रात फर्काउनेदेखि अनेक रंगका आन्दोलन
२७ घण्टे आन्दोलनको रापतापले मुलुकको अवस्था बदलेको छ । यति छोटो समयमा सत्ता उल्टेको नेपालमा मात्र होइन, विश्व इतिहासमै सम्भवतः पहिलो घटना हो, त्यो पनि बिना नेतृत्वको, बिना राजनीतिक दलको र १३ वर्षदेखि २८ वर्ष उमेर समूहको यति छोटो अवधिमै पनि विद्यमान राजनीतिक कोर्सलाई बदल्न ७२ जना युवाले ज्यानको आहुति दिनुपर्यो । सयौँ घाइते हुनुपर्यो । परिवर्तित अवस्थामा धमिलो पानीमा माछा मार्न ‘नेपाली जेलेन्स्कीहरू’ जुर्मुराइसकेका थिए । धन्न, उनीहरूका हातमा सत्ता गएन र नेपाल युक्रेन हुने सम्भावनाबाट बचेको छ । अन्तरिम सरकार बनेको छ, चुनाव गराउने म्याण्डेट प्राप्त यो सरकारले भाद्र २३ को सरकारी दमन र भाद्र २४ को आगजनी र टोडफोडको न्यायिक छानबिन कति निष्पक्ष तवरबाट गर्ने हो हेर्न बाँकी नै छ । कतिपयले आन्दोलनमा स्वदेशी र विदेशी शक्तिको घुसपैठ भएको आशंका गरेका छन् भने कतिले अमेरिकाको ‘डिप स्टेट कन्स्पिरेसी थ्यौरी’ प्रतिसमेत इंगित गर्ने गरेका छन् । यो थ्योरी भनेको कमजोर राष्ट्रमा उथलपुथल मच्चाएर अनुकूल सरकार गठन गराउने नीति हो ।
युवाको बलमा सत्ता परिवर्तन भएका उदाहरण धेरै छन् । तर, यस्ता धेरै आन्दोलनको सुरुवात या त युवाले गरे र पछि अन्य उमेर समूहसहित राजनीतिक दल मिसिन पुगेपछि बल्ल सफल भएका छन् वा अरुले शुरु गरेको आन्दोलनमा युवाहरू मिसिन पुगेपछि पार लागेको छ । नेपालको पछिल्लो आन्दोलन भने विश्वकै लागि उदाहरण बन्न पुगेको छ । आन्दोलनको रापताप फ्रान्स, इङ्ल्याण्ड र भारतमा देखा परिसकेको छ भने निश्चित रुपमा अन्यत्र पनि फैलिँदै जानेछ । युवाकै बलमा सफल आन्दोलन केही समयअघि मात्रै बंगलादेश, श्रीलंका, इण्डोनेसियालगायत मुलुकमा सम्पन्न भइसकेको छ । तर, ती कुनै पनि यी आन्दोलन स्कूल र कलेजको युनिफर्ममा सडकमा उत्रेका विद्यार्थीको बलमा सम्पन्न भएको थिएन, जुन नेपालमा भयो ।
सय वर्षअघि सन् १९२५ मा अमेरिकाको फिस्क विश्वविद्यालयका विद्यार्थीले आन्दोलन गरेका थिए । विश्वविद्यालयका अध्यक्ष थिए फायाते मैकेन्जी । उनले छात्रछात्राको ड्रेस कोड, अतिरिक्त क्रियाकलाप र अन्य पक्षमा कडा नीति अख्तियार गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका र आन्दोलनलाई थेग्न नसकेपछि राजीनामा दिन बाध्य बने । सन् १९३९ मा दोश्रो विश्वयुद्ध शुरु भयो । ३ वर्षपछि नाजी सरकारको विरोधमा जर्मन विद्यार्थी सडकमा उत्रे । खासगरी म्युनिख विश्वविद्यालयका विद्यार्थीले यो साहस गरेका थिए । उनीहरूले ‘जर्मनहरूले हिटलरको शासनलाई मान्नुहुन्न’ भन्ने ब्यहोरासहितको पर्चा छरेका थिए र सडकको भित्तामा ‘हिटलर मूर्दाबाद’ समेत लेखेका थिए । पछि अरु शहरमा पनि फैलिएको यो आन्दोलनलाई निर्ममतापूर्वक दबाइयो, पक्राउ परेकाहरूको टाउको छिनाइयो । सहादत प्राप्त गर्नेमा एक जना २१ वर्षका छात्र पनि थिए । यो ‘सेतो गुलाफ आन्दोलन’ को नेतृत्व २५ वर्षीय हान्स र उनकी २२ वर्षीया बहिनी सोफी स्कोलले गरेका थिए ।
