प्रधानमन्त्री र गृहमन्त्री दुबै आजित

प्रधानमन्त्री र गृहमन्त्री दुबै आजित

छ महिनाभित्र निर्वाचन सम्पन्न गराएर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने मुख्य र एकमात्र कार्यभार रहेको अन्तरिम सरकारका प्रधानमन्त्री र गृहमन्त्री मुलुकको राजनीतिक,आर्थिक तथा सामाजिक अस्तव्यस्ताका कारण तीन महिनामै आजित भएका छन् ।

फागुन २१ गतेको निर्वाचन सकाएर मात्रै सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल पहिलेको मुडबाट एकाएक परिवर्तन हुनुपर्नाको कारण पनि खोज्न थालिएको छ । जेन जीका नाममा भइरहेका विभिन्न हर्कत,उनीहरुको आडमा अधिकांशको मन्त्री बन्ने चाहना, कतिपयको विभिन्न पदमा पुग्ने सपनाको दबाब बढ्दै गएपछि प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले दिक्क मान्न थालेको बताइन्छ । 

स्रोत भन्छ, ‘वाह्य शक्तिको चलखेल सोचेभन्दा धेरै हुन थालेको,कतिपय वाह्य तत्वले चुनाव नगराउन अनेक प्रपञ्च रचेको बाछिटा पर्न थालेपछि उहाँहरु सोच्न बाध्य हुनुभएको छ ।’ यतिखेर प्रधानमन्त्रीलाई भन्दा कानुन व्यवसायी अर्याललाई गृहमन्त्रीको जिम्मेवारी घाँडो भएको देखिन्छ ।

रास्वपा सभापति रवि लामिछानेलाई हिजो नख्खू जेलमा भेट्दा पनि गुरुङले आफू गृहमन्त्री बनेपछि संकट टारिदिने आश्वासन दिएको रवि निकटस्थहरुको दावी छ ।

मन्त्री निकटस्थ स्रोत भन्छ, ‘सुधन गुरुङले एकपछि अर्को च्यालेञ्ज गरेसङ्गै अर्यालले दिग्दारी मान्न थालेका छन् । त्यसका लागि पनि मन्त्रीको जिम्मेवारीमा केही समय बस्नैपर्ने अवस्था उत्पन्न भएको छ ।’ स्रोतका अनुसार अर्याललाई हटाएर सुुधनले आफू गृहमन्त्री बन्ने इच्छा धेरै ठाउँमा पोख्दै आएका छन् । रास्वपा सभापति रवि लामिछानेलाई हिजो नख्खू जेलमा भेट्दा पनि गुरुङले आफू गृहमन्त्री बनेपछि संकट टारिदिने आश्वासन दिएको रवि निकटस्थहरुको दावी छ । 

गुरुङको भनाई उद्धृत गर्दै रास्वपा स्रोत भन्छ, ‘म छिट्टै गृहमन्त्री बन्छु । त्यसपछि तपाइँको लफडा साफ ।’ तर कोही गृहमन्त्री हुँदैमा रविका एक दर्जन कानुनी झमेला मिलाउन सक्ने अवस्था छैन । किनकी यसअघि उनी आफैँ उपप्रधान तथा दुई पटक गृहमन्त्री बनिसकेका छन् । त्यतिबेला मिलाउन नसकेको र नमिल्ने विषय अरुले आश्वासन दिँदैमा मिल्ने  सम्भावना एक प्रतिशत पनि रहन्न ।

टिप्पणीहरू