प्रधानमन्त्रीमाथि सम्धी र बुहारीको पेलान

बिचौलियाद्वारा बेलायतबाटै बालुवाटारमा कसिलो घेराबन्दी

प्रधानमन्त्रीमाथि सम्धी र बुहारीको पेलान

प्रहरीको हतियार खरिदमा उस्तै परे चिनियाँ राष्ट्रपति सि जिनपिङदेखि भारतका सबै नेतालाई मिलाउन सक्छु भनेर पूर्व एआइजी राजेन्द्रसिंह भण्डारीहरूकै सामु मज्जैले गफ दिने र नेपालका सारा प्रधानमन्त्रीलाई मुठ्ठीमा राख्न सक्ने बिचौलिया दीपक भट्टले अन्ततः जेनजी आन्दोलनको बलमा बनेको ‘भ्रष्टाचारविरोधी’ सरकारलाई पनि औँलामा नचाउन लागेको भरपर्दाे सूचना प्राप्त भएको छ । शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड जो प्रधानमन्त्री भए पनि धितोपत्र बोर्ड, बीमा प्राधिकरण, लगानी बोर्डजस्ता राज्यका महत्वपूर्ण निकायमा आफ्ना दाजु र आसेपासेलाई नियुक्त गराउन सक्ने अद्भूत क्षमतायुक्त उनले प्रधानमन्त्री सुशीला कार्कीलाई सम्धी खलकमार्फत प्रभावमा पारेर अकुत सम्पत्ति आर्जनको अभियोगबाट उन्मुक्ति पाउनै लागेको सन्दर्भ हो यो । 

अघिल्लो महिना भारतको बाटो हुँदै दुबई पुगेको अनुमान गरिएका भट्ट राजनीतिक प्रभाव र पहुँच प्रयोग गरी आफूविरुद्ध भैरहेको सिआइबी, अख्तियार, सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धान विभाग र आन्तरिक राजश्व बिभागजस्ता सुशासनसम्बन्धी महत्वपूर्ण निकायको अनुसन्धान प्रक्रियालाई होल्ड गर्ने अभियानमा थिए । नेताहरूका कमीकमजोरी पत्ता लगाएर त्यसैमा खेल्न र भनसुन गर्नसक्ने पात्रबारे सुक्ष्म निगरानी गर्दै त्यहीअनुसार योजना बनाउन खप्पिस उनले बेलायत बस्ने प्रम कार्कीका एक मात्र छोरा प्रशान्त सुवेदीमार्फत त्यसमा सफलता प्राप्त गर्नै लागेको प्रधानमन्त्री कार्यालयमा गाँईगुँई छ ।

भट्टले यस क्रममा क–कसलाई प्रयोग गर्दै छन् ? अर्थात् प्रयोग हुने पात्र को–को हुन् त ? स्रोतका अनुसार बेलायत बसिरहेका प्रम कार्कीका छोरामार्फत यो खेल अघि बढेको हो । कार्कीका एक्ला छोरा प्रशान्त र सेन्ट मेरिज स्कूल, जावलाखेलको पढाइ सकेर धुलिखेलको काठमाडौँ विश्वविद्यालयमा कम्प्युटर साइन्स पढेकी र २०२५ जनवरीदेखि बेलायतको डर्बिसायरस्थित एक्स्प्लेव ग्रुपमा सिनियर डाटा इञ्जिनियर रहेकी समीक्षा भट्ट (नेहा) बीच २०७९ सालको पुस १० गते आइतबार विवाह भएको थियो । कहिले कञ्चनपुरको महेन्द्रनगर त कहिले काठमाडौंको कोटेश्वर बस्ने अनि विदेशी परियोजनाहरूमा परामर्श सेवा उपलब्ध गराउने सुरेश भट्टकी छोरी हुन् उनी । डडेल्धुराको साविक चिपुर गाविसका सुरेश र दीपक १३ दिने दाजुभाइ हुन् भने प्रमकी बुहारी दीपककी बहिनी । यही पारिवारिक सम्बन्धलाई प्रयोग गरेर उनले प्रधानमन्त्री कार्कीलाई हात लिएको स्रोतको दावी छ । 

