हाँस्दाहाँस्दै रोइरहेको एउटा देशको कथा

हाँस्दाहाँस्दै रोइरहेको एउटा देशको कथा

भासिल पेत्रोभिच होलोबोरोद्को ३० वर्षीय इतिहास पढाउने हाइस्कूल शिक्षक । पठनपाठनकै बीच राज्यप्रति असन्तोष प्रकट गर्थे । वाक्पटुताका कारण उनी, बोल्दा लाग्थ्यो भाषणै दिइरहेका छन् । एउटा प्रसंगमा राज्यभित्र हुने भ्रष्टाचारको चर्को आलोचना गरे । उनको यो ‘भाषण’ लाई एकजना छात्रले भिडियो खिचेर सामाजिक सञ्जालमा हालिदिए । भासिललाई थाहै नदिइकन पोष्ट गरिएको उक्त भिडियो रातारात भाइरल भइदियो । त्यति मात्र होइन, भिडियोको सहारामा बिद्यार्थीहरूले सोही राष्ट्रपति उम्मेदबार बनाउन र चुनावका लागि कोष खडा गर्न आर्थिक संकलन गर्न थाले । निर्वाचन शुरु भासिल यतिधेरै लोकप्रिय बन्न पुगे एकैचोटि शिक्षकबाट राष्ट्रपति छानिए ।

परम्परागत विशेषाधिकार अस्वीकार गर्दै सामान्य ढंगले रहन थाले, बस र बाइकमा यात्रा गरे । सुधार कार्य थाल्न सल्लाहकारहरूको सानो टोली । भ्रष्टाचार नियन्त्रणमा कुलीन बर्गको प्रभावको सामना गरे । अंगरक्षकहरूलाई बर्खास्त गरे, जब आफ्नै परिवारले व्यक्तिगत लाभका लागि उनको पद दुरूपयोग गर्न खोज्दा आपत्ति जनाए । एउटा टेलिभिजन बहसमा टेबुलमुनिबाट हुने लेनदेनको खुलासा गरी भ्रष्ट प्रधानमन्त्रीको पर्दाफास गरिदिए । अमेरिकी राष्ट्रपति अब्राहम लिंकन र ल्याटिन अमेरिकी छापामार नेता चे ग्वेभारा आफ्ना आदर्श ब्यक्तिहरू भएको दाबी गरे । पछि उनको मन्त्रिपरिषदले नोकरशाही प्रतिरोधको सामना गर्दै भ्रष्टाचारबिरुद्धको कानुन पारित गर्‍यो ।

यो एउटा कथा हो, टेलिसिरियल ‘जनताका सेवक’ को । सिरियलमा भासिलको भूमिका निभाएका थिए भोलोदिमिर जेलेन्स्की अर्थात युक्रेनका वर्तमान राष्ट्रपतिले । सन् २०१५ देखि २०१९ सम्म प्रशारित यो हास्यब्यात्मक सिरियलका निर्माता जेलेन्स्की स्वयं थिए । शुरुमा यो युक्रेनी र रुसी भाषामा बनाइएको थियो । त्यसो त जेलेन्स्की युक्रेनी जनतामाझ पहिल्यै हाँस्यकलाकारका रूपमा लोकप्रिय थिए त्यसमाथि यो सिरियलले उनलाई शीर्षस्थानमा पुर्‍याइदियो । शुरुमा उनी राजनीतिमा हाम्फाल्न मानेनन् । तर निर्वाचन आउन ४ महिना बाँकी रहँदा अकस्मात् उम्मेदवार बन्ने निर्णयमा पुगे । सत्तारुढ दलको तर्फबाट राष्ट्रपति पेट्रो पोरोसेन्को आफै उठेका थिए । उनी ब्यापारी र देशकै धनाढ्यमध्येका थिए ।

जेलेन्स्कीले प्रचारप्रसारमा पम्परागत शैली अपनाएनन्, उनको आफ्नो राजनीतिक नीति नै थिएन, न मूलधारका मिडियालाई समाते । प्रचार पूर्णतः भर्चुअल थियो । सामाजिक सञ्जाल र युट्युबलाई अधिकतम प्रयोग गरे । र्‍याली, सभा गर्दै गरेनन् बरु देशभरि स्टान्डिङ कमेडी मञ्चन गर्दै हिंडे । सन् २०१९ सम्म युरोपमा सामाजिक सञ्जालको जालो ब्यापक बनिसकेको थियो र यसैलाई प्रयोग गर्दै कलाकारको रूपमा ख्याति कमाएका उनका प्रशंसकहरूले सामाजिक सञ्जालमा ‘जेलेन्स्की जेलेन्स्की’ भनेर चिच्याएकै भरमा जिते, ठीक त्यसरी नै जसरी हाम्रोमा युवाहरू सामाजिक सञ्जालभरि ‘बालेन बालेन’ ‘रवि रवि’ ‘हर्क हर्क’ भनेर कराएका थिए । राष्ट्रपति त जिते तर न राजनीति तानेका थिए न प्रशासन चलाउन नै । शीतयुद्धताका सोभियत ब्लकसित जुझ्न अमेरिका, बेलायत, फ्रान्स, जर्मन, इटली मिलेर बनाइएको सैन्य गठबन्धन ‘नेटो’ले युरोपलाई आफ्नै रक्षा छाता अन्तर्गत ल्याएर रुसलाई एक्लो पार्ने नीतिअन्तर्गत काम गर्दै थियो । राष्ट्रपति पोरोसेन्को युक्रेनलाई नेटोको सदस्य बनाउन त चाहन्थे तर रुसको डरले आँट गरिरहेका थिएनन् । त्यसैले नेटोलगायत पश्चिमी मुलुक युक्रेनमा पोरोसेन्कोभन्दा पनि कमजोर नेताको खोजीमा थिए, जो आफै ठोस निर्णय लिन असक्षम होस् र अरुको लहलहैमा लागोस् । यसकारण जेलेन्स्कीलाई जिताउन उनीहरू हात धोएर लागे ।

