खरानी समूहको चुनावी रणनीति
फागुन २१ गते निर्वाचन मिति तोकिएको तीन महिना पूरा भई अर्को तीन महिना बाँकी छँदा अनेक आशंका उत्पन्न हुन थालेका छन् ।
विशेषगरी पुराना राजनीतिक दलका नेता तथा कार्यकर्ता फागुन २१ गते चुनाव हुनेमा आशंका व्यक्त गरिरहेका छन् । सुरक्षा निकायहरुले पनि संवेदनशीलताको कुरा उठाएका छन् ।
भदौ २३ गतेको जेन जी प्रदर्शन र भोलिपल्टको विध्वंशपछि अन्तरिम सरकार गठनमा भूमिका खेलेका भनिएका समूहहरुले राजनीतिक दल दर्ता गराएका छन् । आगामी निर्वाचनका लागि उनीहरुले चुनावी रणनीतिसमेत तर्जुमा गर्न थालेका छन् ।
रवि लामिछाने नेतृत्वको घण्टी चिन्ह भएको रास्वपा, कुलमान घिसिंगको उज्यालो नेपाल पार्टी, काठमाडौं महानगरका बालेन साह, पूर्वका हर्क साम्पाङलगायत पार्टी तथा समूह एमाले र नेपाली काँग्रेसविरुद्ध चुनावमा तालमेल गर्ने योजनामा रहेको कतिपयको दावी छ । चुनाव नजिकिँदै गएपछि उत्पन्न हुनसक्ने राजनीतिक परिस्थितिलाई हेरेर प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) समेत उक्त समूहसँग तालमेल गर्न पुग्नसक्ने एकथरीको आकलन छ ।
उनीहरु सबैको उद्देश्य नेपाली काँग्रेस र एमालेलाई एक्ल्याउने भन्ने हुनेछ । त्यस्तो अवस्थामा ठूला दल एमाले र काँग्रेसबीच पनि चुुनावमा तालमेल हुनसक्छ ।
कूटनीतिक क्षेत्रमा विशेष दख्खल राख्ने काँग्रेसका एक नेता भन्छन्, ‘आगामी निर्वाचनपछि खरानी समूहको उपस्थिति बलियो भएमा तत्काल विदेश नीति परिवर्तन गर्ने उनीहरुको पहिलो लक्ष्य हुनेछ । त्यसो हुँदा भूराजनीतिक चलखेलले दुई ढुंगाको तरुल भन्ने गरिएको मुलुकको अवस्था कस्तो होला भन्ने खराब परिस्थितिको आकलन अहिले नै गर्न सकिँदैन ।’
टिप्पणीहरू