नत्र किन भनिन्थ्यो– प्रेम अन्धो हुन्छ ?

नत्र किन भनिन्थ्यो– प्रेम अन्धो हुन्छ ?

स्टिफन हकिङको निधन ७ वर्षअगाडि भइसक्यो । विश्वप्रसिद्ध भौतिक शास्त्री, लेखक र क्याम्ब्रिज विश्वविद् उनले भौतिक विज्ञान र ब्रह्माण्ड विज्ञानमा उल्लेखनीय काम गरेका छन् । अल्बर्ट आइन्स्टाइनपछि आधुनिक भौतिक शास्त्रको क्षेत्रमा ठूलो योगदान पुर्‍याउने वैज्ञानिक उनका पुस्तकले सबैलाई विज्ञान बुझ्न मद्दत गर्छ । ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ उनीद्वारा लिखित पुस्तकमध्ये बढी चर्चित र पठनीय पुस्तक हो । पुस्तक ब्रह्माण्डसम्बन्धी पूर्व ज्ञान नभएका र नयाँ विषय जान्न रुचि राख्नेहरूलाई लक्ष्य गरी लेखिएको हो । ४० भाषामा प्रकाशित यो पुस्तक २ करोड ५० लाखभन्दा बढी प्रति बिक्री भइसकेको छ । उनले व्यावहारिक गणित र सैद्धान्तिक भौतिकशास्त्र (सामान्य सापेक्षता र ब्रह्माण्ड विज्ञान) मा विद्यावारिधि गरेका थिए । यो सफलता २४ वर्षकै उमेरमा प्राप्त भएको थियो ।

विद्यावारिधि हासिल गर्नुअगावै २१ वर्षको उमेरमा मोटर न्युरोन रोगको शिकार बने । विस्तारै पक्षघात भएर बोली नै रोकियो । यसपछि संवाद शुरु गरे । शुरुमा ह्यांण्डहेल्ड स्विच उपयोग गरेर र पछि एउटा गालाको मांशपेसीलाई उपयोग गरेर । यो शारीरिक असहजता आजीवन भोगे । ह्विलचेयरमा बसेरै जिन्दगी बिताए । यो यस्तो रोगको समूह हो जसले मेरुदण्ड र मस्तिष्कमा मोटर स्नायुहरूको कार्य गुमाउँछ । 

स्टिफन सन् १९६१ मा स्केटिङ खेल्दै थिए, अचानक लड्न पुगे । फ्रान्कले छोरोलाई अस्पताल लगे । चिकित्सकले ठ्याक्कै रोग पत्ता लगाउन सकेनन् । अस्वस्थताका कारण त्यो सालको क्रिसमस पर्व स्टिफनले उत्साहका साथ मनाउन पाएनन् । नयाँ वर्ष नजिकिँदै थियो । अघिल्लो दिन साथी डायनाले दिएको निम्तो स्वीकारेर उत्सवमा सामेल हुन पुगे । त्यहाँ जेन वाइल्ड पनि थिइन् । वेष्टफिल्ड कलेजकी छात्रा । लजालू स्वभावकी । स्टिफनलाई यो स्वभाव निकै मन पर्‍यो र परिचय गर्न गए । शुरुमा जेनले लजाउँदै स्टिफनका प्रश्नको छोटोछोटो जवाफ दिइन् । पछि उनले पनि स्टिफनको ठट्यौली गर्ने बानीलाई मन पराइन् र गफिन थालिन् । निकै लामो कुराकानीपश्चात् मिल्ने साथी बने । एक–अर्काको ठेगाना साँटेर दुबैजना विदा भए ।     

