दुर्गा प्रसाइँ कसरी लयमा फर्किए ?
आफूलाई मन नपरेका, पीडा दिनेहरुलाई बाँकी नराख्ने दुर्गा प्रसाइँ पहिलाभन्दा कम उग्र देखिन थालेका छन् । सरकारको दपेटाइले पनि लाइनमा नआएका उनलाई यसपटक पुरानै तालमा फर्काउने काम भने नाताले काका पर्ने प्रसिद्ध कानुनविद् डा. युवराज संग्रौलाले गरेका हुन् । डा. संग्रौलासँग तीन घण्टाको भेटघाटमा गम्भीर कुरा सुनेपछि दुर्गाले धरातलीय यथार्थ महसुस गर्न पुगेको बताइन्छ ।
संग्रौलाले सो भेटमा राम्रा कामहरुको प्रशंसा गर्दै उनलाई इमोशनल ब्ल्याकमेलसमेत गरेका थिए । संग्रौलाले झापालगायत पूर्वी नेपालबाट प्रतिदिन भारतको सिलिगुडीमा उपचारका लागि जाने ५ हजार नेपालीको ज्यान बचाउन भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए । सिलिगुडीमा नक्कली डाक्टरको बिगबिगी भए पनि त्यहीँ नै लाखौं रुपैयाँ खर्च गर्दै नेपालीले उपचार गराउँदै आएका थिए । यस्तो अवस्थामा प्रसाइँले बिर्तामोडमा बि एण्ड सी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा ल्याए । अहिले सिलिगुडी र कलकत्ताबाट समेत बिरामीहरु दुर्गाको अस्पतालमा आउन थालेका छन् ।
एउटा विश्वसनीय संस्था निर्माण गर्ने मानिस चुत्थो राजनीति गर्न किन अग्रसर भएको ? भन्ने सवालले दुर्गाको मथिंगल खल्बल्याउने नै भयो । काका–भतिजको यो संवादमा नाति निराज र पुत्रीसमेत उपस्थित थिए । सज्जन स्वभावका सन्तानहरुको जीवन कठिन बनाउनु हुँदैन भन्दै संग्रौलाले पेलान दिन थालेपछि प्रसाइँले मेडिकल कलेज खोल्दा पाएको दुःखको बेलिविस्तार लगाएका थिए । संग्रौलाले यी सबै दुःख बुझेर नै सर्वोच्च अदालतले न्याय दिएको, डा. गोविन्द के.सी.हरुले दुःख दिएको कुरा दुनियाँले बुझेको भन्दै सम्झाएका थिए ।
डा. केदारभक्त माथेमाले ठुल्ठूला कुरा गरे, उनकै कुरा सुनेर मैं हुँ भन्ने पत्रकारहरुले होमा हो गर्दै लेखे । डा. सुरेशराज शर्मा र माथेमाहरुले सरकारी पैसामा मेडिकल अभ्यासको निन्दा गरे अनि आरोप भने प्रसाइँहरुलाई लगाएको चर्चासमेत सो भेटघाटमा भएको बताइन्छ । डा.संग्रौलाले सामाजिक न्यायको पक्षधरका रुपमा पहिचान बनाएको, मिटरब्याजीका विरुद्ध आवाज उठाएको तर बैंकले कसरी जनतालाई शोषण गरिरहेको छ भन्ने कुरा नबुझाई ठगेको कुरामात्र गरेकोमा संग्रौलाको आपत्ति रह्यो ।
अध्ययन छाडी मात्र अनुभवका आधारमा प्याच्च प्याच्च बोल्दै हिँड्दा ब्याण्डिट लिडर (डाँकाको सरदार) को रुपमा परिचय स्थापित हुन्छ भन्दै प्रसाइँलाई सम्झाइएको स्रोतको दाबी छ । राज्यसँग लड्नुभन्दा चुनावमार्फत राज्यको हर्ताकर्ता भएर यस्ता विकृतिलाई जरैदेखि फाल्न सकिन्छ भन्ने डाक्टर काकाको कुरा सुनेपछि उनी मख्ख परेको बताइन्छ ।
भेटकै क्रममा दुर्गालाई तिमीलाई सबैले भारतबाट परिचालित भन्छन् भन्दै सचेत गराइएको थियो । प्रसाइँले डा. संग्रौलालाई तपाइँ पनि त चीन जानु हुन्छ नि भनेका थिए । यसको प्रतिउत्तरमा डा. संग्रौलाले भनेका रहेछन्– ‘म त घरिघरी बोलाउँछन् र पढाउन जान्छु ।’ प्रसाइँले म पनि उपचारको लागि गएको भनेपछि त्यसो भए म राजनीतिक अभिष्ट लिएर भारत गएको होइन भन्न सुझाव दिइएको थियो ।
डा. संग्रौलाले केपी ओली र प्रचण्डहरुलाई गाली गरेर देश बन्दैन भन्दै सफा राजनीति गरी अघि बढ्न सल्लाह दिएको बताइन्छ । डा. संग्रौलाले उनले आफ्नै समूहबाट चार जनालाई ठगी खाएको आरोपमा निकालेको उदाहरणसमेत दिएका थिए ।
डा.संग्रौलाको सल्लाहपछि प्रसाईले प्रधानमन्त्री सुशिला कार्कीसँग भेटघाटको वातावरण तयार गर्न अनुरोध गरेका थिए ।
