धर्म संकटमा पार्टी, छितरवितर जेनजी !

धर्म संकटमा पार्टी, छितरवितर जेनजी !

हिजोआज सामान्य अप्ठ्यारो पर्‍यो कि धर्मसंकट भन्ने गरिन्छ तर शब्दकोशले अथ्र्याएको वा लोक व्यवहारको कसी लगाएर जान्न खोज्ने हो भने धर्मसंकट भनेपछि यससँग गम्भीर नभई सुखै छैन । 

धर्मसंकट द्विविधा अथवा असमञ्जसको अवस्था हो । जो कठिन छ । धर्मसंकटमा निष्पक्ष हुनै पाइँदैन । पक्षमा जानुस् वा विपक्षमा– धर्मको उल्लंघन भइहाल्छ । जुवाको खाल रहेछ धर्मसंकट । अहिले राजनीतिक दल त्यस्तै संकटमा परेका छन् । उनीहरू जुवाको खालमा छन् कि घना जंगलको दोबाटोमा ? 

धर्मसंकटमा निर्णय लिनुपर्ने पक्ष वा विपक्ष बेचैन हुन्छ । हो, यस्तै चरम बेचैनीमा छन् ठूला भनिएका राजनीतिक दल । तिनलाई चुनौती दिने भनिएका जेनजीहरूको हाल पनि उस्तै छ । धर्मसंकटबाट कोही मुक्त देखिँदैनन् । के गर्नु ? गर्नु कि नगर्नु ? चर्चित गायिका झुमा लिम्बुको जस्तै बेचैनी । उनलाई फकाएर मोहनी लगाउने काफ्ले बोलाएको बोलायै छ, उनी भने जानु कि नजानुको धर्मसंकटमा परेकी छन् ! जाँदा संकट, नजाँदा पनि संकट । झुमाले त गीत गाएर गाँठो फुकाइन् अनि मन हलुका पारिन् तर पार्टी र जेनजीका नेताहरू न गीत गाउन सक्छन् न त ढुक्क बनेर चुनाव लड्छु भन्न नै सक्छन् अथवा संसद पुनस्र्थापनाको एकोहोरो अडान लिएर लाग्न नै सक्छन् । उनीहरू निर्वाचन आयोगमा दर्ता गर्न पुगेसँगै अदालतको निर्णय कुरेर पनि बसिरहेछन् । के गर्ने ? के नगर्ने ? यता कि उता ? कता कता !

अकस्मात्को विद्रोह 

जेनजी पुस्ताको अकस्मातको विद्रोहले बिचार, सिद्धान्त र आदर्शको आधारमा संगठित भनिएका पार्टीहरू पनि धुलो, पिठो र खरानी बने । भदौ २३ र २४ गते चट्याङको गतिमा बजारिएको मुसलको चोटबाट पार्टीहरू अझै बौरिन सकेका छैनन् । अलमल सर्वत्र छ । अनि यही धमिलो पानीमा माछा मार्न खप्पिसहरू ढोक्सा थापिरहेछन् । यस्तै ढोक्सा थाप्नमा माहिर पुष्पकमल दाहाल प्रचण्ड आफू जेनजीको पक्षमा रहेको भनेर फेरि अगाडि सरेका छन् । माओवादी छाडेर अन्तै कुलेलम ठोकेका प्रचण्डको ढोक्से दाउबाट माधव नेपाल, झलनाथ, बामदेवहरू जस्तै जेनजीहरू पनि लठ्ठिएलान् ? 

नेपाली राजनीतिको विशेषता नै हो, जुन नेता देशभर जतिधेरै चर्चित छ उति उसको पार्टीभित्र पकड छैन अनि जो बाहिर आलोचित छ, ऊ दलभित्र दह्रो छ । यस्तै पात्र कांग्रेसका गगन थापा हुन् भने एमालेका केपी शर्मा ओली । नटवरलाल त रवि र प्रचण्ड मात्रै हुन् । भाकल गर्नेहरूले उनीहरूका लागि जति नै धुप, बत्ती बाले र नैबेद्य चढाए पनि केपी ओलीलाई एमाले बृत्तमा कसैले हल्लाउन सकिरहेको छैन । त्यस्तै गगन थापालाई कांग्रेसका मुख्य हर्ताकर्ता बनाउन जति उछलकुद गरे पनि उनी पार्टी नेतृत्वमा पकड जमाउन असफल नै छन् । माओवादीका सर्वकालिक नेता प्रचण्डको लागि भने जे भए पनि ढोक्सा थाप्नु नै फेरि पनि अर्को सहज विकल्प हो । 

