सेनापतिज्यू, सिंहदरबार जोगाउन गोली होइन, बोली काफी थियो

सेनापतिज्यू, सिंहदरबार जोगाउन गोली होइन, बोली काफी थियो

सेनाले सिंहदरबार जोगाउन नसकेको जगजाहेर छ । तर, यसको प्रष्टीकरण दिन उसलाई भ्याइनभ्याइ छ । कहिले दुई दिनसम्म पनि किन दमकल नलगेको भन्ने प्रश्नमा उत्तर दिँदादिँदा हैरान छ । जलाउने पक्षले मात्रै विश्वास गर्ने उत्तर दिँदा–दिँदा उसलाई कत्ति गाह्रो परिसक्योे । यो हप्ता फेरि किन सिंहदरबार जोगाउन सकेन त ? भन्ने प्रश्नको अपत्यारिलो उत्तर दिएको छ । जंगी अड्डाको निष्कर्ष रै’छ– ‘सेनाले सिंहदरबार जोगाउन जनतालाई गोली हान्यो’ भन्ने खालका प्रश्न आउने भएकाले यस्तो गरिएको हो । सेना भनेको संगठन हो । संगठनमा पनि मूल नेतृत्व हो । र, यो रक्षा सेनाका जवानको होइन । प्रधानसेनापति अशोकराज सिग्देलको हो । ए प्रधानसेनापतिज्यू, सिंहदरबार जोगाउन गोली होइन बोली काफी थियोे ।

अहिले गोलीको कुरा चलाएर भावुक तर्क गर्न आवश्यक छैन । गोलीको गफले नेपाली सेनाकै बेइज्जत गरेको छ । विश्वमा शान्ति स्थापना गर्न जाँदाको योगदानको अवमुल्यन भएको छ । नेपाली सेनाले धेरै युद्धग्रस्त देशमा शान्ति कायम गरेको छ । के त्यो सबै शान्ति गोलीले कायम गरेको हो ? के त्यताको सबै दंगा नियन्त्रण गोलीले भटाभट मान्छे मारेर भएको हो ? होइन । सम्झाएर भएको हो । समाजसँग भिजेर भएको हो । आन्दोलनकारीसँग वार्ता गरेर भएको हो । र, थियो गुप्तचरी सूचनाको सही संकलन र समयमै चालिएको कदमका कारण । तर, यसपटक सेनाले यी सबै काम गरेन सिंहदरबार जोगाउन । 

सिंहदरबारभित्र नेपाल टेलिभिजन जलेन । केही लुटपाट भयो । केही अराजक जत्था त छिर्‍योे । तर जलेन । किन ? किनभने त्यहाँका कर्मचारीले आन्दोलनमा आएकालाई सम्झाए । भोलि जो सत्तामा आए पनि उसलाई काम लाग्छ, भनेर सम्झाए । अनि सिंहदरबारभित्रकै रेडियो नेपाल जोगियो । त्यो पनि खासगरी करारका कर्मचारीले अनुनय विनय गरेर जोगाए । आन्दोलनकारीलाई सम्झाए, फकाए । र, जोगियो रेडियो नेपाल । सँगै सर्वोच्च जल्यो तर पुरातत्व विभाग जलेन किन ? किनभने एक युवतीले यो हाम्रो इतिहास हो नजलाऊँ भनेर व्यानर बोकिन् । अरुले साथ दिए । र, जलेन पुरातत्व विभाग । 

देशभरका धेरै सरकारी निकायमध्ये दाङको अदालतसहित केही संरचना प्रहरीले सम्झाएर जोगिएका छन् । ठीक त्यसैगरी सिंहदबार जलाउन पनि बोली काफी थियो । गोली होइन । सिंहदरबार छिरेकामध्ये एक युवाले त सेनालाई दमकल ल्याउन आग्रह गरेको भिडियो भाइरल छ । उनले आफूहरू दमकलमा बसेर सिंहदरबार जोगाउने भनेको त्यसमा सुनिन्छ । त्यसले पनि देखाउँछ सबै जना सिंहदरबार जलाउन गएका थिएनन् । अरुबेला छिर्न नपाउने सिंहदरबार हेर्न कोही गएका थिए । कोही जलाएको रमिता हेर्ने पनि थिए । सबै आतंककारी थिएनन् । सेनाले माइकिङ गरेर सम्झाउने वातावरण थियो । सादा पोशाकमा सैनिक पठाएर यो त जोगाउनुपर्छ भन्ने माहोल बनाउन सक्ने अवस्था थियो ।

केही गर्न नसकेता पनि रेडियो नेपाल र नेपाल टेलिभिजनका कर्मचारीले जस्तो रोकथाम गर्न सकिन्थ्यो । सिंहदरबारभित्र सारा स्थानमा ढुंगा हानियो तर सेनाको पोस्टमा हानिएन । त्यसबाट पनि सेनाले सम्झाउँदा चुप हुने अवस्था देखिन्छ । गोली चलाउनुपर्ने भन्ने त बहाना मात्र हो । कुतर्कले सिंहदरबार जोगाउन सेनाले भूमिका नखेलेको थप प्रष्ट पार्छ । सिग्देल सेनापति भएको बेला झण्डै हजार जना सैनिकलले सुरक्षा दिइएको सिंहदरबारलाई केही सयको संख्यामा आएको आतकंककारी जत्थाले खरानी बनाएको भन्ने नजिर त बस्यो बस्यो । त्योभन्दा ठूलो कुरा नेपाली सेनाले गैरहतियारधारी प्रयत्नबाट नेपालको प्रशासनिक निकाय जोगाउन नसकेको कालो नजिर पनि बन्यो । त्यसको प्रमुख दोषी नेपालको गौरवशाली संस्था सेनाभन्दा धेरै हदसम्म सिग्देल हो ।

जवान आफैँ जलेर सिंहदरबारको आगो जोगाएको भए सेनाको मान हुन्थ्यो । रेडियो नेपाल र नेपाल टेलिभिजनका कर्मचारी जस्तै ज्यानको जोखिम लिएर जलाउन आउनेलाई सम्झाएको भए एउटा इतिहास बन्थ्यो । सेना त यी केही गर्न सफल भएन । मात्रै भन्यो– गोली चलाउनुपर्ने भएकाले चलाइएन, जनता मर्ने भएकाले जोगाइएन । यसबीच न्युयोर्क टाइम्सदेखि रुसी विश्व च्यानल आरटीसम्मले सेनाको भूमिकाउपर प्रश्न उठाइसकेका छन् । मुद्दा सिंहदरबार जोगाउने मात्रै होइन, सेनाको इज्जत जोगाउने पनि थियो । दुवैमा ऊ नराम्ररी चुक्यो । नेपाली सेनामा पनि प्रधानसेनापति सिग्देल चुक्यो । गोली होइन, बोलीले जोगिन्थ्यो सिंहदरबार, प्रधानसेनापति सिग्देलज्यू । माफी माग्नुहोस् ।

(जनआस्था साप्ताहिकको पुस ९ गते बुधबारको अंकमा प्रकाशित)  

टिप्पणीहरू