ड्रममा भात पकाएर रैवन्दी खाने पार्टी ?

ड्रममा भात पकाएर रैवन्दी खाने पार्टी ?

मुलुकमा देखिएका कम्युनिष्ट पार्टी १६ वटा छन्, तर युवायुवती अधिकांश विदेशमा छन्। ड्रममा भात पकाएर, रैवन्दी खाएर देशलाई संसारसामु नमूना बनाउँछौँ भन्दै राजा फाल्ने जुलुसमा हिँडेका कार्यकर्ताले त्यतिबेला मलाई पनि खाँटी वामपन्थी बनाएका थिए।

गत शनिबार नेकपा संयोजक प्रचण्डले भाषण गर्दै भनेका थिए— ‘१६ वटा वाम पार्टी एकताबद्ध भएर बाँकी रहेका वाम घटकलाई पनि यही मञ्चबाटै एउटै प्रवाहमा ल्याई निर्वाचनमा जानु जरुरी छ।’

उमेरले होइन, हिम्मतले जनता जुनसुकै उमेरका भए पनि एकताबद्ध भएर अगाडि बढ्नुपर्छ। जेन–जी भाइबहिनीहरूले हाम्रो अनुभवलाई साथमा लिएर पार्टीलाई एक नम्बर बनाउँदै देशलाई निकास दिनुपर्छ। देशलाई सङ्कटबाट मुक्त गराउन मेची–महाकालीसम्म जनता जागृत भइसकेको अवस्थामा मूल शक्तिलाई हेपेर चुनाव सार्ने प्रयास कसैले गर्नुहुँदैन।

स्टन्टबाजी गरेर शहीदको बलिदानलाई पाखा लगाउँदै लोकतन्त्र स्थापना भयो भन्ने भ्रम फैलाइएमा यसले मुलुकलाई झनै विद्रोहको अवस्थामा पुर्याउँछ। विशाल विदेशी सेनासँग लडेर बहादुरी कमाएको नेपाली इतिहास छ। आफूलाई हात्ती भन्ने पार्टीहरू आज मुसा बनेका छन्। आगामी चुनावमा पत्तासाफ हुने डरले तिल्मिलाएर जे पनि बोलेर जनतालाई तर्साइरहेका छन्।

माथिका यी भनाइहरू नेताको भाषणको सार हुन्। अब म मेरा कुरा राख्न चाहन्छु। मेरो निजी विचारमा माक्र्स, लेनिन, माओ आदिको जप गर्दै एङ्गेल्सको फोटो राख्नुको सट्टा अभिमन्युदेखि पृथ्वीनारायण शाहसम्मको बहादुरी सम्झेर आ–आफ्नो खेतबारीमा रहेको ढुंगा–माटोको सदुपयोग गर्न सके धेरै सफलता हासिल गर्न सकिन्छ।

जंगलमा फल्ने अमूल्य जडीबुटीदेखि विशाल रूखमा फल्ने हर्रो–बर्रोसम्मको सही उपयोग गर्न सके देशले अर्थतन्त्रमा ठूलो फड्को मार्न सक्छ। जिन्दगीभर नेताको झोले बनेर धोका खाएपछि खेत बेचेर बिचौलियालाई पोस्ने, नेतालाई घुस खुवाएर भिजिट भिसामा विदेश जानेभन्दा यहीँ केही गर्नु राम्रो हुन्छ।

समय घर्किएपछि आफूलाई धिक्कार्नुको साटो अहिले नै सही बाटो रोज्न सकियो भने न तातो बालुवामा पसिना बगाउनुपर्छ, न रुँदै फर्किनुपर्छ। त्यसैले अबको चुनावमा भोट हाल्दा सचेत बनौँ। तिनैलाई भोट दिएर दर्जनौँ पटक सांसद बनाउने र आफूचाहिँ कमाउन परदेश जाने चेतना अब फेरौँ। नत्र आफूले मात्र होइन, देशले पनि दुःख पाउँछ।

अन्त्यमा, २०५२ देखि २०८२ सालसम्मको इतिहास हेर्दा सकेसम्म जनतालाई झुक्याउने र नेताहरू मोटाउने काम मात्रै भएको देखिन्छ। नेताहरूले आ–आफ्ना योग्यताका ड्रेस र बिल्ला भिरेर देश र जनतालाई ठगिरहेका छन्। भदौ २३ र २४ गतेको नयाँ नाटकले सबैको वास्तविक परिचय खोलिदिएको छ। यहाँ सबैले आ–आफ्नो धन्दा चलाइरहेका छन्।

देश र जनताको नाममा शासकदेखि प्रशासक, प्रधानन्यायाधीशदेखि वकिल, राष्ट्रपतिदेखि समाजसेवीसम्मले पालैपालो कुर्सी ओगटेर राज्यको ढुकुटीबाट अर्बौँ तलब खाइसकेका छन्। तर देशमा ठोस प्रगति र उपलब्धि भने देखिन सकेको छैन।

टिप्पणीहरू