बालेनले बाटो मोड्ने संकेत गरेपछि भेट्न पुगे रवि

बालेनले बाटो मोड्ने संकेत गरेपछि भेट्न पुगे रवि

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह आफ्नै नेतृत्वमा नयाँ पार्टी गठनको तयारीमा जुटेका छन् । पुराना पार्टीका असन्तुष्ट नेता, अभियन्ता, कलाकारसहित विभिन्न क्षेत्रका पपुलिष्ट फिगरलाई समेटेर उनी पार्टी खोल्ने तयारीमा लागेका हुन् । 

त्यसैअन्तर्गत बुधबार विभिन्न व्यक्तिसंग एकल र सामुहिक छलफल गरेका बालेनले आज पनि भेटघाटलाई निरन्तरता दिँदैछन् । सोमबार उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग ६ घण्टा वार्ता गरेका थिए । तर, रविसँग ठोस सहमति नभएपछि उनी आफ्नै ढंगले अघि बढ्न लागेको बुझिएको छ । 

बालेनले हिजो डा. भगवान् कोइरालादेखि पूर्वसचिव भीम उपाध्यायसम्मलाई भेटेका थिए । कुपण्डोलमा भएको भेटमा राप्रपा नेता ज्ञानबहादुर शाही, सरसरफाई अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, शेरबहादुर देउवासँग अघिल्लो चुनाव लडेका अभियन्ता सागर ढकाल, पूर्व विवेकशील साझाका नेता मिलन पाण्डेलगायत थिए । 

त्यस्तै, कलाकार निश्चल बस्नेत, सञ्चारकर्मीहरू सुरजसिंह ठकुरी, पत्रकार ऋषि धमला र सञ्चार उद्यमी कैलाश सिरोहियासमेत छलफलमा सहभागी रहेको बताइएको छ । आज बिहानै उज्यालो नेपालका नेता तथा अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेका बालेनले दिउँसो रवि लामिछाने र सुदन गुरुङलाई भेटेका छन् । 

सोमबार राति कमलपोखरीमा भएको छलफलमा रविले बालेनलाई प्रधानमन्त्री प्रस्ताव गरेको चर्चा थियो । त्यसमा दुवै सहमत भएको र सोहीअनुसार यौटै गाडीमा बसेको फोटो सार्वजनिक गरिएको भनिएको थियो । तर, भोलिपल्ट चितवन पुगेका रविले त्यस्तो कुनै सहमति नभएको बताएका थिए । 

त्यसपछि बालेन 'रविको भर छैन' भन्ने निश्कर्षमा पुगेको र आफ्नै नेतृत्वमा दल खोल्न लागेको बताइएको छ । अहिले बालेनका सहयोगी कुमार बेनको घरमा दुई जनाबीच वार्ता भैरहेको छ । 

टिप्पणीहरू