होमस्टे अनुभव : प्रकृति र संस्कृतिको संगम
शिवाजी तिवारी
हाम्रो देश नेपालका सयौँ विशेषतामध्ये प्राकृतिक विविधता सबैभन्दा सुन्दर र अद्वितीय पहिचान हो। प्रकृति र संस्कृतिको अनुपम मिश्रण बोकेको यो देवभूमि पदयात्रादेखि मनमनको यात्रा गर्न चाहने जो–कसैलाई पनि आकर्षित पार्छ। घुमन्ते मन त कहिल्यै एउटै ठाउँमा बाँधिएर बस्न सक्दैन; आशाका झिल्का पछ्याउँदै अनन्त आनन्दको खोजीमा निरन्तर अघि बढिरहन्छ।
म पनि सधैँ घुमिरहन, देखेको–भोगेकोलाई नियात्राका शब्दमा उनेर बाँडिरहन आतुर रहने मान्छे। यही चाहनाले महेन्द्र राजमार्ग र पुष्पलाल लोकमार्गका मोड–घुम्ती पार गर्दै सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म यात्रा गरिसकेको छु। उत्तरी हिमालयका चिसा शृङ्खलादेखि तराईका तात्तात्ता समथर भूभागसम्मका अनुभव बटुलेपछि नयाँ ठाउँ घुम्ने चाहना अझै मनको गहिराइमा टल्किरहन्छ।

मध्यतराईको थारू संस्कृति, चितवन राष्ट्रिय निकुञ्जको वन्य दुनिया, र मध्यवर्ती क्षेत्रमा पाइने जंगली जनावरहरूको अवलोकनले मानौँ संसारकै सबैभन्दा खुसी मानिस भएको अनुभूति गराउँछ। उत्तरतर्फ चाँदीझैँ चम्किएका हिमालका चुचुराहरू, तिनै चुचुराहरूको पहरा बनेझैँ उभिएका चुरे पहाड, आकाशभरि उडीरहन खोजेजस्ता बादलका फुर्काहरू, र तल–काखभरि फैलिएको हरियाली—यी दृश्यहरूले कसको मन नछोला र?
प्रकृतिको यो अनुपम उपहारसँगै नेपालसँग जोडिएको समृद्ध इतिहास र विविध संस्कृति मनलाई सधैँ लोभ्याइरहन्छ, फेरि–फेरि यही धरतीमा यात्रा गर्न प्रेरित पारिरहन्छ।
विद्यार्थीसँगको अविस्मरणीय यात्रा
हरेक स्थानका आफ्नै विशेषता र प्रेरणाका स्रोत हुन्छन्। नयाँ ठाउँको यात्राले पुराना सीमाना चिर्दै नयाँ सम्भावनाका ढोका खोल्छ। यही अनुभव लिएर कालिका माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरूको शैक्षिक भ्रमण २०८२ मा सहभागी हुँदा प्रकृतिका अनौठा सौन्दर्यसँग नजिकिन पाइएको थियो।
मंसिर ११ गते बिहान ८ बजे ७१ जना विद्यार्थी र ७ जना शिक्षकको टोली अमलटारी होमस्टेतर्फ उत्साहका साथ प्रस्थान गर्यो। करिब एक घण्टाको पृथ्वीराजमार्ग यात्रापछि जामुने पुगेर नास्ताले सबैमा नयाँ उर्जा थप्यो। मीठो चियाको चुस्कीपछि हाम्रो यात्रा नवलपुर गैंडाकोटस्थित मौलाकालिका मन्दिरतर्फ अघि बढ्यो।

मौलाकालिका शक्तिपीठ ५६१ मिटर उचाइमा, करिब १ हजार ८८२ खुड्किला चढेपछि पुगिने शान्त र गरिमामय पहाडी स्थल हो। हरियाली पहाडको टुप्पोमा उभिएको यो मन्दिर मानौँ गोप्य तपोभूमि झैँ अनुभूत हुन्छ।
स्थानीय किंवदन्तीअनुसार करिब पाँच सय वर्षअघि पाल्पाका राजा मणिमुकुन्द सेनका सैनिकहरूले गढीमा कालिका भगवतीको शिला स्थापना गरी पूजा–अर्चना गर्ने परम्परा सुरु गरेका रहेछन्। पछि मानिसहरू बसाइँसराइ भएपछि पूजा–पाठ हराउँदै गयो। तर २०३२ साल मंसिरमा काशीनाथ पौडेलले स्वप्नमा भगवती दर्शन पाएपछि यो स्थान पुनः जाग्रत भएको विश्वास गरिन्छ। उत्खनन गर्दा भेटिएका काठका मौलो, पुरानो घण्टी र कालो शिलाले यसको ऐतिहासिकता प्रमाणित भयो।
जंगलको मौनता र भगवतीको उपस्थितिले मन्दिर टुप्पोमा उभिँदा मन आत्मिक रूपमा हलुका भएको अनुभूति भयो।
सीजी शाश्वतधाम: कला, संस्कृति र दर्शन
मौलाकालिका दर्शनपछि हाम्रो यात्रा सीजी शाश्वतधामतर्फ उन्मुख भयो। बौद्ध र हिन्दू दर्शन, इतिहास र कलासँग जोडिएका दुईवटा संग्रहालयले सबैलाई मन्त्रमुग्ध बनाए। सुव्यवस्थित परिसर, कलाकृति र शान्त वातावरणले समय कसरी बित्यो, पत्तै भएन।