कांग्रेस पार्टी बाहिर गगन पपुलर छन् । तर बाहिरको चुरीफुरीबाट कांग्रेस संस्थापनको रौं पनि कसैले हल्लाउन सक्दो रहेनछ । शेरबहादुर देउवा नेपाली कांग्रेस फुटाएर लोकतान्त्रिक कांग्रेसको सभापति बने पनि पुनः मुसिको भवः बने । तर त्यसको ठीक विपरित एमाले बृत्तवाहिर ओली चरम आलोचित छन् । 

स्थापित दलभित्र लोकप्रिय नेताको बर्चस्व नहुने र जसको पकड छ ऊ लोकप्रिय नहुने रहेछ । अनि त्याग तपस्याको जति गीत गाए पनि खोक्रो ब्यक्तित्व चुनावमा उदांग हुने नियति ब्यहोरेका लागि जेनजी विद्रोहले पनि त्राण दिएको देखिएन । छट्पटी बढेको देखिँदैछ । हाइहाइ, बाइबाइ र र्‍याइँर्‍याइँको खालमा दलहरूको राजनीति चुँडिएको चंगाको धागोजस्तै गुजुल्टिएर सम्हालिनसक्नु बनेको छ । 

तितरवितर जेनजी 

पार्टीहरू धागोझैँ जसरी गुजुल्टिएका छन् त्यसभन्दा भिन्नै रूपमा जेनजीहरू छितरिएका देखिन्छन् । जेनजी विद्रोहीहरू नै सम्हालिनसक्नु गरी छरिएका छन् । घनघोर वर्षापछि आएको बाढीमा तैरिइरहेका झारपात र सरसामानहरू झैं राजनीतिक पोखरीमा नेताहरू कहिले उत्रिने र कहिले डुबिरहेका देखिँदैछन् । उत्रिएकाहरू पनि जुत्ता चप्पलको जोडी नमिलेजस्तै एउटा जेनजी अर्कोसँग कहीँकतै मिल्न सकिरहेको छैन । यिनलाई एकसूत्रमा बाँध्नसक्ने माइकालाल शायद देशमा जन्मिएकै छैन कि ? 

सामाजिक सञ्जालको उन्मुक्ति, भ्रष्टाचारविरोध र सुशासनको पक्षमा नारा दिएर सतहमा देखिएका जेनजी प्राकृतिक विपत्तिपछि अभिभावक गुमाएका टुहुराजस्ता देखिँदैछन् । जसलाई मार्गदर्शक ठानेर पछि लागेका थिए ती आफ्नै रोटी सेकाउन दत्तचित्त भए । तिनलाई जेनजीका दुःखदर्द सुन्ने न चासो छ न त ध्यान नै । उनीहरूको ध्याउन्न जेनजीलाई नगदमा भजाइहाल्ने बाहेक अरु केही देखिन्न । देखिंदो हो त जेनजी विद्रोह फागुन २१ गते हुने मध्यावधि निर्वाचनमा कदाचित् खुम्चिने थिएन ।

चुलेसीको धारमा सरकार

जेनजी विद्रोहको राप र तापमा बनेको सरकार चुनावी चुलेसीको धारमा रेटिइरहेको देखिँदैछ । जेनजी आन्दोलनले गर्दा एकाएक हिरो बनेका, टपक्क टिपेर मन्त्री बनाइएका कुलमान घिसिङ दबंग सिनेमाको शैलीमा रातिराति सडक टाल्दै र दिउँसो मन्त्रीको झण्डा हल्लाउँदै आफैं चुनावी प्रचारमा लागेका छन् । आफू भूमिगत बनेर दल दर्ता गराएका उनले पार्टीहरूसँग पदको बार्गेनिङ गरिरहेका छन् । उनले तुरुन्त राजीनामा दिएर चुनावमा होमिनुपर्ने या नाइँ भने प्रधानमन्त्री कार्कीले नै बर्खास्त गर्न सक्नुपर्ने हो । योभन्दा ठूलो धर्मसंकट के होला ?

भदौ विद्रोहलाई सत्ताको भर्‍यांग बनाउनेहरूमा रत्तिभर चेत हुँदो हो त अन्तरिम सरकार नयाँ पुस्ताको वाहक बन्न सक्ने थियो । तर कसले के भन्छ भन्दै निमुखाको मुख ताक्ने निम्छरो संस्थापन बनेको छ सुशीला सरकार । जसलाई जेनजीले समेत गनेको देखिँदैन । जेनजीहरू प्रधानमन्त्री सुशीला कार्कीलाई खुलेआम चुनौती दिनथालेका छन्– हाम्रो विद्रोहको जगमा बनेको सत्तामा बस्ने अधिकार तिमीलाई छैन । तत्काल पदच्युत गराउने धम्की आफ्नै सामुन्ने गर्जिँदा पनि टुलुटुलु हेरेर मौन बसिरहन बाध्य छ जेनजीकै सरकार ! 

