डाँडामा हिउँ परे बेसीमा भोटिङ्ग ?
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनबारे छलफल गर्न आज दिउँसो सर्वपक्षीय बैठक बोलाउनुभएको छ । विघटित प्रतिनिधिसभाका पाँच ठूला राजनीतिक दलसँगै चार वटै सुरक्षा निकायका प्रमुख र केही मन्त्रीलाई पनि बैठकमा राखिँदैछ ।
चुनावका लागि तीन महिना बाँकी छँदा मुलुकभर चुनावी माहौल नबढेपछि प्रधानमन्त्रीले उक्त पहल गर्नुभएको बताइन्छ । तर फागुन २१ गते चुनाव सम्पन्न हुनेमा धेरैमा आशंका रहेको सुरक्षा निकायको रिपोर्ट छ । स्रोतका अनुसार सर्वसाधारणदेखि स्थानीय राजनीतिक नेता तथा कार्यकर्तासम्म चुनाव हुनेमा विश्वस्त हुन नसकेको, विभिन्न खालका चुनौति देखिन थालेको र सरकारले पूर्ण सुरक्षाको प्रत्याभूति दिन नसकेकाले सर्वसाधारण विश्वस्त हुन नसकेको उनीहरुको निश्कर्ष छ ।
सम्भवतः आजको बैठकमा सुरक्षा निकायहरुले पनि आफ्नो संक्षिप्त रिपोर्ट प्रस्तुत गर्दैछन् । कुनै राजनीतिक दलको तर्फबाट फागुन २१ गतेको चुनाव मिति पछाडि सार्नुपर्ने प्रस्ताव पनि हुनसक्ने अड्कल गरिएको छ ।
यता अधिकांश हिमाली र उच्च पहाडी भेगमा चिसोका कारण फागुन २१ गते चुनाव गर्न निकै सकस हुनेबारे सेना, प्रहरी,सशस्त्रले पनि निचोड निकालेको बुझिएको छ । विगतमा त्यस्ता उच्च भूभागको चुनाव तल बेसीमा बाकस राखेर गराइएको मोडललाई यस पटक पनि निरन्तरता दिने योजना बनाइएको छ । विशेषगरी दार्चुला, कालापानी क्षेत्रको निर्वाचन तल्लो भेगमा बाकस थापेर गराइएको सन्दर्भ पनि निर्वाचन आयोग र गृह मन्त्रालयमा भएका छलफलमा उठ्ने गरेको छ ।
टिप्पणीहरू