‘मरेका मानिस’ जब जवाफ माग्दै भक्कानिए

‘मरेका मानिस’ जब जवाफ माग्दै भक्कानिए

पत्रकारितामा सामाजिक उत्तरदायित्वसँगै मानवीय संवेदनाको पक्ष महत्वपूर्ण हुन्छ । त्यही भएर दुर्घटना र मृत्युका समाचार रिपोर्टिङ गर्दा थप संवेदनशील हुनुपर्छ भन्ने गरिन्छ । तर, ब्रेकिङ्ग समाचार दिने हुटहुटीमा कहिलेकाहीँँ सञ्चारकर्मीहरू नराम्रोसँग चुक्ने गरेका छन् । 

कल्पना गरौँ त, जिउँदो मान्छेलाई मरेको भनेर लेख्दा के होला ? त्यस्तो समाचारले मृत भनिएको व्यक्ति स्वयं, परिवारका सदस्य, साथीभाइ र सम्बन्धित पक्षलाई कस्तो असर पर्ला ? १७ पटक सगरमाथा चढेर कीर्तिमान कायम गरेका फुर्वा तेञ्जिङ शेर्पा र नेपाल घुम्न आएकी फ्रान्सेली क्यारोल फुचास अहिले यसको उदाहरण बनेका छन् । समाचार आएको हप्तौँसम्म आफू जीवित रहेको स्पष्टीकरण दिँदै हिँड्नुपर्ने अवस्था छ । कात्तिक १८ गते कान्तिपुर अनलाइन र अनलाइन खबरमा दोलखाको रोल्वालिङ हिमश्रृङ्खलाअन्तर्गत ‘यलुङ रि’ हिमाल चढ्न गएका फुर्वासहितका आरोही हिमपहिरोमा पुरिएर बेपत्ता भएको समाचार प्रकाशित भएको थियो । दोलखाका प्रहरी प्रमुख ज्ञानबहादुर महतोलाई उद्धृत गर्दै लेखिएको समाचारमा फुचासको मृत्यु भएको उल्लेख छ । 

अनलाइन खबरले ‘१५ पटक सगरमाथा चढेका फुर्वा तेञ्जिङ शेर्पा हिमपहिरोमा बेपत्ता’ शीर्षकको समाचार प्रकाशित गरेको थियो । आरोहणका लागि गएका ७ विदेशीसहित १४ जनाको समूहमध्ये ३ जनाको मृत्यु र ७ जना बेपत्ता भएको समाचारमा जनाइएको छ । यो खबर डढेलोसरी यसरी फैलियो कि अरु दर्जनौँ मिडियाले पनि यसैलाई आधार माने । 

कीर्तिमानी आरोही बेपत्ता भएको र विदेशी नागरिक मरेको भन्ने समाचारलाई अमेरिकाको न्युयोर्क टाइम्स,नेदरल्याण्डको डच टाइम्सजस्ता प्रतिष्ठित मिडियालेसमेत साभार गरेका थिए । तर, यी समाचार सत्य थिएनन् । न फुर्वा हिमपहिरोमा बेपत्ता भएका हुन् न फुचेसको मृत्यु । त्यो सोमबार बिहान पहिरो जाँदा फुर्वा गाउँको आफ्नै घरमा थिए भने फुचेस बेसक्याम्पभन्दा निकै तल । हिमाल आरोहणका लागि गएको ३ विदेशीसहित ८ जनाको टोली नेता फुर्वा थिए । मुख्य हिमाल आरोहण गर्नुअघि २ नेपालीसहित चार जना डोल्माल्याङ हिमाल चढ्न गएका थिए भने फुर्वा घरमै थिए । ना गाउँमा उनको जोसेप फुर्वा लज सञ्चालित छ । 

हिमपहिरो जाँदा ना गाउँबाट बेसक्याम्पतर्फ जाँदै गरेकी फुचेस आफैँ उद्धारमा खटिएकी थिइन् । हिउँ खनेर एकजना नेपाली गाइडको ज्यान जोगाउन सफल भएकी उनले आफ्नै मृत्युको खबर सुन्नुपर्‍यो । फुर्वाका साथी निर्मल श्रेष्ठले व्यंग्य गर्दै भने, ‘गत साता मिडियाले ‘बेपत्ता’ बनाएको फुर्वा तेञ्जिङ शेर्पा र ‘मृत’ घोषित फ्रेञ्च आरोही क्यारोल फुचस अघिल्लो मंगलबार राति ठमेलस्थित एक रेष्टुरेण्टमा भेटिए ।’ देशका प्रतिष्ठित मिडियाले जिउँदो मान्छेलाई मृत र घरमै रहेकालाई बेपत्ता बनाएर समाचार छापेकोमा उनको दुखेसो छ । भन्छन्, ‘नेपालका दुई प्रमुख मिडियाको गलत रिपोर्टिङका कारण लाखौं मानिस भ्रमित मात्र बनेनन्, यी दुई आरोहीका परिवार केही समय गहिरो पीडामा डुबे ।’

कुनै समय आफैँसमेत पत्रकारिता पेशामा रहेका श्रेष्ठले रिपोर्टिङका क्रममा कहिलेकाहीँँ कमजोरी हुनु स्वभाविक भए पनि गल्ती नसच्याएकोमा भने अनौठो मानेका छन् । यो समाचारले सबैभन्दा बढी तनाव दिएको छ, फुर्वाकी श्रीमती रोजिता बुद्धाचार्यलाई । अहिलेसम्म पनि आफन्त र साथीभाइलाई जवाफ दिँदै हिँड्नुपरेको उनको गुनासो छ । हार्वर्ड युनिभर्सिटीमा अध्ययनका लागि दुई हप्ताअघि मात्र अमेरिका पुगेकी थिइन् उनी। श्रीमान बेपत्ता भएको खबर सुन्नेबित्तिकै बेहोस भएकी उनले करिअर नै दाउमा राखेर अपर्झट नेपाल फर्किनुपर्‍यो। 

उनको प्रश्न छ,‘म ढलेको ढल्यै भएको भए त्यसको जिम्मा कसले लिन्थ्यो ?’ समाचारको खण्डन प्रकाशित गर्न गरेको आग्रह बेवास्ता भएकोमा उनलाई झन् धेरै पीडा भएको छ । ‘एउटा न्युजका कारण म आफ्नो करिअर नै दाउमा राखेर नेपाल आउनुपर्‍यो, मेन्टल्ली कति धेरै इम्प्याक्ट परेको छ,’ आक्रोशित हुँदै भन्छिन्, ‘तर उहाँहरूमा जवाफदेहिता देखिएन । देशको स्थापित मिडियाले कस्तो खालको उदाहरण क्रियट गर्न खोजेको होला !’ यता, समाचारमा मृत घोषित भएकी फुचेसले पनि नेपाली मिडियाको विश्वनीयतामाथि प्रश्न उठाएकी छन् । मिडिया जगतले आफ्नो आत्मा गुमाएको उनको टिप्पणी छ।

स्वदेश फर्कनुअघि फेसबुकमार्फत नेपालमा रहँदाको अनुभूति सार्वजनिक गरेकी उनले समाचारका कारण निकै पीडा भोग्नुपरेको दुखेसो पोखिन् । ‘समाचार बाहिरिनेबित्तिकै, मैले देखेँ कि कसरी कथाहरू बङ्ग्याइएका छन् । जीवनहरू हेडलाइनमा सीमित भएका छन्, नामहरू क्लिकमा परिणत भएका छन्’, उनले लेखेकी छन्,‘मेरो भाइ फुर्वा तेञ्जिङ शेर्पा र म, हाम्रो परिवार र साथीहरूलाई शोक र पीडा दिइरहेको थियो, जसले हामीलाई बेपत्ता र मृतक भनेर उद्धृत गर्दै हेडलाइनहरू पढिरहेका थिए । म कल्पना पनि गर्न सक्दिन कि तपाईंहरूले कस्तो अनुभव गर्नुभयो !’

नेपाली मिडियालाई संबोधन गर्दै थप लेखेकी छन्, ‘सहानुभूति छैन । तथ्यहरू जाँच्ने धैर्य छैन । गिद्धहरू विपत्तिका लागि घुमिरहेका छन्, गोहीहरू आँशुको पर्खाइमा छन् । मानवतालाई एल्गोरिदमले प्रतिस्थापन गरेको देखिन्छ ।’आपतकालीन उद्धार प्रक्रिया र सरकारी संयन्त्रको ढिलासुस्तीप्रति पनि फुचेसको असन्तुष्टि छ । भन्छिन्,‘नेपालमा उद्धार पाउन अत्यन्तै गाह्रो छ । गम्भीर परिस्थितिमा, जब हरेक मिनेट गणना हुन्छ, त्यतिबेला मन्त्रालयहरूबाट स्वीकृति, अनन्त कल, अस्पष्ट प्रक्रियाको पर्खाइ हुन्छ । उद्धार व्यवस्थित गर्न लगभग पूरा दिन लाग्यो । हिमालयमा, यसको अर्थ जीवन र मृत्यु बीचको रेखा हुनसक्छ ।’

(जनआस्था साप्ताहिकको मंसिर ३ गते बुधबारको अंकमा प्रकाशित) 

टिप्पणीहरू