भनियोस् न, ती किन केटी मात्रै भए ?
रुसी लालसेना फेब्रुअरी १९४५ मा जर्मनीको सीमामा प्रवेश गरी ओडर नदी तरेर अघि बढ्यो । जर्मन सेना पराजित हुँदै पछि हट्दै गएपछि रुसले राजधानी बर्लिनलाई १६ अप्रिलमा घेरा हाल्यो । र, मे २ मा जर्मनीको संसद भवन राइखस्टागमा सोभियत झण्डा फहराइयो । लालसेना बर्लिन प्रवेश गरेलगत्तै तानाशाह एडोल्फ हिटलर प्रेमिका इभा ब्राउन, प्रिय कुकुर ब्लोन्डी र केही विश्वासपात्र सैनिक नेतालाई लिएर बंकरभित्र लुक्न पुगेका थिए । बंकरमाथिको सडकमा लालसेनाको पदचाप सुनेपछि भित्र भएका सबैले सामुहिक आत्महत्या गर्न पुगे । दुई दिनपछि त रुसी सेनाले बर्लिन कब्जा गरिहाल्यो ।
प्रायः सबै युद्धमा महिलाहरु यौन दुव्र्यवहारको शिकार हुने गरेकै छन् । बलात्कारलाई हतियारका रूपमा प्रयोग गर्ने मामिलामा को पुँजीवादी, को समाजवादी, को राजतन्त्रवादी को गणतन्त्रवादी– सबैको व्यवहारमा एकरूपता देखिन्छ । जर्मनीमाथि विजय प्राप्त गरेकोमा अमेरिका, फ्रान्स, बेलायत र रुसी लालसेनाले उत्सव मनाए र यो उन्मादमा सयौं, हजारौं होइन लाखौं जर्मन महिला यौन प्रताडनाको शिकार बन्न पुगे । राजधानी बर्लिनमाथि सोभियत सेनाको कब्जा भएकाले बर्लिन र वरिपरि शहरका महिलामाथि लालसेनाले र अन्य स्थानका महिलामाथि फ्रान्स, बेलायत र अमेरिकी सेनाले बलात्कार गर्न थाले । दोश्रो विश्वयुद्धमा हिटलर र उनका सेनाले यहुदीहरूमाथि बर्बरतापूर्ण अत्याचार गरेकाले युद्धपश्चात् विजयी सेनाले जर्मन महिलामाथि गरेको अत्याचार छायाँमा पर्न गयो । युद्धकालमा जर्मनीले यहुदी जातिकै समूल नष्ट गर्ने नाउँमा अत्याचार ग¥यो भने जर्मनीको पराजयपश्चात् मित्र राष्ट्रको सैनिकले पनि नाजी जातिको गौरवलाई निमिट्यान्न पार्ने नाउँमा अभियान चलायो ।
भनिन्छ, त्यसबखत २० लाख जर्मन महिला ती राष्ट्रका सैनिकद्वारा बलात्कृत भए, १० लाख महिलालाई रुसी सेनाले सताए । लाखौं महिलाले रुसी सैनिक बर्लिन आइपुग्न लागेको समाचार सुन्नेबित्तिकै घरको छतबाट हामफालेर, विषपान गरेर, वा अन्य उपाय अपनाएर आत्महत्या गरे भने हजारौंले बलात्कृत भइसकेपछि आत्महत्या गरे । युद्धपछि लाखौं जर्मन महिलाले बाबुको ठेगान नभएका ४ लाख बालबालिका जन्माए । यस्तो घटना भियतनाममा पनि घट्यो । युद्धताका अमेरिकी सैन्य जवानले झुटो मायाप्रीति देखाएर यौनसम्बन्ध बनाएका र जबर्जस्ती करणीमा परेका लाखौं भियतनामी महिलाले यसरी नै बाबुको ठेगान नभएका सन्तान जन्माएका थिए । युद्ध समाप्तिपछि भियतनाममा यस्ता बालबालिकाको संख्या २ लाख हाराहारीमा थियो । दशकौंसम्म भियतनाम घुम्न आउने गोरा पर्यटक विमानस्थलमा ओर्लनेबित्तिकै सयौं ती अनाथ बालबालिका तिनलाई ‘बाबु’ ‘बाबु’ भन्दै खुट्टा समाउन जान्थे । भियतनामी सरकारले अमेरिकी सेनाका यौनजन्य व्यवहारलाई विश्वसामु उजागर गर्न यस्तो कार्यक्रमै चलाएको थियो ।
