भगवान गुहार्दै मीनबहादुरको बिन्ती-अब यस्तो कहिल्यै नहोस्

भगवान गुहार्दै मीनबहादुरको बिन्ती-अब यस्तो कहिल्यै नहोस्

बिशुध्द नेपाली व्यवसायी तथा भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले भदौ २४ गतेको विध्वंशमा खरानी बनाइएको मुख्य गोदाम (वेयर हाउस) भोलिदेखि विधिवत शुभारम्भ गर्न लागेका छन् । बालुवाटारस्थित ललिता निवाससँगै रहेको वेयर हाउस दुई महिनाको हाराहारीमा बनाएर आज धान्य पूर्णिमा, यो:मरी पुन्ही,उँधौली पर्व,ज्यापू दिवसका अवसरमा होम र लक्ष्यवर्ती पूजासमेत सकाएका छन् । 

सयौं पाहुना सामेल आजको पूजामा परम्परागत ज्यापू पोशाक हाकु पटासीसहितका महिला र नेवारी बाजागाजाले स्वागत गरिनुका साथै  मुख्य गेटैमा भदौ २४ को बिध्वँश झल्काउने दर्दनाक तस्बिरहरु राखिएको थियो । सिंहदरबार,संसद भवन र सर्वोच्च अदालतसँगै खरानी बनाइएका एक दर्जन भाटभटेनी स्टोरका फोटोमा मीनबहादुरले हात जोड्दै भनेका छन्,‘हे भगवान,अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् ।’

गुरुङले भनेका छन्,‘क्षति कति भयो नसम्झौं,अब नयाँ अध्यायबाट सेवा थाल्नेछु । त्यसैको शुरुआत आजको पूजा हो ।’

भदौ २४ गतेको आगजनीबाट भाटभटेनीको उक्त गोदाममा रहेका झण्डै ७ अर्ब रुपैयाँ बराबरका सामान नष्ट भएको बुझिएको छ । गुरुङले औपचारिक रुपमा त्यस दिन गरिएको क्षतिबारे नसम्झाउन आग्रह गर्दै भनेका छन्,‘क्षति कति भयो नसम्झौं,अब नयाँ अध्यायबाट सेवा थाल्नेछु । त्यसैको शुरुआत आजको पूजा हो ।’

अनौपचारिक स्रोतका अनुसार भदौ २४ को विध्वंशमा भाटभटेनीका २७ मध्ये १२ ध्वस्त हुँदा पाँच वटा स्टोरमा लुटपाट मच्चाइएको थियो । त्यसक्रममा १४ अर्ब रुपैयाँको नोक्सानी भएको बताइन्छ । त्यसमध्ये बालुवाटारको गोदाममा मात्रै ७ अर्बको सामान र स्टोर खरानी बन्न पुग्यो । 

दशैंका लागि विदेशबाट मगाइएका अधिकांश सामान स्टोर इन्ट्री नहुँदै जलेकाले बीमाको दायराभित्र पनि पर्न सक्दैन । कूल क्षतिमध्ये आधा बराबरको रकम मात्रै बीमाले समेट्ने अवस्था छ ।

सन् १९८४ मा भाटभटेनी मन्दिर अगाडिको सानो घरबाट थालिएको व्यवसाय अहिले यो अवस्थामा पुगेको हो । खोटाङबाट किशोर अवस्थामा उच्च अध्ययनका लागि राजधानी आएका गुरुङको यो स्टोरले पछिल्लो समय २२ हजारभन्दा बढीलाई रोजगारी दिएको छ । यो वर्षसँगै केही वर्षदेखि खुद्रा व्यापारतर्फ सबैभन्दा धेरै कर र राजश्व बुझाउनेमा भाटभटेनी सुपरमार्केट चिनिन्छ ।
 

टिप्पणीहरू