प्रहरीले अपरेशन चलाएको भन्दै सरकारविरुद्ध संघर्षको चेतावनी

प्रहरीले अपरेशन चलाएको भन्दै सरकारविरुद्ध संघर्षको चेतावनी

नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले सुशीला कार्की नेतृत्वको सरकारले आफ्नो पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरिरहेका भन्दै आपत्ति जनाएका छन् ।

कपिलवस्तु र अर्घाखाँचीमा रहेको पार्टीको श्रम शिविरमा प्रहरीले अपरेशन गरेर आफ्नो पार्टीलाई निर्वाचनमा नभई युद्धमा होम्ने चेष्टा गरिरहेको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् । सो ठाउँमा रहेका प्रहरी तत्काल फिर्ता नबोलाए सरकारविरुद्ध कडा संघर्षमा होमिने विप्लवले चेतावनीसमेत दिए ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आक्रोशित हुँदै प्रश्न गरे,‘हाम्रो केन्द्रीय कम्युनमा प्रहरीहरूको अपरेशन भयो । हामी सुशीलालाई यहीबाट थ्रेट गर्न चाहन्छौँ–राम्रोसँग सुन–तिमीले चुनाव गर्न चाहेको हौ कि युद्ध गर्न चाहेका हौ ?’

सो ठाउँबाट प्रहरी फिर्ता बोलाउने र अपरेशन गर्नु गलत थियो भनी माफी नमागे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि विप्लवले दिएका छन् ।

‘हामी त दर्ता गरेर सबै मूल्य मान्यता पालना गरेर निर्वाचनमा जान खोज्दैछौँ नि । यतापट्टीको हाम्रो इमान्दारिता, स्वाभिमानता, साम्राज्यवादीहरूसँगको हाम्रो लडाईंलाई, यहाँको दलालसँगको हाम्रो लडाईंलाई घुमाउरो तरिकाले सोचेर हिजोको रोल्पामा रोमियो अपरेसन गरेर जनयुद्ध जन्माएको जस्तो यदि तिमीले अर्को परिकल्पना गरेका छौ । र हाम्रो केन्द्रीय कम्युनबाट तुरन्तै पुलिस फिर्ता गरेनौ र त्यहाँ भएका सबै गल्तीमा माफी मागेनौ भने मूल्य चर्को पर्छ भन्ने हामी भन्न चाहन्छौँ’, उनले थपे । 

सो पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्माले पनि यस्तो कार्यले देशलाई अशान्तितिर धकेल्ने चेतावनी दिएका छन् । 

सो पार्टीका अनुसार अर्घाखाँचीको सितगङ्गा–११, मा अवस्थित कम्युन र सर्वसाधारण जनताको घरमा हिजो प्रहरीले छापा मारेको थियो । यसबाट त्यहाँ आंतक मच्चिएको जनाउँदै माओवादीले घोर भर्त्सना गरेको छ । 

‘सरकारले एकातिर शान्तिपूर्ण चुनावको वातावरण बनाउने प्रचार गर्ने अर्कोतिर माओवादीका उत्पादन केन्द्र र सर्वसाधारण जनताका घरमा छापा मार्ने कार्यले राज्य शान्तिपूर्ण निकास चाहदैँन बरु देशलाई अशान्तितिर धकेल्न चाहन्छ भन्ने पुष्टि भएको छ,’ विश्वकर्माले भनेका छन् । 

प्रहरीको छापामारी एवं दमनको निष्पक्ष छानबिन गर्न मानवअधिकारवादीलाई उनले आग्रहसमेत गरे ।

टिप्पणीहरू