हेटौंडा बजार क्षेत्रका संरचनामा डोजर चलाइने

हेटौंडा बजार क्षेत्रका संरचनामा डोजर चलाइने

सडक डिभिजन, हेटौंडाले अवैध संरचनामा डोजर चलाउने भएको छ । हेटौंडा उपमहानगरपालिकाको रातोमाटेदेखि बुद्धचोक हुँँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म निर्माण भएको अवैध संरचना भत्काउन लागिएको हो । 

सडक सीमा अतिक्रमण गरेर बनाइएका सबै संरचना भत्काइने डिभिजनका सूचना अधिकारी ईञ्जिनियर यादव सुवेदीले बताए । जनआस्थासँग उनले भने,‘कानुन कार्यान्वयनमा हामी पछि हट्दैनौं । सडक सीमा मिचेर कसैले संरचना बनाउन पाउनुहुँदैन, हामी त्यो हटाउँछौं ।’

‘सार्वजनिक सडक ऐन, २०३१’ ले सडक सीमाको २५ मीटरभित्र सडक विभागको स्वीकृति प्राप्त नगरी प्रवेश मार्ग बनाउन, कुलो वा खाडल खन्न वा भत्काउन, किला, लठ्ठा, तगारो गाड्न वा हाल्न र घर, टहरा वा छाप्रो बनाउन निषेध गरेको छ ।

ऐनविपरीत हेटौंडा बजारको सडक सीमा मिचेर संरचना निर्माण गरिएको छ । डिभिजनले पटकपटक ती संरचना हटाउन सूचना जारी गरिसकेको छ । तर, संरचना धनीहरुले क्षतिपूर्ति माग्दै २०७८ पुस १९ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरे । 

अदालतले क्षतिपूर्ति नपाउने फैसलाका साथै रिट खारेज गरेसँगै डिभिजनले गत मंसिर ५ गते सूचना जारी गरेर १५ दिनभित्र सडक सीमा मिचेर बनाइएको संरचना हटाउन निर्देशन दिएको थियो ।

तर, उनीहरुले अवैध संरचना हटाउन अटेर गरिरहेका छन् । १५ दिने म्याद आजबाटै सकिएसँगै प्रशासन भोलिबाट ‘एक्सन’ मा उत्रिन लागेको हो ।
 

टिप्पणीहरू