एक सातापछि जेनले जनवरी ८ मा हुने एउटा पार्टीको निम्तो प्राप्त गरिन् । स्टिफनको २१ औं जन्मदिनको निम्ति राखिएको पार्टी भए पनि निम्तोपत्रमा यसबारे उल्लेख थिएन । जेन पार्टीमा सरिक हुँदा स्टिफन कलेजका मित्रहरूद्वारा घेरिएका थिए । यसर्थ अरुतिर खासै ध्यान दिन पाएनन् । जेनले वयस्क मान्छेबीच आफूलाई बिरानो महसुस गरिन् । उता, स्टिफनले सोही दिन ठूलो चुनौतीको सामना गर्नुपर्‍यो । जन्मदिन सिद्धिनेबित्तिकै सेन्ट बेन्टस् हस्पिटलमा भर्ना भए, जहाँ बहिनी मेरी डाक्टरको तालिम लिँदै थिइन् । उनी त्यहाँ दुई हप्ता बसे । उनलाई एएलएस (एमियोट्रोफिक लेटरल स्क्लेरोसिस) अर्थात उपचार नै नहुने स्नायु प्रणालीसम्बन्धी रोग लागेको पत्तो लाग्यो । यो रोगकै कारण आवाज अस्पष्ट हुँदै गएको, रिंगटा लाग्ने गरेको र अल्छीपना बढेको रहेछ ।

डाक्टरले जीवन अन्त्यतर्फ अग्रसर भइरहेको खबर सुनाए । ‘मलाई नै किन यस्तो भएको होला ? मैले किन यस्तो डरलाग्दो मृत्यु मर्नुपर्ने ? उनी मनमनै सोच्थे । आमासँगै अस्पताल पुगेकी जेनले यो कुरा सुनेपछि स्टिफनप्रति दया, माया, करुणा सबै एकैपटक उर्लियो । उनले स्टिफनलाई प्रेम गर्न थालेकी थिइन् । सपनाको राजकुमारलाई त्यस्तो साह्रो रोग लागेको कुराले निकै दुःखी भइन् । इग्लेटन त्यस्तो ठिटोप्रति छोरीले देखाएको अगाध स्नेह देखेर हैरान थिइन् । यसर्थ स्टिफनको सुस्वास्थ्यका लागि प्रार्थना गर्न छोरीलाई हौस्याउन थालिन् । 

अस्पतालको बसाइपछि जेन र स्टिफन रेल चढेर क्याम्ब्रिज फर्कंदै थिए । यो उनीहरूको दोश्रो भेट थियो । जेनले स्टिफनलाई लागेको रोगबारे धेर लामो कुराकानी गरिन् । उनीहरू गफमा भुल्दै कलेज पुगे । छुट्टिने बेलमा ‘डेट’ को लागि समय पनि मिलाए । जेन ४ महिनाका लागि स्पेन जान लागेकी थिइन् अर्थात अबको ४ महिनासम्म स्टिफनसित भेट नहुने स्थिति थियो तर स्वास्थ्यको कारण निर्धारित डेटिङ भएन, उनी निकै दुःखी बनिन् । कलेजमा हुने ‘मे बल’ (नाच कार्यक्रम) का लागि उनलाई लिन स्टिफन घरै पुगे । दुबैले उक्त अवसरको भरपुर आनन्द उठाए । जेन स्पेन पुगिन् । भ्रमणको दौरान गहिरिएर सोचिन् । पटकपटक बिछोड बोध गरिन् । उनी अनुभवहरू साँट्ने साथीको खोजीमा थिइन् । उनलाई लागिसकेको थियो कि अनुभव सुन्ने स्टिफनबाहेक अरु कोही हुनै सक्दैन । अनि निधो गरिन्– रोगी स्टिफनलाई म छोटो खुशी भए पनि दिन्छु । 

जेन लण्डन फर्किंदा स्टिफन अलि बढी नै अस्वस्थ भइसकेका थिए, त्यसैले नोभेम्बरसम्म उनीहरूबीच सम्पर्कै भएन । जेन दुःखी मनले पढाइमा लागिन् । नोभेम्बरमा जेनले स्टिफनबाट नाटक हेर्न जाने निम्तो पाइन् । त्यो बेलासम्म स्टिफनमा स्पष्ट शारीरिक परिवर्तन आइसकेको थियो । हिँड्न नसक्ने र आवाज अस्पष्ट । यसको बावजूद उनी साथीहरूसित ब्रम्हाण्ड विज्ञानको अनुसन्धानमा व्यस्त बने । समयको सदुपयोग गर्दै बहिनी फिलिपियासँगै जेन अस्ट्रिया घुम्न निस्किइन् । भियनामा रहँदा स्टिफनले पठाएको पोष्ट कार्ड पाएर निकै खुशी भइन् । स्वदेश फर्केपछि भेटघाट बाक्लिन थाल्यो । यसैबीच स्टिफनले बिहेको प्रस्ताव राखे । जेनले सहर्ष स्विकारिन् । स्टिफनले जेनकी बुबाआमासित पनि कुरा गरे । उनीहरू जेनको पढाइ रोक्न नपाइने शर्तमा छोरीको बिहे गरिदिन राजी भए । र, सन् १९६५ को जुलाई १४ का दिन बिहे सम्पन्न भयो । त्यसबेला स्टिफन २४ र जेन २१ का थिए । उनीहरूका २ छोरा र १ छोरी भए ।

