सेनाभित्र भ्रष्टाचारको छानबिन ‘होल्ड’
अचम्मको कुरा, भ्रष्टाचार अन्त्य र सुशासनका लागि गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि नेपाली सेनाभित्र भइरहेको छानबिन रोकिएको छ । गम्भीर भ्रष्टाचारको आरोप लागेका तीन उच्च अधिकृतमाथि थालिएको छानबिन ‘होल्ड’ गरिएको हो ।
राजधानीको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालका तत्कालीन प्रमुख कार्यकारी निर्देशक भुवन कुँवर, जंगी अड्डाका मेडिकल हेड डा. अरुण शर्मा र गत भदौमा सुदूरपश्चिम पृतना हेडक्वार्टरबाट प्रबन्धरथी विभागमा सरुवा भएका उपरथी प्रकाश देउजामाथि छानबिनका लागि कोर्ट अफ इन्क्वायरी गठन गरिएको थियो ।
उनीहरूमाथि रगत परीक्षणका लागि प्रयोग हुने ‘रि–एजेण्ट’ खरिदमा भएको आर्थिक अनियमिततामा छानबिनको जिम्मा उपत्यका पृतनापति रविन्द्र खत्रीले पाएका थिए । तर, जेनजी आन्दोलनको बहानामा छानबिन नै स्थगित गरिएको बुझिएको छ । जतिबेला पनि व्यापारीको घेराबन्दीमा हुने भुवनको दिनचर्याबारे जनआस्था साप्ताहिकले ‘सम्धीका नातेदारको शान’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । २०८१ चैतदेखि अस्पतालको जिम्मेवारी सम्हालेका भुवनले आफूलाई प्रधानसेनापति अशोकराज सिग्देलको नातेदार भनेर चिनाउँदै आएका थिए ।
उता, उनीमाथि जमदार, सुवेदारहरूलाई चाहेकै ठाउँमा पोस्टिङ गरिदिने आश्वासन दिएर रकम असुल्ने गरेको आरोप छ । समाचारलगत्तै उनलाई २४ घण्टे स्पष्टीकरण सोधेर जंगीअड्डा तानिएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पावर लगाएर सरुवा रोकेका प्रकाश सुदूरपश्चिम जानुअघि सम्भाररथी विभागमा थिए । अस्पतालमा वर्षेनि १५ करोड रूपैयाँको ‘रि–एजेण्ट’ खरिद गरिन्छ । सो सामान खरिद गर्दा ठेकेदारले सित्तैमा मेसिन दिने गरेकोमा पछिल्लोपटक झण्डै चार करोड रूपैयाँ हालेर किनिएको हो ।
मेडिकल ठेकेदार बाबुराम कोइराला ‘गाईखुरा’ र उमेश अग्रवालहरूले अस्पतालमा सामान सप्लाइ र निर्माणको काम गर्दै आएका छन् । भुवन, प्रकाश र अरुणले उनीहरूबाटै मेसिन किनेका हुन् । मेसिन किन्ने बेलामा प्रकाश सम्भाररथी थिए ।
यता, सिद्धार्थ वनस्थलीस्थित अरुणको किड्नी अस्पतालमा ‘गाईँखुरा’ ले नै औषधी सप्लाइ गर्दै आएका थिए । ‘गाईँखुरा’ ले अरुणको अस्पतालमा फर्निचरहरू पनि किनिदिएको बताइन्छ । ती विषय बाहिर आएपछि अनुसन्धान थालिएकोमा डिसमिस पार्ने चलखेल भइरहेको सैनिक स्रोत बताउँछ।
स्रोत भन्छ, ‘भ्रष्टाचारको अन्त्य र सुशासनका लागि जेनजीहरूले आन्दोलन गरे । भ्रष्टाचारविरोधी आन्दोलनले भ्रष्टाचारमाथि भइरहेको अनुसन्धान नै रोकिदियो ।’ उनीहरूमाथि छानबिन भएमा सेनाभित्र भइरहेको खेलोमेलो छर्लंग बाहिर आउने स्रोत बताउँछ ।
सिंहदरबारका सैनिक कमाण्डर अझै थुनामा
सेनाले गत असोज ३१ गते तीन उच्च अधिकृतलाई नियन्त्रणमा लिएको थियो । सिंहदरबारस्थित नरसिंह दलका गणपति प्रमुख सेनानी (लेफ्टिनेण्ट कर्णेल) गणेश खड्का, भवानीबक्स गण, सिन्धुलीका तेजेन्द्र मगर र धनगढीस्थित सैनिक स्कूल, तेघरी व्यारेकका शिव भडेललाई सरुवा गरिएको सर्कुलर निकालेर सेनाले हिरासतमा राखेको हो ।
भदौ २३ र २४ को घटनासँग सम्बन्धित विषयमा उनीहरूसँग सोधपुछ थालिएकोमा अझै जारी छ । ‘उनीहरूमाथि अनुसन्धान जारी छ । त्यसैले अहिले पनि सैनिक हिरासतमै छन्’, स्रोतले भन्यो ।
(जनआस्था साप्ताहिकको मंसिर १० गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू