मारेर भाग्दैमा कहाँ पाउनु मुक्ति ?

मारेर भाग्दैमा कहाँ पाउनु मुक्ति ?

पूर्वप्रहरी हवल्दारको हत्या गरेर फरार अभियुक्त पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले चितवनको रत्ननगर नगरपालिका–६ घर भएका ४६ वर्षीय बुद्धिराम दराईलाई समातेको हो । 

गत चैत ३१ गते लमजुङको बेसीशहर नगरपालिका–२, भकुण्डे घर भएका ४५ वर्षीय भूपूप्रहरी हवल्दार सीता कँडेलको शव फेला परेको थियो । आफ्नै सुत्ने कोठाको बक्स पलङमुनि त्रिपालले बेरिएको अवस्थामा उनको शव भेटिएकोमा अनुसन्धानको क्रममा दराईको संलग्नता पुष्टि भएको थियो । 

सिआइबीका अनुसार कँडेल र दराईको भीमफेदी कारागारमा चिनजान भएको हो । गोरखाको फिनाम गाविस–५ बस्ने चिनीमाया पाण्डेकी छोरी मनुका भन्ने सम्झना पाण्डेसँग दराईले विवाह गर्न चाहेका थिए । तर,विवाद भएपछि उनले चिनीमायाको घाँटी थिचेर हत्या गरेका हुन् । 

गोरखा जिल्ला अदालतले २०६८ असार २० गते उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएकोमा सजाय काट्ने क्रममा उनले कँडेललाई चिनेका थिए । लमजुङ जिल्ला अदालतले गत वैशाख १५ गते कँडेलको हत्या अभियोगमा उनलाई पक्राउ गर्न पुर्जी जारी गरेको थियो । त्यसपछि फरार उनलाई हिजो रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१,बेलहियास्थित सडकखण्डबाट नियन्त्रणमा लिइएको हो । 

उनलाई जिल्ला प्रहरी कार्यालय, लमजुङमा बुझाइएको सिआइबीले जनाएको छ ।
 

टिप्पणीहरू