विश्वयुद्ध अन्त्यपश्चात् विजयी राष्ट्रका सेनामा बदलाको भावना तीव्र थियो, किनभने जर्मनीले युद्धताका आफ्ना सैनिकको यौन प्यास मेटाउन युरोपेली थुप्रै मुलुकका महिलालाई सैनिक क्याम्पमा गरेको थियो । जर्मन सैनिकको सबैजसो क्याम्पमा जबर्जस्ती पक्रेर ल्याइएका महिला राख्ने छुट्टै घर हुन्थ्यो । युरोपमा जर्मनीले ‘यौनघर’ खडा गरेजस्तै उसको मित्रराष्ट्र जापानले एसियामा त्यस्तै ‘जनानाघर’ खडा गरेको थियो । जापानीले सबैभन्दा बढी कोरिया र त्यसपछि चीनका महिलालाई त्यस्ता घरमा पु¥याउँथे । जापानले २ लाखभन्दा बढी त कोरियालीलाई मात्र ‘कम्फर्ट गर्ल’ बनाएको थियो । भनिन्छ, युद्धपछि सबैभन्दा बढी बर्लिनका महिला बर्बरताको शिकार बन्न पुगेका थिए । रुसी सरकारले आफ्ना सैनिकलाई आनन्द लिन पूर्ण छुट दिएको थियो । सैनिकमाझ पर्चा नै वितरण गरिएको थियो, जसमा नाजी नश्लको समूल नष्ट पार्न र जर्मन महिलालाई ‘लुटको सम्पत्ति’ सम्झन भनिएको थियो । यसै पर्चालाई आधार बनाएर लालसेनाले जर्मन महिलामाथि अन्धाधुन्द बलात्कार गरे । यसक्रममा ८ वर्षकी बालिकादेखि ८० वर्षीया वृद्धासमेत बलात्कृत भए ।
सर्वसाधारण जर्मन महिलामाथिको बर्बरता सन् १९४५ को अप्रिल २१ देखि नै शुरु भएको थियो । त्यसदिन १५ लाख रुसी सेना, ६ हजार २ सय ५० टैंक र ४१ हजार ६ सय तोपले बर्लिन घेर्न पुगेका थिए, जबकि जर्मन सेनाको संख्या मात्र ९० हजार थियो । युद्धको अन्त्यतिर बर्लिनको जनसंख्या ३० लाख हाराहारी थियो । रुसी लालसेनाको बिशाल संख्या देखेरै नाजी सैनिक हतोत्साह बने जसले गर्दा बाह्रौं दिनमै बर्लिन कब्जा गर्न सहज भयो । जर्मन महिला जति पनि बलात्कृत भए ९० प्रतिशत युद्ध समाप्त भएको ६ महिनाभित्रै भए । सामुहिक बलात्कार र बर्बरताको शिकार बन्न पुगेका लाखौं महिला विभिन्न अस्पतालमा भर्ती भएमध्ये एक लाखले त ज्यानै गुमाए ।
एक जना बलात्कृत महिला मार्था भन्छिन्– एकदिन रुसी सैनिक अस्पतालभित्र प्रवेश गरे र शøयामा पल्टिरहेका बिरामी महिलालाई पनि छाडेनन् । मार्था वृद्ध थिइन्, उनलाई लाग्यो कि सेनाले उनलाई छुँदैनन् होला तर उनी पनि बचिनन् । त्यस्तै फ्रेडा नामकी नर्स आफ्ना साथीमाथि सामुहिक बलात्कार हुन थालेपछि माथिल्लो तलामा भागिन् । एकछिनपछि सैनिकहरू त्यहीँ पुगे । बलात्कृत हुनबाट बच्न उनले झ्यालबाट हामफालेर ज्यान दिइन् । कतिपय जर्मन महिलाले सामूहिक बलात्कारबाट बच्न रुसी सैनिक अधिकृतसित प्रेमको नाटक पनि गरे । जसकारण ती महिलाले धेरैको प्रताडना सहनुपरेन, एक जना शक्तिशाली पुरुषलाई यौन सन्तुष्टि दिँदा पुग्यो । प्रेमको नाटक गर्नेमा मार्ता हिलर्स पनि थिइन् । उनी पनि १० जनाद्वारा सामूहिक बलात्कारको शिकार बनिसकेकी थिइन् तर पटकपटक यो नारकीय जीवनबाट बच्न एक जना रुसी सैनिक अधिकृतको प्रेमिका बन्न स्विकारिन् । उनले सन् १९५४ मा आफूले भोगेको अत्याचारलाई लिएर पुस्तक नै निकालिन् – अ वुमन इन बर्लिन । तर, उनले सन् २००३ मा मात्र वास्तविक परिचय खोलिन् । उनको पुस्तकमाथि सिनेमा पनि बनिसकेको छ ।
अमेरिकी सेनाले सन् १९४५ को वसन्तमा जर्मनीको बवेरियामा हवाई हमला गरेर त्यहाँको शहर लान्ड्सहुटमाथि कब्जा जमायो । त्यसबखत मार्गो मात्र ४ वर्षकी थिइन् । सैनिकबाट बच्दै उनकी आमा, उनी र एउटी भतिजीलाई लिएर जमिनमुनि बनाइएको तहखानामा लुक्न पुगिन् । बमबारी नरोकिएपछि त्यहाँबाट पनि भागेर चर्चसँगैको एउटा घरमा लुक्न पुगिन् । त्यहाँ अरु पनि महिला थिए । एकछिनपछि सैनिकहरू घरभित्र जबर्जस्ती पसे । सैनिकको संख्या ठूलो थियो । उनीहरूले सबै कोठा चहारे र एउटा कोठामा नाजी सेनाको पोशाक भित्तोमा झुन्ड्याइराखेको देखे । लुगा देखाएर त्यो पोशाक कसको हो र उनी कहाँ छन् भनी सोधे । जवाफ चित्त नबुझेपछि थप आक्रामक बने र महिलालाई शयनकक्षभित्र लिएर गए । यसक्रममा एक जना सैनिकले मार्गोकी आमालाई पलङमा पछारे र लुगा च्याती नांगो पारे । केटाकेटीकै सामुन्ने बलात्कार गरे । उनीपछि अर्को र अर्कोपछि अर्कोले बलात्कार गर्दै गए । उनीहरू त्यत्तिमै सन्तुष्ट भएनन् । बलात्कृत भइसकेकीलाई घिसार्दै बाहिर खेतमा लगे । त्यहाँ पनि सामूहिक बलात्कार गरे । मार्गोकी दिदीमाथि पनि त्यसरी नै बलात्कार गरे । मार्गोले त यो घटनाको जिकिर कहिल्यै गरिनन् तर उनकी पत्रकार छोरी मैक्सेमिलियाने हाइगेलले धेरैपछि यो घटनाको अनुसन्धान गरिन् र लाण्ड्सहुटका महिलामाथि गरिएको अमेरिकी अत्याचारको पर्दाफास गर्दै डकुमेन्ट्री नै बनाइन् ।
त्यस्तै, जर्मन भौतिकशास्त्री गाब्रियल कोपले पनि पुस्तक लेखेकी छन्– वारुम इख ब्लोआइ आइन मेडसेन (म किन केटी मात्र भएँ ?) । रुसी सेनाद्वारा बलात्कृत हुँदा उनी मात्र १५ वर्षकी थिइन् र पटक–पटक बलात्कृत भएकी थिइन् । उनले उक्त पुस्तक सन् १९९२ मा निकालेकी हुन् । एमी डुप्रे पनि अमेरिकी सेनाद्वारा बलात्कृत महिला हुन् । तर, उनी जर्मन नभएर बेलायती थिइन् । १९ वर्षीया उनी बेलायतकै गाउँ मोन्टेरेसमा बलात्कृत भएकी थिइन् १० अगस्त १९४५ मा । अमेरिकी सैनिकको अत्याचारबाट छोरीलाई बचाउन आमाले आफ्नो शरीर सेनालाई सुम्पेकी थिइन् । सैनिकले उनकी आमालाई एकैदिनमा ४ पटकसम्म सामूहिक बलात्कार गरेका थिए । पछि ती सैनिकले उनलाई पनि छाडेनन् । उनी पनि पटक–पटक बलात्कारको शिकार बनिन् ।
टिप्पणीहरू