अख्तियारले अबदेखि अभियुक्त र मुध्दा सङ्गै लाने
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भ्रष्टाचारको अभियोगमा हिजो अदालत लगेको अख्तियारले अबदेखि सरकारी ओहोदाका जो कोहीको हकमा सोही प्रक्रिया अपनाउने भएको छ । यसअघि भ्रष्टाचारको मुद्दा दायर गर्दा आरोपित व्यक्तिले अदालतबाट फैसला नआएसम्म बाहिर बसेर कानुनी उपचारमा संलग्न हुने मौकासमेत पाउने गरेका थिए । हिजोदेखि भने आरोपितलाई पक्रेर मुद्दासँगै विशेष अदालतमा उभ्याउनुपर्ने नयाँ परम्पराको थालनी भएको छ ।
यसअघि मुद्दा दायर गरिँदा त्यस्ता पदाधिकारी तथा व्यक्तिलाई ‘फरार’ जनाइन्थ्यो । अब पुरानो प्रक्रियाबाट मुद्दा अघि बढाउने कार्य अन्त्य भएको आयोग उच्च स्रोतको दावी छ ।
पोखरा,भैरहवाको विमानस्थल र भक्तपुरको हेलिपोर्ट निर्माणमा भ्रष्टाचार भएकोवारे अधिकारीविरुद्ध आयोगले लामो समयदेखि बयान र अनुसन्धान थालेको थियो । राजनीतिक र प्रभावशाली भूतपूर्व पदाधिकारीहरुको पहुँचका आधारमा जोगिँदै आएका उनी अन्ततः हिजो पक्राउ परेका छन् । नियमित रुपमा बयानका लागि बोलाइएपछि केही दिनअगाडि अख्तियार प्रमुखलाई धम्कीपूर्ण इमेल गएको थियोे । त्यसपछि प्रहरीले विशेष अनुसन्धान थाल्यो ।
प्रारम्भिक अनुसन्धानमा उक्त धम्कीको खेल प्रदीपको निर्देशनमा भएको संकेत मिलेको बताइन्छ । त्यसपछि प्रहरीले आफू बिदेश बसेर यता आक्रमणको चेतावनी दिने व्यक्तिलाई पक्रन रेड कर्नर नोटिस जारी गर्यो । तर,धम्की दिने ती व्यक्ति श्रीलंका पुगेको जानकारी आयो । उनको गतिविधि नियालिरहेको प्रहरीले कहिले हङकङ र कहिले अन्यत्र चलखेल भएको देखिएपछि अनुसन्धानमा विशेष सावधानी अपनाउन थाल्यो ।
हेर्दै जानुहोला,टेलिकम काण्डमा बिकल र सुनिल पौडेलको लहरो तान्दा पहरो थर्किए झैं यसमा क्रमशः अरु मुध्दा पनि जोडिँदै जान्छ ।
पछिल्लो ट्रयाक रेकर्ड श्रीलंकामा रहेको देखिएको हो । यता अधिकारी भने अख्तियारबाट अनुसन्धान रोकाउन र मुद्दामा विलम्ब गराउन सुधन गुरुङसम्मको प्रयोगमा लाग्न थाले । त्यसका लागि प्रधानमन्त्री सुशीला कार्कीलाई फेर्नेसम्मको खेलोफड्को चलाइयो ।
अख्तियारकै केही आयुक्तलाई प्रभावमा पार्नसमेत महानिर्देशक अधिकारीले कुनै कसर बाँकी राखेनन् । ‘आयुक्त सुमित्रा श्रेष्ठ अमात्य आफ्नो क्लासमेट भएको र अन्य आयुक्तलाई उनीहरुका निकटस्थहरुसँगको च्यानलबाट नर्मल बनाउन खेलिएका कतिपय गेम पनि बाहिरियो । त्यसबाट मुख्यतः प्रमुख आयुक्त राईलाई एक्ल्याउन खोजेको प्रष्ट भयो ।’ स्रोतले भन्यो ।
‘ठूला भ्रष्टाचारका कैयौं घटनालाई छाडेर सानो केसमा किन हात हालेको ?’ भन्ने जनआस्थाको जिज्ञासामा आयोग स्रोत भन्छ, ‘अहिले हेलिपोर्ट निर्माणमा भएको अनियमितताबाट काम शुरु भएको छ । हेर्दै जानुहोला,टेलिकम काण्डमा बिकल र सुनिल पौडेलको लहरो तान्दा पहरो थर्किए झैं यसमा क्रमशः अरु मुध्दा पनि जोडिँदै जान्छ । ’
प्रदीपलाई हिजो आयोगमा बयान दिन जाँदाकै अवस्थामा नियन्त्रणमा लिइएको थियो । उनीसँगै रहेका प्राधिकरणका तत्कालीन निर्देशक मुरारी भण्डारीलाई पनि पक्रेर अभियोगपत्रसँगै विशेष अदालत पुर्याइयो । भ्रष्टाचारको अभियोग लागेका प्राधिकरणका प्रबन्धक नलविक्रम थापा,उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, परामर्शदाता गुरुदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ्गका तत्कालीन सञ्चालक विजय थापाविरुद्ध पनि मुद्दा चलाइएको छ ।
उनीहरुविरुद्ध हेलिपोर्ट निर्माणमा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ सरकारी रकम दुरुपयोग गरिएको अख्तियारको ठहर छ । अख्तियारले सो रकम जफत गरी प्रतिवादीहरुलाई कैद र जरिवाना सजायको मागदाबी गरेको छ ।
तत्कालिन पर्यटनमन्त्री जीवनराम श्रेष्ठसँग पनि अख्तियारले बयान लिएको थियो । तर,हेलिपोर्ट निर्माणको निर्णयमा उनको संलग्नता देखिएन । नलिञ्चोकको हेलिपोर्ट प्रकरणको मुद्दा दायर भए पनि पोखरा र भैरहवा विमानस्थल निर्माणमा भएको अनियमितताबारे अधिकारीलगायतको संलग्नताबारे अनुसन्धानलाई आयोगले जारी राखेको बुझिएको छ ।
टिप्पणीहरू