जेन सन् १९७९ मा तेश्रो पटक गर्भवती हुँदा स्टिफन लेख्न असमर्थ बनिसकेका थिए । दिनहुँ भिटामिन ‘बी’ को सुई लिन्थे । सुई दिन २८ वर्षकी नर्स एलाइन मेसोन घरमै पुग्थिन् । उनी बिबाहिता र दुई सन्तानको आमा थिइन् । जेनलाई दुइटा बालक र बिकलांग लोग्ने सम्हाल्न निकै कठिन भइरहेको थियो । यौन सम्बन्धमा समस्या आइसकेको थियो । शारीरिक सम्बन्ध राख्दा यसले स्टिफनलाई मृत्युको मुखसम्म पुर्‍याउँछ कि भन्ने डरका कारण इच्छा हुँदाहुँदै जेनले सम्बन्ध राख्न छाडिसकेकी थिइन् । स्टिफन आफूलाई घिसार्नसमेत नसक्ने अवस्थामा पुगिसकेका थिए । अन्त्यमा ह्विलचेयरको सहारा लिन थाले । लुगा लगाउने र फुकाल्ने काम आफैँ गर्छु भनेर ढिपी गर्थे । जेन समय निकालेर राति अध्ययन गर्थिन् ।

नर्स एलाइनले जेनको अनुपस्थितिमा स्टिफनसँग सम्बन्ध राख्न थालिसकेकी थिइन् । त्यसो त जेनले पनि जोनाथन जोन्ससित सम्बन्ध गाँसिसकेकी थिइन् । यस्तो अवस्थामा जेन एलाइनलाई र स्टिफन जोनाथनलाई स्विकार्न तयार भए । लोग्ने–स्वास्नीबीच कलह त शुरु भइसकेकै थियो । कलहको एउटा बिउ धर्म पनि थियो । जेन इसाइ थिइन् भने स्टिफन नास्तिक । भन्थे, ‘संसार भगवानले बनाएको भए भगवानलाई चाहिँ कसले बनायो त ?’

अन्त्यमा ३० वर्षको वैवाहिक जीवनपछि जेन र स्टिफन अलग्ग भए । स्टिफनले जेनसित अलग्गिएलगत्तै एलाइनसँग बिहे गरे भने जेनले २ वर्षपछि सन् १९९७ मा जोनाथनसँग घरजम गरिन् । स्टिफन र एलाइनले ११ वर्ष सँगै बिताए तर छोराछोरी जन्माएनन् । एलाइन जेन जस्ती सोझी थिइनन् । स्टिफन दिनहुँ उनको कुटाइ खान्थे । स्टिफनको शरीरको निलडाम चिकित्सकहरूले देखेका थिए तर स्टिफन एलाइनलाई दोष दिँदैनथे । एलाइनसित सम्बन्ध बिच्छेदपछि स्टिफन र जेनको सम्बन्ध फेरि बन्यो । जेन स्टिफनको हेरचाहमा लाग्थिन् । जेनले स्टिफनसित बिताएका दिनको सम्झना गरी पुस्तक पनि लेखेकी छन्, पुस्तकमाथि टेलिसिरियल बनिसकेको छ । स्टिफनको जीवनीमा आधारित सिनेमा पनि छ– द थ्योरी अफ एभ्रिथिङ । रोचक कुरा, स्टेफनको निधनलगत्तै इङ्लिस नाइट क्लबका मालिक पिटर स्ट्रिङफेलोले एउटा फोटो सार्वजनिक गर्दै खुलासा गरेका थिए– बिकलांगताको बावजुद स्टिफन आफ्ना नर्स र सहयोगीहरूसंग नांगो नाच हेर्न क्लब पुग्थे ।
 

टिप्पणीहरू