भियतनाम युद्ध सकिनै लाग्दा सन् १९६८ मा अमेरिकामा रिचर्ड निक्सन राष्ट्रपति चुनिए । चुनावी प्रचारप्रसारमा युद्ध अन्त्य गर्ने प्रण गरेका थिए तर भियतनामसितको युद्ध समाप्त गर्नु त कता–कता उल्टो उनले कम्बोडियामा पनि सैन्य आक्रमण थाले । भोलिपल्टै केन्ट राज्यका विद्यार्थी सडकमा उत्रिए । ३ हजार आन्दोलनकारी र प्रहरीबीच ठाउँ–ठाउँमा झडप भयो । आन्दोलनकारीको समर्थनमा ओहायोका सय जना राष्ट्रिय गार्ड हातहतियारसहित सडकमा आए । पछि विद्यार्थीले ढुंगामुढा र प्रहरीले गोली बर्साए । ९ जनाको ज्यान गयो । ज्यान गुमाउनेहरू सबै कलिला विद्यार्थी थिए । यो हत्याकाण्डको विरोधमा देशभरि आन्दोलन मच्चियो, ३० लाखले सहभागिता जनाए । अमेरिकाभरि युद्धविरोधी भावना जागृत भयो ।
सन् १९६० को दशक विश्व अशान्तिको दशक बन्यो । यसको प्रभाव मेक्सिकोमा पनि पर्यो । विद्यार्थीहरू विभिन्न माग राखेर सडकमा ओर्लिए । सरकारले आन्दोलनरत विद्यार्थीको माग सुन्नुको साटो सेनामार्फत गोली बर्साउन लगायो । सन् १९६८ को अक्टोबर २ मा त्लातेलोक्लो चोकमा एकत्रित सयौं विद्यार्थीले ज्यान गुमाए । मेक्सिकोमा आजपर्यन्त अक्टोबर २ लाई युवाले स्मृति दिवसको रूपमा मनाउने गर्छन् । सन् १९७६ को जुनमा दक्षिण अफ्रिकी काला विद्यार्थी र युवाले गरेको आन्दोलन पनि बिर्सन नसकिने खालको छ । स्कूल र कलेजमा अश्वेत विद्यार्थीमाथि गरिने भेदभावविरुद्ध दक्षिण–पश्चिम शहर सोवेतोमा १० हजार विद्यार्थी सडकमा उत्रेका थिए । गोरा सरकारको प्रहरीले प्रदर्शनमा उत्रेकाहरूमाथि दनादन गोली बर्साउँदा ७ सय जनाको ज्यान गयो । भोलिपल्टदेखि रंगभेदविरुद्ध देशभरि आन्दोलन भयो । मुलुक गोरा सरकारबाट मुक्त हुनमा यो आन्दोलनको प्रमुख भूमिका रह्यो, आज पनि १६ जुनलाई त्यहाँ युवा दिवसको रूपमा मनाइन्छ ।
सन् १९८० को मे १८ देखि २७ सम्म दक्षिण कोरियाका युवाले चुन दु ह्वानको सैनिक शासनविरुद्ध विद्रोह गरे । क्वाङ्जु विद्रोहको नामले विख्यात उक्त आन्दोलनमा २ लाख युवा सडकमा देखिए । विद्रोही युवा र सेनाबीच सशस्त्र झडप हुँदा २६ जना सेना र प्रहरीलगायत २ हजार ३ सय युवाले ज्यान गुमाए । शीतयुद्धकालमा पूर्व र पश्चिम जर्मनीलाई छुट्याउन लगाइएको बर्लिन पर्खाल सन् १९८९ को ९ नोभेम्बरमा ढालियो । यसको ९ दिनपछि चेकोस्लोभाकियाको राजधानी प्रागमा दोश्रो विश्वयुद्धमा नाजीहरूद्वारा मारिएका चेकहरूको स्मृतिमा युवाले सभा आयोजना गरे । लाखौंको सहभागिता देखिएपछि यो सभा कम्युनिष्ट सरकारविरोधी आन्दोलनमा परिणत भयो । प्रहरीले बर्बर दमन गर्यो । आन्दोलन शुरु भएको १३ औं दिनमा ४१ वर्ष लामो कम्युनिष्ट शासन ढल्यो । ‘मखमली विद्रोह’ को नामले विख्यात र युवाहरूले शुरु गरेको तर पछि सबै वर्ग–समुदायको विद्रोहमा परिणत यो क्रान्तिमा प्रदर्शनकारीले ज्यान गुमाउनुपरेन, घाइते भने ५ सयभन्दा बढी भए ।