थकान महसुस भएपछि कालिका माविका सहायक प्रधानाध्यापक कुशल लामिछाने सरले मुस्कुराउँदै चियाको प्रस्ताव गर्नुभयो। केही रमाइला तस्बिरहरू खिच्दै तात्तात्तो मड्काको चियाको चुस्की लिएपछि हामी अमलटारी थारू होमस्टेतर्फ अघि बढ्यौँ।
अमलटारी होमस्टेको आतिथ्य र सांस्कृतिक मोह
साँझको चिसो बढ्दै थियो, तर बसभित्रको माहोल झन् तातिँदो। बालबालिकाहरू गीतमा नाचेका, हाँसो र संगीत मिसिँदा यात्राको थकान हराउँदै गयो। करिब ४५ मिनेटपछि हामी अमलटारी थारू होमस्टेमा पुग्यौँ। न्यानो स्वागतले सबैमा नयाँ उर्जा भरियो।
साँझको भोजनमा मासु खानेका लागि स्वादिलो हाँसको मासु, नखानेका लागि सादा तर मीठो खाना थियो। भोजनपछि थारू सांस्कृतिक नृत्य हेर्न सामुदायिक भवनतर्फ लाग्यौँ। झुम्रा, सखिया, लठ्ठहवा, मुङ्ग्रहवा, हुर्दवा, मघौटा, बर्का, कठघोरी—यी मौलिक थारू नृत्यहरूले समुदायको सांस्कृतिक समृद्धि झल्काउँथे।

तर केही वर्षअघिका प्रस्तुतीसँग तुलना गर्दा पुराना परम्परा क्रमशः ओझेल पर्न थालेको देख्दा मन कताकता उदास बन्यो। नयाँ पुस्तामा बढ्दो व्यावसायिकता र आधुनिक आकर्षणकै कारण थारू समुदायको मौलिक पहिचान कमजोर नहोस भन्ने चिन्ता लाग्यो। आफ्नो संस्कृतिको रक्षा गर्नु नै भविष्य सुरक्षित गर्ने मार्ग हो भन्ने बोध सबैमा जाग्न आवश्यक छ।
जंगल सफारीको रोमाञ्च
बिहानको नास्तामा चिचर (अनदी चामलको परिकार) खाएर हामी जंगल सफारीतर्फ निस्कियौँ। हालका वर्षहरूमा अमलटारी मध्यवर्ती क्षेत्र सफारीका लागि निकै लोकप्रिय बनेको रहेछ।

करीब २०२० हेक्टर क्षेत्रफलमा फैलिएको यो सफारी क्षेत्रमा गुन्द्रेही डकाहा, कृष्णसार, नमूना र राजरत्न गरी चार सामुदायिक वन एकीकृत गरिएका छन्।सफारीका क्रममा पाँचवटा गैंडा, बँदेल, दर्जनौँ मयुर, चित्तल, विभिन्न चराचुरुङ्गी देख्न पाइयो। जटायु रेस्टुरेन्ट वरिपरिको क्षेत्र गिद्द अवलोकनका लागि प्रसिद्ध रहेछ। गाइडले वन्यजन्तुको चालचलन, संरक्षण र जैविक विविधताबारे दिएको व्याख्यानले यात्रा झन् ज्ञानमूलक बनाइदियो।
यात्राको अन्तिम क्षण
सफारीपछि बिहानको खाना खायौँ र नारायणी नदीको छालसँग खेलिँदै स्पीडबोटिङको आनन्द लिदै फर्कियौँ।अविस्मरणीय क्षण, प्रकृतिको सुगन्ध, संस्कृतिको रंग, विद्यार्थीहरूको उत्साह—यी सबै स्मृतिहरू हृदयमा बोकेर अन्ततः हामी घर फर्कियौँ।
(कालिका माध्यमिक विद्यालय, पोखरा–१०, रामबजारका शिक्षक तथा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको अमलटारी होमस्टे र वरपरका ठाउँहरुमा अवलोकन भ्रमण)
टिप्पणीहरू