कतिपय व्यक्तिका सन्दर्भमा अरुले बोल्न नसकेको कुरा जस्तैः प्रधानमन्त्री सुशिला कार्की, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, मारवाडीतन्त्रको जालो, पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठ र महानगरका प्रमुख बालेन साहलगायतको गतिविधि नाङ्गेझार बनाउने काममा हिम्मत देखाएको भन्दै प्रशंशित प्रसाइँले बौद्धिक भनिएका व्यक्तिहरुबाटै दुरुपयोग हुने खतराप्रति सचेत गराइएको थियो । प्रसाइँले करिब दुई घण्टा ५५ मीनेट डा. संग्रौलाको कुरा सुन्ने धैर्यता देखाएको र ५ मिनेटमात्रै जवाफ फर्काएको बताइन्छ ।
प्रसाइँले नेपालमा यत्रो उथलपुथल हुँदा चिनियाँले जोगाए त भन्दै प्रश्न उठाएका थिए । जवाफमा काका संग्रौलाले भने– अरुको आन्तरिक राजनीतिमा चिनियाँहरु कहिले पनि भिलेनको रुपमा देखा पर्दैनन् । राजनीतिमा हस्तक्षेप गर्दैनन् । चिनियाँहरुले पनि हस्तक्षेप गरे भने हामीलाई भारतले गरेको हस्तक्षेप गलत हो भन्ने नैतिक आधार हुँदैन भनेको बताइन्छ । कुराकानीमा संग्रौलाले झापामै चिकित्सकीय उपकरणहरुको उत्पादनमा चिनियाँ सहयोग लिन सक्ने वातावरण बनाउन सुझाव दिएका थिए । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सुरक्षा स्रोतले बताएअनुसार, प्रसाइँले संग्रौलासँग छुट्टिनुअघि तपाइँ मेरो अभिभावक हो भन्दै हातमा ढोगेका थिए ।
स्रोतका अनुसार, प्रसाइँ धेरै पीडित छन् । अहिले पनि उनलाई करिब ६ अर्बजतिको ऋण छ । मेडिकल कलेज सञ्चालन भएपछि ऋणको चिन्ता नभएको बताउँदै अस्पताल र कलेज नै ध्वस्त बनाउन अरुले षड्यन्त्र गरिरहेको र वार्षिक ५८ करोड ब्याज तिर्न सकिने अवस्थामा पुगिएको प्रसाइँले बताएका थिए । उनले यस्ता षड्यन्त्रकारीहरुसँग छोराले लड्न नसक्ने ठहरसहित आपूm मैदानमा ओर्लिन बाध्य भएको जानकारी पनि दिए ।
यो पनि रहेछ कारण
मेडिकल व्यवसायी दुर्गा प्रसाइँ केही दिनयता अलिक संयमित जस्ता देखिएका छन् । कारण के होला ? समाचार स्रोत भन्छ, ‘भारतीय पक्षको दबाब र नेपाली राज्य सत्ताका सबै निकायहरूले दिएको चेतावनीपछि सातो उडेको हो ।’
उनलाई अब यसभन्दा अघि बढ्न दिनु हुँदैन भन्ने सन्देश दक्षिणी छिमेकीबाट बारम्बार आइरहेको थियो । उनी दिल्ली गएको बेला कुनै एउटा मुद्दा बनाएर उतै समात्ने हो कि भन्नेसम्म सोचमा पुगेको भारत सरकारले त्यसबाट उत्पन्न हुन सक्ने दुई देशबीचको विवाद र नागरिक तहमा समेत भारतविरोधी भाव विस्तार हुने सम्भावनालाई मध्यनजर गर्दै विमानस्थलमा पुग्दो केरकार गरेर उनलाई नेपाल फिर्ता पठाइएको थियो । त्यससँगै दुर्गा प्रसाइँका गतिविधिहरु दुवै देशका लागि हितकारी नभएका कारण त्यसलाई नियन्त्रण गर्न अनौपचारिक ढंगले नेपाल सरकारलाई आग्रहसमेत गरिएको थियो । भारत सरकारको त्यस्तो आग्रह र नेपालभित्रै समेत उनीबाट उत्पन्न भएको खतराबारे विश्लेषण गर्दै सरकारले नियन्त्रण गर्ने योजना बनाएकोमा नेपाली सेनाले अहिले त्यसो गर्नु उपयुक्त नहुने, बरु बोलाएर कुरा गर्नु ठीक हुने सुझाव दिएपछि सम्झाई बुझाई गर्ने काम भएको सुरक्षा निकायका एक उच्च अधिकारीले बताएका छन् ।
कार्तिक अन्तिममा नै काठमाडौँका सिडिओले बोलाएर सम्झाएपछि मङ्सिर ७ को घोषित आन्दोलन रोक्ने तहमा प्रसाइँ पुगेका थिए । राज्यसँग सम्झौता गर्दा आफ्नो पछि लागेकालाई समेत अहिले चुनावी माहोलमा शान्त बस्नुपर्छ भन्दै सम्झाउने मौका मिलेको समाचार स्रोत बताउँछ ।
त्यसो त यस क्रममा चुपचाप आफ्नो व्यवसायमा ध्यान दिन र ठूलो ऋणको भारबाट बाहिर निस्कनसमेत चेतावनीयुक्त सुझाव गएको बताइन्छ । यदि चुरीफुरी नरोके ऋण असुली न्यायाधीकरणमार्फत कारबाही अघि बढाउने र कालोसूचीमा राखेर सम्पूर्ण व्यवसायलाई नै अप्ठ्यारो पार्नेसम्मका योजनामा आफूहरू बढ्न बाध्य हुने जानकारी राज्यका तर्फबाट स्पष्ट शब्दमा पाएपछि प्रसाइँ शान्त भएर बसेको बताइन्छ ।
(जनआस्था साप्ताहिकको मंसिर १७ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू