दलाई लामाका अर्का मान्छे पनि शंकास्पद

दलाई लामाका अर्का मान्छे पनि शंकास्पद

तिब्बती धर्मगुरु दलाई लामाको दूतले नेपाली नागरिकता लिएको घटना सेलाउन नपाउँदै उनका अर्का प्रतिनिधिको नागरिकता विवाद सतहमा आएको छ । लामाका अर्काे चेलाले पनि नेपाली नागरिकता लिएको खुलेको छ । ‘फ्रि तिब्बत अभियान’ मा संलग्न तेम्बा युङथुङ लामाले जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट लिएको नागरिकता नम्बर ८९२९९ रहेको छ । 

२०२९ माघ १५ गते जन्मिएका उनको नागरिकता वंशजको छ । रोचक प्रसंग के भने, उनले २४ वर्ष ९ महिना हुँदा नागरिकता बनाएका छन् । जबकि, नेपाली नागरिकले सामान्यतया १६ वर्षमा नागरिकता लिने गरेका छन् । नागार्जुन नगरपालिका–५ स्थित रातो गुम्बाको नामले परिचित नोर्बुछे गुम्बाका प्रमुख उनको जन्म मनाङको तातोपानी गाउँविकास समिति–१ मा भएको भनिएको छ । स्वतन्त्र तिब्बतको माग गर्दै नेपाली भूमिबाट भएको सशस्त्र ‘खम्पा विद्रोह’ ताका दलाई लामाको सेना नेपाल आएर मनाङ र मुस्ताङमा अवैध क्याम्प बनाएको थियो । सो विद्रोहको क्रममा अरुसँगै नेपाल छिरेका तेम्बाका बुवा फुर्वा लामा मनाङमा क्याम्प बनाएर बसे । विद्रोहको समाप्तीसँगै केही नेपाली नागरिकता प्राप्त गर्नतर्फ लागे भने केही भारतको धर्मशाला पलायन भए ।

तेम्बा भने ललितपुरको जावलाखेलस्थित साम्दुप्लिङ्ग क्याम्प आए । नागरिकता बनाए । वडा नम्बर–४, जावलाखेलको स्थायी बासिन्दा भनेर उनले नागरिकता लिएको देखिन्छ । तर, उनी ललितपुरको हुँदै होइनन् । प्रश्न उठछ–विद्रोहको क्रममा नेपाल आएर बसेकाले कसरी वंशजको नागरिकता लिए ? अर्कोतर्फ, मनाङमा जन्मिएको व्यक्तिलाई कसरी ललितपुरबाट नागरिकता दिइयो ? उनले पनि नागरिकता खरिद गरेको हुनसक्ने स्रोतको अनुमान छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरकी सूचना अधिकारी सहायक प्रजिअ सुप्रभा खनाल ढुङ्गेलले नागरिकताबारे जानकारी दिन नमिल्ने बताइन् । 

भनिन्, ‘नागरिकता व्यक्तिगत सम्पत्ति भएकाले कुनै जानकारी दिन मिल्दैन । गृह मन्त्रालयमार्फत निर्देशन आयो भने छानबिन अगाडि बढाउँछौं ।’ सोही नागरिकताको आधारमा उनले नेपाली राहदानी पनि लिएका छन् । उनको एउटा राहदानीको नम्बर ११२४९५९४ छ भने अर्कोको पिए२२४९०४५ रहेको छ । 

सन् २०१९ जनवरी ७ मा पहिलो राहदानी बनाएकोमा त्यसको म्याद २०२९ जनवरी ६ सम्म छ । उक्त राहदानीको म्याद नसकिँदै उनले गत वर्ष अर्को राहदानी निकालेका हुन् । सन् २०२४ जनवरी ३ मा जारी भएको राहदानीको म्याद २०३४ जनवरी २ सम्म रहेको छ । जनआस्थाले यसअघि दलाई लामाका दूतको नागरिकताको विषयमा समाचार प्रकाशित गरेको थियो । 

कात्तिक २ गते ‘दलाई लामाका दूतलाई समेत कसले दियो नेपाली नागरिकता ?’ शीर्षकमा समाचार छापिएपछि जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुले छानबिन अगाडि बढाएको छ । दलाई लामाको आधिकारिक प्रतिनिधि एवं नेपालमा फ्रि तिब्बत अभियानको अवैधानिक राजदूत ङवाङ छोक्डुम शेर्पाले सोलुखुम्बुबाट नेपाली नागरिकता लिएका छन् । उनको नेपाली नागरिकता नम्बर १११००३–४४ हो । सन् २०१४ मा नेपाली राहदानी पनि बनाएका छन् । ०७७०३३८१ नम्बर भएको सो पासपोर्टको म्याद सन् २०२४ अगस्ट २ तारिखमा सकिएको छ । म्याद सकिनुअगावै उनले अर्को राहदानी निकालेका छन् । सन् २०१९ अप्रिल १ मा जारी राहदानीको नम्बर ११३८१८१० रहेको छ । सोको म्याद सन् २०२९ मार्च ३१ मा सकिन्छ ।

सेन्ट्रल टिबेटन एडमिनिस्ट्रेशनले उनलाई सन् २०२२ मा काठमाडौंस्थित टिबेटन रिफ्युजी कम्युनिटी अफिसमा प्रतिनिधि नियुक्त गरेको थियो । नेपालमा एक चीन नीतिविरुद्धको गतिविधि चलाउँदै आएका उनी छानबिन शुरु भएपछि भारत पलायन भएका छन् । नागरिकता कुनैपनि राष्ट्रको महत्वपूर्ण दस्तावेज हो । तर, कर्मचारीहरूले घुस खाएर विदेशीहरूलाई समेत नागरिकता बाँडिरहेको यो नमूना हो । कर्मचारी केही पैसामा बिक्दा मुलुकको महत्वपूर्ण कागजात गलत व्यक्तिको हातमा गएको छ भने त्यस्ता व्यक्तिले नेपालमा बसेर अवैध क्रियाकलाप चलाइरहेको अवस्था छ ।
 

टिप्पणीहरू