स्वामीले मागे योग मन्त्रालय, भ्रष्टाचारीलाई ध्यान गराउन मन्त्रीको सुझाव
ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले योग, ध्यान र आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय गठन गर्न माग गरेका छन् ।
विश्व ध्यान दिवसको अवसरमा आज आयोजित एक कार्यक्रमलाई संबिधान गर्दै उनले आयुर्वेदको सम्वर्द्धन र ध्यानका साधकका लागि अभिभावकीय मन्त्रालय आवश्यक पर्ने धारणा राखेका हुन् । यसका लागि उनले सरकारको ध्यानाकर्षण गराए ।
धार्मिक संस्थाको पैसामा कर लगाउनु नहुने मागसमेत गरेका स्वामी अरुणले योग र ध्यानलाई सरकारी सहयोग नमिलेकोमा असन्तुष्टि जनाए । मुठी दानमा १५ प्रतिशत कर लाग्नु दुःखको कुरा भएको उनको भनाइ छ ।
हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउने गरिन्छ । यस अवसरमा राजधानी काठमाडौंसहित देशभर विविध कार्यक्रमको आयोजना गरिएको छ ।
ध्यान कार्यक्रममा बोल्दै स्वामी अरुणले ओशो तपोवनमा अहिले करिव ६० देशका मानिस आएर ध्यान गर्ने गरेको जानकारी दिए । ध्यान र योगको आवश्यकता नेपाल भन्दा पनि विकसित देशहरूमा रहेको उनले बताए ।
यता, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भ्रष्टाचारीलाई मन शुद्धीको लागि ध्यान गराउनुपर्ने बताएका छन् । भ्रष्टाचारीहरुलाई ध्यान गराउन पाए केही हदसम्म भए पनि भ्रष्टाचार कम हुने भन्दै उनले कटाक्ष गरे ।
‘मनको शुद्धीको लागि ध्यान गर्नुपर्छ, यो गरेपछि मन शुद्ध र शान्त हुन्छ’, मन्त्री पुनले भने, ‘तर मन शुद्ध भएन भने लोभ, लालच, मोह बढ्छ र मन भ्रष्ट बन्छ, मन भ्रष्ट बनेपछि अनि उ भ्रष्टाचारी बन्छ ।’
अरू सबैलाई पनि ध्यान र योगा गर्न उनले आग्रह गरे । माध्यामिक तहदेखि नै विद्यार्थीलाई ध्यान गर्न सिकाउनुपर्ने बताउँदै भने, ‘भ्रष्टाचारीहरूलाई ध्यान गराउन पाए हुन्थ्यो, भ्रष्टाचार कम हुन्छ हाेला, सानैदेखि विद्यार्थीहरूलाई ध्यान सिकाउन हप्तामा एक बार छुट्याउन सकिएमा पनि धेरै राम्रो हुन्छ ।’
टिप्पणीहरू