जेनजीहरूले मध्य रातीसम्म बालुवाटारमा अनेक माग तेस्र्याएर हैरान पारेकाले तनावबाट मुक्त भएर छोरासँग बस्न जान आतुर छु भन्न थालेकी प्रधानमन्त्री कार्कीका छोरा अमेरिका र बेलायत आवतजावत गरिरहन्छन् । अहिले बेलायतमा रहेका उनलाई भेट्न सम्भवतः दीपक भट्ट अघिल्लो महिना त्यतै पुगेको अनुमान गरिएको छ । सत्तामा रहेकाहरूलाई प्रभावमा पारेर आफ्नो स्वार्थमा काम गर्नु बिचौलियाहरूको पेशागत धर्म नै हो । वर्षौँदेखि नेता फकाउनमा बिशेष कला देखाएर देश लुट्नेहरूले अझै लुट्न खोज्नु तिनको योग्यता हो भने कराउन आउनेका कुरा सुन्नुलाई त मानवीय गुण नै मानिन्छ । डाक्टरकहाँ जस्तोसुकै बिरामी पुग्छन् भनेजस्तै ‘मर्ता क्या नहीँ कर्ता’ को स्थितिमा पुगेका भट्टले पनि आफ्नो स्वार्थका लागि सक्दो प्रयास गर्ने नै भए । तर, प्रश्न के हो भने प्रयोगमा पर्ने पात्रहरू किन पैसा, प्रलोभन, नाता सम्वन्धका माखेसाँग्लोमा आँखा चिम्लिएर कसैका लागि मरिहत्ते गर्छन् ? शेरबहादुर, केपी र प्रचण्डतिर यस्तै प्रश्न तेस्र्याएर सुशीला कार्की सडकको बलले सत्तामा पुगेको होइन र ? 

शेरबहादुर देउवा र आरजू राणाहरूले आफन्त र परिवारको दबाबमा परेर भ्रष्टाचारीलाई काखी च्यापेको भनिन्थ्यो । देउवा दम्पत्ति र दीपक भट्टबीच आर्थिक सम्बन्धका कुराहरू पनि बाहिर आइरहन्थे । उनीहरूलाई विस्थापित गरेर आएकी प्रम कार्कीलाईसमेत छोरा, बुहारी र सम्धीले चारैतिरबाट घेराबन्दी गरेर ‘तपाईं कति नै समय हो र यो पदमा, किन दुनियाँलाई चिढ्याएर रिस्क मोल्नुहुन्छ ?’ भनी मनोबैज्ञानिक प्रभावमा पारिएको बुझिन्छ । ‘चुनाव गराउने जिम्मा हो, त्यसैमा ध्यान दिए त भैहाल्यो नि’ भन्ने हिसाबले फकाइ फुल्याइ गर्न थालिएपछि पूर्वप्रधानमन्त्री र पार्टीका शीर्ष नेताहरूको सम्पत्ति छानविन गर्ने भन्दै आएकी प्रम कार्की तिनै नेतालाई बिगार्ने बिचौलियालाई हात हाल्ने कुरामा चाहिँ ‘भैगो त नि’ भन्ने अवस्थामा पुगेको सूचना स्रोतको दावी छ । 

बिचौलिया भट्ट प्रधानमन्त्री फेर्नेसम्मको हैसियत राख्ने व्यक्ति हुन् । धितोपत्र बोर्डमा सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष बनाउन एमाले–माओवादी गठबन्धन टुटेको र त्यसपछि उनकै हतियार दलाली कम्पनीका कर्मचारी शरद ओझालाई देउवाको दवावमा बिमा प्राधिकरण जिम्मा लगाउन केपी ओलीलाई बाध्य बनाइएको ताजा नजिर छ । यसपटक चाहिँ सरकार गिराउन सम्भव नभएपछि पारिवारिक सम्बन्धमार्फत प्रधानमन्त्रीलाई हातमा लिने रणनीति बनाएको बुझ्न कठिन छैन । प्रधानमन्त्री नै आफ्नो पक्षमा भइसकेपछि सिआइबी प्रमुख, सम्पत्ति शुद्धीकरण विभाग र आन्तरिक राजश्वका सहसचिवस्तरीय कर्मचारीले के नै गर्न सक्छन् र भन्ने उनलाई राम्रोसँग थाहा छ । 

भ्रष्टाचारविरोधी छवि बनाएकी सुशीला कार्कीबारे आम बुझाइ छ–उनी लोभीपापी हैनन् । त्यसकारण सुशासन स्थापनामा खुट्टा नकमाई काम गर्ने विश्वास धेरैले लिएका थिए÷छन् । तर, पुरानै शासकले जस्तो छोरा, बुहारी र आफन्तको स्वार्थका अगाडि घुँडा टेक्ने कि मुलुकको हितका लागि निर्भिक भएर उभिने ? सुशासनका लागि युवाहरूले सडकमा बगाएको रगतको टाटोसमेत नबस्दै बिचौलियाको सल्बलाहटले सुशीलाको छविमा राम्रो छाप छाड्ने संकेत दिएको छैन ।

(जनआस्था साप्ताहिकको मंसिर १० गते बुधबारको अंकमा प्रकाशित) 

 

टिप्पणीहरू