त्यसो त सन् १९५६ मा भएको हंगेरी क्रान्तिको सुरुवात पनि युवा विद्यार्थीले गरेका थिए । यो क्रान्ति कम्युनिष्ट सरकारविरुद्ध लक्ष्यित थियो तर विद्रोहलाई तात्कालिन सोभियत सेना र टैंकले निर्ममतापूर्वक दबाइएको थियो । दमनमा २ हजारभन्दा बढीको मृत्यु भयो र २ लाख बिदेसिन बाध्य बने । सन् १९७९ को इरानकै क्रान्ति पनि विद्यार्थीको देन हो । राजतन्त्रलाई नै उखेलेर फाल्न सफल यो क्रान्ति दबाउन अमेरिकाले पाइतालादेखिको बल निकालेको थियो, तर सफल भएन र इरानमा इस्लामिक गणतन्त्र स्थापना भयो । यो क्रान्ति १३ महिना ४ दिनसम्म चलेको थियो ।
विश्वमा यस्ता धेरै आन्दोलन, विद्रोह र क्रान्ति भएका छन् जसको नेतृत्व विद्यार्थी र युवाले गरेका थिए । सन् १९३४ क्यालिफोर्नियामा भएको विद्यार्थी आन्दोलन, सन् १९६० मा जापानको अमेरिका र जापानबीच भएको सन्धिविरोधी आन्दोलन, सन् १९६० देखि १९६८ सम्म अमेरिकामा भएको नागरिक अधिकार आन्दोलन, सन् १९६२ मा बर्माको संसद भंग गरी सैनिक शासन लाडिएको विरुद्धको विद्यार्थी आन्दोलन, सन् १९७३ मा अमेरिकाको फ्लोरिडामा भएको महिला अधिकार आन्दोलन जसमा ‘रात फिर्ता लेऊ’ नारा उरालिएको थियो । सन् १९७३ मा ग्रिसको राजधानी एथेन्सका विद्यार्थीले गरेको सैन्य सरकारविरुद्धको आन्दोलन, चीनमा सन् १९८९ मा सुधारको मागसहित गरिएको आन्दोलन, सन् १९९८ मा इण्डोनेसियाको त्रिशक्ति विश्वविद्यालयका विद्यार्थीले आर्थिक संकटको विषयलाई लिएर गरेको हिंसात्मक आन्दोलन, सन् २०१० मा बेलायती सरकारले पढाइ शुल्क बढाएपछि त्यसको विरोधमा ५० हजार विद्यार्थी सडकमा उत्रेर गरिएको आन्दोलन पनि सम्झिनलायक छन् ।
त्यस्तै, सन् २०११ मा एकैपटक इजिप्ट, मोरक्को, ट्युनिसिया, सिरिया, बहराइन र लिबियामा फैलिएको ‘अरब वसन्त’ आन्दोलन, जसमा प्रदर्शनकारीहरूले सामाजिक सञ्जालमाथि सेन्सरसिपको विरोधसमेत गरेका थिए । उनीहरूले नेपालका जेनजीले जस्तै ‘युवा परिवर्तनको वाहक हुन्’ भन्ने नारा लगाएका थिए । सन् २०११ र २०१३ बीच चिलीमा शिक्षालाई निजीकरण गरिएपछिको आन्दोलन, सन् २०१४ हङकङको ‘छाता क्रान्ति’, सन् २०१६ मा युगाण्डाको मेकरेरे आन्दोलन, सन् २०२० र २०२२ को थाइल्याण्डमा सैनिक शासनविरुद्ध गरिएको आन्दोलन आदि, इत्यादि अनेक छन् ।
(जनआस्था साप्ताहिकको असाेज १ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू