प्रेमिकाले वास्ता नगर्दा विश्वभर प्रलय

प्रेमिकाले वास्ता नगर्दा विश्वभर प्रलय

सन् १९३९ देखि १९४५ सम्म चलेको दोश्रो विश्वयुद्धमा ७ करोडदेखि साढे ८ करोड मानिसको मृत्यु भएको मानिन्छ । आर्य जातिलाई सर्वश्रेष्ठ सावित गर्ने र यहुदीलाई समूल नष्ट गर्ने पागलपन सवार नाजी नेता एडोल्फ हिटलरकै कारण संसारमा त्यत्रो जनधनको क्षति हुन पुगेको थियो । उनको निर्देशनमा ६० लाख यहुदीले अनाहक मृत्युवरण गर्न पुगे । ५६ लाख सेना र ८८ लाख जर्मन जनताको मृत्यु हुँदा क्षतिग्रस्त धनसम्पत्तिको हिसाबकिताब गरिसाध्य थिएन ।

यातना शिविरमा दशौं लाख यहुदीलाई एकै चिहान बनाउन र विश्वभरिका जनतामाझ आतंक फैलाउन सफल हिटलर आफैँ भने नामुद डरपोक थिए । उनी दन्त चिकित्सकदेखि धेरै डराउँथे । दाँतमा समस्या थियो । मुख गन्हाउँथ्यो । पछि सहनै नसक्ने गरी दाँत दुख्न थाल्यो । दन्तचिकित्सक जोहानेस ब्लस्चकले ‘रूट केनल’ गर्नुपर्ने र ८ दिन लाग्ने बताए । तर, उनी चिकित्सालयको कुर्सीमा बस्नै चाहन्नथे । कुर्सी देख्नेबित्तिकै लगलग काँप्थे । त्यसैले उपचार गराएनन्, दुखाइ सहेरै बसे । सन् १९४५ मा आत्महत्या गर्दाको बेलासम्म उनको दाँत कुहिसकेको थियो । ब्लस्चक नाजी सेनाका चिकित्सक थिए, रुसी सेनाले बर्लिनमाथि कब्जा जमाउँदा पक्राउ पर्नेमध्ये उनी पनि थिए । उनले रुसी सेनालाई हिटलरमा दाँतको समस्या भएको बताएका थिए ।

हिटलरलाई ब्लेडदेखि पनि उत्तिकै डर लाग्थ्यो । हजामले दाह्री काट्ने बहानामा गर्धन पो काट्ने हुन् कि भन्ने डर पालेर बस्थे । त्यसैले जीवनमा कहिल्यै दाह्री, जुंगा अरुलाई काट्न लगाएनन्, सधैँ आफैँले काटे । उनलाई पैरानोइया नामक रोग लागेको थियो । जसको कारण उनलाई सधैं कसैले मार्न खोज्दैछन् भन्ने लागिराख्थ्यो । मृत्युदेखि अत्यन्त डराउँथे । उनीमा हाइपोस्पेडियस रोग पनि थियो जसकारण सेक्स गर्न हिच्किचाउँथे । मुत्रमार्गमा समस्या थियो, सेक्स गर्दा दुख्थ्यो । त्यसैले प्रायः शारीरिक सम्बन्ध बनाउँदैनथे जबकि जीवनमा धेरैलाई प्रेमिका बनाए । एउटा मात्र अण्डकोष भएकाले लाज पनि लाग्थ्यो । स्मरणीय छ, उनको दायाँ अण्डकोष विकसित हुन पाएको थिएन र भित्रै दबिएको थियो । यौन शक्ति बढाउन गोरुको बिर्य सुइमार्फत लिन्थे । उनको सेक्स जीवनसम्बन्धी पुस्तक ‘हिटलर्स लास्ट डे : मिनट बाइ मिनट’ मा विस्तृत चर्चा गरिएको छ । 

उनी अन्धविश्वासी थिए । सार्वजनिक स्थलमा जानुअघि ज्योतिषसित सल्लाह लिन्थे । उनै ज्योतिषको सल्लाहका कारण सार्वजनिक कार्यक्रममा लगाइराखेको कोट कहिल्यै फुकालेनन्, चाहे जतिसुकै गर्मी किन नलागोस् । उनी स्वस्तिक चिह्नलाई जादुमयी शक्ति मान्थे । त्यसैले उनले लगाउने कोटको बाहुलामा स्वस्तिक चिह्न हुन्थ्यो । अँध्यारोमा डर लाग्थ्यो । त्यसैले बिहान ४–५ बजे मात्र सुत्थे र ११ बजे उठ्थे । पल्टिनुअगाडि ओछ्यान जाँच्न लगाउँथे । पेट ढुस्स पर्ने समस्या थियो । यसर्थ बेला न कुबेला पादिरहन्थे । यो समस्याबाट छुट्कारा पाउन दिनहुँ २८ प्रकारका औषधि खान्थे । 

औषधिले पनि खासै काम नगर्ने भएकाले पछि दूधजन्य खानेकुरा र मासु नै खान छाडे ताकि वायु निस्कँदा धेरै गन्ध नफैलियोस् । उनी शाकाहारी बन्नुको कारण यही थियो । यसको बावजुद चक्लेट भने धेरै खान्थे । दिनमा ९ सय ग्राम । उनले चकलेट बमद्वारा ब्रिटिश प्रधानमन्त्री विन्स्टन चर्चिललाई मार्ने कोसिससमेत गरे । उनलाई मन पर्ने चलचित्र थियो– किङ कङ । यो अमेरिकन चलचित्र सन् १९३३ मा मरियन कुपरले बनाएका थिए ।

हिटलरको सम्बन्ध आफ्नै भाञ्जी गेली रौबेल, मारिया रैटर, लेनी रिफेन्स्ताहल, हेलेन बेख्स्टाइन, इल्सा ब्रुक्स्मन, युनिटी मिटफोर्ड, लिना वास्क्वेट, इभा ब्राउन आदिसँग रह्यो । तर, पहिलो प्रेमिका थिइन्– स्टेफनी राबत्स्च । अष्ट्रियाकी र हिटलरभन्दा २ वर्ष जेठी यहुदी । त्यसबेलासम्म हिटलरको मनमा यहुदीप्रति घृणा जागेकै थिएन । बाल्यकालका मित्र अगस्ट कुबिजेक स्टेफनीका पनि साथी थिए । कुबिजेकले नै दुवैबीच परिचय गराइदिएका हुन् । उनै कुबिजेकका अनुसार हिटलर स्टेफनीलाई मन पराउँथे, एकोहोरो प्रेम गर्थे तर यो कुरा स्टेफनीसित भन्ने आँट कहिल्यै गरेनन् । यो कुरा कुबिजेकको पुस्तक ‘एडोल्फ हिटलर : मेरो बाल्यकालकी साथी’ मा उल्लेख छ । कुबिजेक अष्ट्रियाकै थिए र पछि संगीत एरेन्जर बने । स्टेफनीको पछि एक जना सैन्य अधिकृतसँग बिहे भयो । सन् १९७६ मा भियनामा उनको निधन भइसकेको छ ।

हिटलरको जन्म नै अष्ट्रियाको ब्राउनाउ आमइनमा भएको हो । यो स्थान जर्मनीको सीमानजिक पर्छ । पछि परिवार लिन्जमा बसाइँ स¥यो, हिटलर त्यहाँ सन् १८९८ देखि १९०७ सम्म अर्थात १८ वर्षको उमेरसम्म बसे । पछि ललितकला अध्ययन गर्न भियना गएका हुन् । कुबिजेक लिन्जकै थिए र सँगीत सिक्दै थिए । ओपेरामा भाग लिन प्रतिस्पर्धा गर्दै गरेको बेला हिटलरसँग भेट भयो । कुबिजेकका अनुसार सन् १९०५ मा हिटलरले पहिलो पटक स्टेफनीलाई देखेका थिए । त्यसबखत अग्ली र पातलो शरीर भएकी स्टेफनी १८ वर्षकी र हिटलर १६ वर्षका थिए । स्टेफनीको आँखामा एक प्रकारको आकर्षण थियो, कपाल पनि बाक्लो र सर्लक्क परेको । हिटलर उनको यही रूपमा मोहित बने । कुबिजेक लेख्छन्– ‘सन् १९०५, बसन्त ऋतुको समय । साँझ हामी इभनिङ वाक गर्दै थियौं । अकस्मात उसले मेरो कुममा हात राखेर तान्यो र सोध्यो, ‘आमासँग गइरहेकी त्यो पातली केटी को हुन् ? थाहा छ ? म उसको बारे के सोच्न थालेको छु ?’ त्यति मात्र होइन, उसले दृढतापूर्वक भन्यो ‘तिमीलाई थाहा हुनु पर्ने हो, म उसलाई प्रेम गर्छु ।’

स्टेफनी म्युनिख र जेनेभाको अध्ययनपश्चात लिञ्ज फर्केकी थिइन् । उनका एक दाजु थिए जो भियनामा कानून विषय पढ्दै थिए । कुबिजेक हिटलरलाई आफ्नो प्रेम भावना सिधै स्टेफनीसँग व्यक्त गर्न उक्साउँथे तर हिटलर सधैं ‘भोलि भन्छु’ भन्थे । हिटलर स्टेफनीसित जिस्किनेहरूलाई घृणा गर्थे, विशेषतः सैन्य अधिकृतलाई । हिटलर उनीहरूलाई मूर्ख र घमण्डी भनेर गाली गर्न थाल्थे । हिटलर स्टेफनीलाई पनि रिस गर्थे, जब स्टेफनी तिनीहरूसँग हाँसीहाँसी गफ गर्थिन् । तिनीहरूसँग मस्किन कोर्सेट लुगा लगाएर त्यसमा अत्तर छर्केर पुग्थिन् । हिटलरले स्टेफनीको पिछा गर्न कुबिजेकलाई अह्राए पनि । दैनिक रिपोर्ट दिनु भने । यसैक्रममा कुबिजेकले एकपटक स्टेफनी नृत्य मन पराउने र नृत्य सिक्न जाने गरेको रिपोर्ट दिए । यो सुनेर कुबिजेकलाई भने ‘मलाई नृत्य मनपर्दैन । मलाई लाग्छ, परिवारको दबाबमा मात्र सिक्न जाने गरेको होला । मसँग उसको बिहे हुन देऊ, उसले नृत्य मन पराउन छाड्ने छ ।’

सन् १९०६ को जुनमा एकदिन गाडीबाट गइरहेकी उनले हिटलरलाई नजिकै पाएपछि मुस्कान र एउटा फूल दिइन् । हिटलर यति धेरै खुशी भए कि जुन कहिल्यै भएका थिएनन् । स्टेफनी हिँडेपछि कुबिजेकलाई आफूतिर ताने र भावुक बन्दै भने, ‘मैले भने नि ऊ पनि मलाई प्रेम गर्छे ।’ कुबिजेक लेख्छन्– यो कुरा गर्दा उसको स्वर काँपिरहेको थियो । यसबिच सन् १९०७ मा हिटलरकी आमा क्लाराको स्तन क्यान्सरबाट निधन भयो । उर्फाहरबाट लियोन्डिङसम्मको शवयात्रामा स्टेफनीलाई पनि देखेको उनले कुबिजेकलाई खुशी हुँदै सुनाए । कुबिजेकको दाबी यो छ कि हिटलरको प्रेमप्रति स्टेफनी पूर्णरूपमा अञ्जान थिइन् । हिटलरलाई मात्र आफ्नो बफादार र प्रशंसक मान्थिन् । कुबिजेक लेख्छन्– ‘आफूले देखाउने गरेको मायालु नजरलाई जब स्टेफनीले वास्ता गर्न छाडिन् तब हिटलर तिर्मिराए । उनमा हिंस्रक भाव देखा प¥यो र पूरै विश्वलाई नष्ट गर्न अघि सरे ।’

हिटलरले स्टेफनीको अपहरण गर्ने र डानुबे पुलबाट हाम्फालेर सँगै मर्नेसम्मको सोच बनाएको कुबिजेक दाबी गर्छन् तर हिटलरले सोचेअनुसार गरेनन् र चुपचाप भियनातर्फ लागे । स्टेफनीले धेरै पछि एउटा अन्तर्वार्तामा हिटलरको प्रेमबारे आफू अनभिज्ञ रहेको तर एउटा प्रेमपत्र भने प्राप्त गरेको बताइन् । पत्रमा स्नातक नगरुञ्जेलसम्म प्रतिक्षा गर्ने र पछि बिहे गर्ने उल्लेख थियो । हिटलरको एकतर्फी प्रेमबाट बेखबर स्टेफनीले सन् १९०८ मा सैन्य अधिकृत मैक्सेमिलन राबात्स्चसँग इङ्गेजमेन्ट र २ वर्षपछि बिहे गरिन् । दोश्रो विश्वयुद्धमा मैक्सिमिलनको मृत्युपश्चात् बिधवा बनिन् । स्टेफनीका अनुसार युवावस्थामा हिटलर लजालु स्वभावका थिए ।
 

टिप्पणीहरू