यस्तै परिस्थितिबाट उठेका जेलेन्स्की अब अमेरिकालगायत पश्चिमाहरूको बहकाउमा लाग्न थाले । नेटो र युरोपेली युनियनको सदस्य बनेर उनीहरूको भक्तिगान गाउने धुन सवार भयो । पश्चिमको कठपुतली बन्ने उनको ढिपीलाई रुसले आफ्नो लागि खतराको घण्टी ठान्यो । र, युक्रेनमाथि सैन्य कार्वाही थाल्यो । यसपछि युक्रेनी जनताले दुःखकष्ट सहन बाध्य भैरहेको दृष्टान्त सबैकासामु छर्लङ्ग छ । युक्रेनीहरूले पुराना र भ्रष्ट नेताहरूलाई चुनावी मैदानबाट हटाउन त सफल भए तर राजनीतिक सुझबुझ बिनाको र मुलुकको सर्वोपरी हितलाई ध्यान दिन अक्षम ‘लोकप्रिय ब्यक्ति’ लाई राज्यको कार्यभार सम्हाल्न दिंदाको परिणाम आज भोग्दैछन् । गलत ब्यक्तिलाई सत्तामा पुर्‍याएकोमा पश्चाताप गर्दैछन्, तर यो कुरा महसुस हुँदासम्म धेरै ढिलो भइसकेको थियो, किनभने अहिलेसम्म रुससितको युद्धमा करिब ५ लाख सेना र सर्वसाधारण गुमाइसकेको छ युक्रेनले । दशौंलाख जनता घरबारविहिन भई बिदेशमा पलायन भएका छन्, करिबकरिब सम्पूर्ण भौतिक पूर्वाधार, कलकारखाना, तेल प्रशोधन केन्द्रहरू, हतियार उद्योगहरू क्षतिग्रस्त छ । मुलुक ४०–५० वर्ष अगाडिको स्थितिमा पुगिसकेको छ । राजनीतिमा ‘लोकप्रियता’ मात्र होइन सबैथोक भन्ने पछिल्लो दृष्टान्त हो, समृद्ध मुलुकबाट मशानघाटमा परिणत भइरहेको वर्तमान युक्रेन ! 

जेलेन्स्कीको जन्म युक्रेनको मध्यशहर कृभी रिहमा भएको हो । उनी जन्मिँदा युक्रेन सोभियत संघको हिस्सा थियो अर्थात युक्रेनी सोभियत समाजवादी गणतन्त्र थियो । उनका बाजे सेम्योन सोभियत लाल सैनिक थिए । सेम्योनका पिता र तीन दाजुभाइको हत्या जर्मन यातनागृहमा भएको हो । उनीहरूको घर जर्मन सैनिकले जलाइदिएको थियो, किनभने उनीहरू यहुदी थिए । जेलेन्स्कीले मंगोलियाको शहर एर्देनेटको स्कूलबाट शिक्षा हासिल गरे भने रुसी भाषा बोल्दै हुर्किए । पछि अंग्रेजी सिक्न इजरायल जान चाहे तर बुबा अलेक्ज्याण्डर, जो कम्प्युटर साइन्स पढाउने प्रोफेसर थिए, ले अनुमति दिएनन् । पछि कानुनमा स्नातकोत्तर गरे तर कहिल्यै वकालत पेशा अपनाएनन् । बरु १७ वर्षको उमेरमै किभमा सम्पन्न हाँस्यप्रतियोगितामा भाग लिन पुगे । र २१ वर्षदेखि हाँस्य कार्यक्रम गर्दै गए । उनले यो क्षेत्रमा लागेर थुप्रै अवार्ड हात पारेका छन् । उनले पटकथा लेखक ओलेना कियास्कोसित बिहे गरेका छन् । 

युक्रेन रुसपछिको दोश्रो ठूलो युरोपेली मुलुक हो । यो सोभियत संघको संस्थापक गणतन्त्रमध्येको एक हो । त्यतिबेला त्यहाँका कम्युनिष्ट नेता थिए – मिकोला स्क्रिप्निक । सोभियत संघ ताकाका शक्तिशाली नेतामध्ये निकिता ख्रुस्चेभ, लियोनिद ब्रेझनेभ, कोन्स्टान्टिन चेर्नेन्को आदि युक्रेनी नै हुन् । युक्रेन सोभियत संघबाट अलग्ग हुँदा जेलेन्स्की मात्र २३ वर्षका थिए । युक्रेन स्वतन्त्र मुलुक बनेपछि जेलेन्स्की त्यहाँका छैटौँ राष्ट्रपति हुन् । युक्रेन र रुसबीच यो दोश्रो युद्ध हो । पहिला सन् २०१४ मा लड्दा युक्रेनले क्रिमिया प्रायद्वीप गुमाएको थियो । पछिल्लो युद्ध ३ वर्षदेखि चल्दै छ । जेलेन्स्की बेलायत, फ्रान्स, जर्मनीलगायत नेटोका सदस्य राष्ट्रहरूले उक्साएकै भरमा युद्ध लड्दैछन्, देश ध्वस्त भएको र अनाहकमा जनता मरिरहेको हेर्दैछन् । उता रुस पनि आफ्नो हठमा टसमस भइरहेको छैन ।
 

टिप्पणीहरू