यस्तो छ एनपीएलको प्लेअफ समीकरण

यस्तो छ एनपीएलको प्लेअफ समीकरण

कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) को लिगचरणको खेलहरु आइतबारबाट सकिएको छ । अब मंगलबारबाट प्लेअफका खेलहरु शुरू हुनेछ ।

लिगचरणबाट साविक उपविजेता सुदूरपश्चिम रोयल्स पहिलो, विराटनगर किंग्स दोस्रो, काठमाडौं गोर्खाज तेस्रो र लुम्बिनी लायन्स चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका छन् । सुदूरपश्चिमले लिगचरणको सात खेलमा ६ खेल जित्दा विराटनगर र काठमाडौंले समान ५/५ र लुम्बिनीले चार खेलमा जित हात पार्न सफल भए ।

अब मंगलबार हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्नेछन् । यसअघि लिगचरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम विराटनगरसँग ६ विकेटले पराजित भएको थियो । पहिलो क्वालिफायरको विजेताले सिधैं फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा मौका पाउनेछ ।

मंगलबार इलिमिनेटरको खेलमा लिगचरणमा तेस्रो र चौथो स्थानमा रहेका काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्नेछन् । उक्त खेलको विजेताले दोस्रो क्वालिफायरमा फाइनल प्रवेशको लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग खेल्नेछ । इलिमिनेटर र दोस्रो क्वालिफायरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछन् । दोस्रो क्वालिफायर बिहीबार हुनेछ ।

त्यसपछि शनिबार पहिलो र दोस्रो क्वालिफायरको विजेताबीच उपाधिको लागि भिडन्त हुनेछ ।

टिप्पणीहरू