सूचना प्रविधिमा पहुँच भएका भनिएका नेटिजन (नेट नभई छिनभर पनि बस्न नसक्ने) जेनजीहरूलाई संसारभरका वेष्ट प्राक्टिसहरूवारे थाहा छ, किनभने उनीहरू चौविसै घण्टा नेटमा झुण्डिइरहेका हुन्छन् । त्यसैको अभ्यास, त्यसैको साथ सहयोग र त्यसमा देखिएजस्तै परिवर्तन उनीहरूको चाहना हो । उनीहरू त्यसवारे त्यसैमा प्रश्न गर्ने क्षमता पनि राख्छन् । प्रष्टसँग राख्न सक्छन् तर आफ्नै सोचलाई कार्यान्वयन गर्न सक्दा रहेनछन् । सक्ने भएको भए जेनजीमा यतिविधि बेथिति देखिने थिएन । त्यसो गर्न चाहिने विचार बोकेको संगठन उनीहरूको लक्ष्य बनेको छैन । न बनाउने ल्याकत नै देखिन्छ । उनीहरूलाई नेतृत्व गर्ने आफ्नै टिम लिडर चाहिन्छ भन्ने थाहासमेत भएको देखिएन । माइतीघर मण्डलामा जम्मा भएर नयाँ बानेश्वरतर्फ अगाडि बढ्दा कसले के के करामत गर्‍यो ? त्यो पनि तिनलाई थाहा छैन । मात्र त्यसको प्रतिफल आन्दोलनको कारण भएको दावी छ । त्यसैको बलमा वर्तमान सरकार बनेको विश्वास छ । उनीहरूमा न अनुशासन छ न योजना, न त कार्यक्रम नै भएको देखियो । त्यसलाई कार्यान्वयन गर्ने दृढ संकल्पित टिम धेरै टाढाको विषय नै छ अहिलेसम्म !

सिद्धान्त, नीति, योजना, कार्यक्रम र संगठन नभएको जेनजीले कुन आधारमा अगाडिका दिनलाई ब्यवस्थापन गर्नसक्छ ? उनीहरू के भनेर देखिएका थिए र कता जाँदै छन् ? उनीहरूमा कहीं कतै भविष्यको रूपरेखा रहेको पाइएन । उनीहरूले अर्काले तयार गरेको कम्प्युटर वा ल्यापटपमा अर्काकै इन्टरनेट जोडेर अर्काकै कार्यक्रममा काम गर्न सक्नेमा शंका छैन तर आफ्नो देश, काल, परिस्थितिमा चल्न सक्ने त कुरै छाडौं हल न चलको अवस्थामा पो जाकिन पुगेकोे पुष्टि भैरहेको त होइन ? कम्प्युटरको प्रोग्राम तयार पार्न कति म्यानपावर, सामग्री, बुद्धि र समय लाग्ने गर्छ ? यसवारे उनीहरूलाई राम्रै ज्ञान छ होला तर देशको दैनन्दिनीय प्रशासन चलाउन कति बुद्धि, विवेक र म्यानपावर चाहिन्छ ? अनुशासन चाहिन्छ थाहा भएको छनकसमेत देखिएन । न त उनीहरूले विश्वास गरेकाहरूमा नै त्यो ल्याकतको लेस देखियो ! यो त मच्चियो मच्चियो थच्चियोको रिहर्सल बनेको होइन र ?

को हो जेनजी ? एउटा उमेर समूह मात्र हो ? त्यसवाहेक पनि जेनजी हुन्छ भने त्यस्तो जेनजी सतहमा देखिएको छैन । जो देखिएका छन्, त्यस्ता जेनजी अहिले हरेक घरघरमा छन् । पार्टी पार्टीमा छन् । नेताका परिवार परिवारमा छन् । प्रहरी, सेना, प्रशासक, न्यायाधिश, ब्यापारी, तस्कर, भ्रष्टाचारी, माफिया, डन, अपराधी, बिचौलिया, लुटेरा, ठग, नटवरलालहरू सबका घरमा छन् । सबैभन्दा मजेदार त के भने जेनजी आन्दोलनको डरले सेनाको शरणमा पुगेका माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूलाई नै जेनजी भन्न थालेका छन् । दशवर्ष हत्याहिंसायुक्त हतियार युद्धको नेतृत्व गरेका उनी माओवादी पार्टी नै छोडेर भागेका मात्र छैनन् आफ्नो नेतृत्व जेनजीलाई हस्तान्तरण गरिसकेको पो बताइरहेका छन् । सत्य के हो ?

(जनआस्था साप्ताहिकको मंसिर १७ गते बुधबारको अंकमा प्रकाशित) 

 

टिप्पणीहरू