । बुढेसकालमा एउटा बूढो रूखझैँ जिन्दगी जिइरहेका छन् । अहिले पनि ऋण तिर्न ढुंगा फुटाउने, काठ बोक्ने, माटो बोक्ने सबै काम गरिरहेका छन्, साढे ६ दशक बूढो हड्डी घोटिरहेछन् । 

कहिल्यै देखेनन् बाहिरी दुनियाँ । जहानले लिएको ऋण तिरेरै एक मुठी सास आरामले फेर्न चाहन्थे तर ऋण चुक्ता गर्न ढुंगामा हम्मर हान्थे, त्यति नै गरिमा बैंक र साहुबाट लिएको ऋणको ब्याज बढिरहन्थ्यो । बिहानदेखि साँझसम्म मजदुरी गरेर कमाएको पैसाले आठ जनाको मुखमा माड लगाउनै धौधौ । जसोतसो ब्याज त जुट्थ्यो, साँवा भने चुक्ता गर्न सकिरहेका थिएनन् । 

जन्मिए– बाक्सा, ओखलढुङ्गामा, विवाहबारी भयो सानैमा । ससुराली खोटाङ, च्यास्मिटार । ०४९ सालदेखि ढुंगा फोड्न थालेका नवलसिंहको यो अवधिमा ज्याला ५ सयले बढेको छ । पहिले एक पिल ढुंगा (एक ट्र्याक्टर) को ६ सय लिन्थे । अहिले ११ सय । आफैं ढुंगा फोड्ने र ओसार्ने कर्म गर्ने भएका कारण गाउँलेहरूले ट्र्याक्टर बूढाको उपनामले चिन्छन् । 

रोएर, कराएर, मागेर ऋण तिर्ने कुनै उपाय थिएन् ।

गाउँलेहरू निद्रामै हुँदा हातमा हम्मर लिएर ढाँटमा पुग्थे । असरल्ल छरिएका ठुल्ठूला ढुंगामाथि छिनो र हम्मर बजार्थे । कयौँपटक त्यो बाटो भएर आवतजावत गर्ने गाउँलेहरू तर्सिएका छन् भूत भनेर । पिलपिले लाइट बालेर ढुंगा फुटाउन तल्लिन हुने नवलसिंहले दिन, रात, झरी, बर्खा केही भनेनन् । आराम गर्थे ढुंगाको पिलमाथि, खाना पनि त्यहीँ । कोठा त गेष्ट हाउसझैँ । न खानपिनको टुंगो न सुताइको । 

लागेको थियो जेठो छोरा हुर्किएको छ, उसैले भाइबहिनी पढाउला । सहचालकको काम गर्ने जेठो छोराले पटक पटक काम छोड्न भनेको पनि हो तर मानेनन् । छोरो मुखले ढुंगा नफोड्न आग्रह मात्र गर्ने तर ऋणबाट त्राण पाउने जुक्ति भने कहिल्यै ननिकाल्ने । जातले राई भएपनि मुखमा जाँड, रक्सी परेन । तिनै जेठो छोरोमाथि ज्यान मार्ने अभियोग लाग्यो । जेल परे । यही बीचमा श्रीमतीले मनपरी थोपरेको ऋण थाप्लोमाथि आएपछि झन्–झन् दुःखका दिन शुरु भए । आमा र जेठो छोराले घर सल्लाहबिनै एक बैंकबाट १ लाख ८० हजार ऋण निकालेका रहेछन् । ऋण निकाले तिनले । तिर्नुपर्ने जिम्मेवारी आइलाग्यो उनकै काँधमा । रोएर, कराएर, मागेर ऋण तिर्ने कुनै उपाय थिएन् । छोरीहरू प्वाँख लागेर उडे, छोराहरू पनि लाखापाखा लागे । तर, परिवारको ऋण उनकै थाप्लोमा अल्झिइरह्यो । 

जीवन सदैव एकनाश हुँदैन, कुमालेको चक्रजस्तो घुमिरहन्छ । यस्तैमा एक व्यक्ति भगवान बनेर आइदिए । ऋणकै भारीले किच्चिएर उठ्न नसकेका उनी हम्मर चलाउँदै गर्दा कोही अनजान व्यक्ति उनको नजिक पुग्यो । र, पछाडिबाट ‘बुवा’ भनेर बोलायो । पछाडि फर्किए । ठिङ्ग्रिङग उभिएका युवकले आदर र मायाको भावले बोलाएपछि उनी पनि गफिए । वर्षाैं ढुंगा फुटाउँदा पनि नबिसाउने नवलसिंह ती युवकसँग दुःखका कथा पोख्न थाले । उनी थिए नवीन राई । राजधानीमा बसेर पत्रकारिता गरिरहेका नवीनले नवलसिंहका कहालीलाग्दा व्यथा आफ्नो च्यानलबाट सम्प्रेषण गरिदिए ।

सायदै कसैले सोच्न सक्थ्यो– दुःखका भारीहरू अब हट्लान् ? न नवीनले त्यही सोचेर भिडियो बनाएका थिए । उनी नवलसिंहको सक्कली जीवन बुझ्न मात्र चाहन्थे । तर कहिलेकाहीँ निस्वार्थ ढङ्गले एक कलमजीवीले चलाएको कलमका कारण भुँइमान्छेको जीवनको नक्सा फेरिन्छ । नवलसिंहका व्यथाहरू खिच्दा कैयौँपटक नवीन गहभरि आँशु पारेर रोए । पछि त्यही भिडियो सामाजिक सञ्जालबाट सम्प्रेषण भएपछि केही नेपालीले सहयोग पठाए । देशभरबाट आएको रकमले नवलसिंहका ऋणका भारी चुक्ता भए, नवलसिंहले सुखको लामो सास फेरे । 

अहिले तिनै नवलसिंह हलेसीको डाँडाबजारस्थित साहुकै घरमा बस्छन् । त्यहाँ बसेबापत् होटेलमा पानी ल्याइदिने र बाख्रा रेखदेखसँगै बेलाबखत घाँसपात पनि गर्छन् । ‘दुःखलाई पनि सुःख माने सुखै हुन्छ, सुखलाई पनि दुःख माने दुःखै हुन्छ’ भन्ने नवलसिंह श्रीमती र छोराले बोकाएको ऋणको भारीबाट मुक्त छन् । ऋणको भारी चुक्ता भए पनि उनी ढुंगाको ढाँटलाई देवलोक मान्छन् । ६५ वसन्त पार गरेका नवलसिंहको अझै २ वर्ष त्यही ढाँटमा बसेर हम्मर चलाउने प्रण छ । त्यसपछिको जीवनबारे भने अनभिज्ञ छन् ।

– राई लगन
 

टिप्पणीहरू