एमालेमा अब रोकिएला त धाँजा फाट्ने क्रम ?
‘हामी आत्मसमर्पण गर्दैनौं, विभाजनमा जाँदैनौं । पार्टी र नेतृत्वलाई नीति र विधिभित्र फर्काउने अभियानलाई निरन्तरता दिने छौं,’ यस्तो प्रतिबद्धता राजधानीको माइतीघरमा भेला भएका एमाले नेता तथा कार्यकर्ताले व्यक्त गरेका हुन् । शनिबार मध्यान्ह भेला भएका ६१ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको सामुन्ने अध्यक्षमा पराजित पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिवमा झिनो मतले हारेका पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डेले भनेका थिए, ‘११ औं महाधिवेशनको निर्मम समीक्षा गर्न बाँकी छ । प्रतिनिधि छनौटको अवस्थादेखि मतदानसम्मका सबै विषयमा छलफल गर्न बाँकी छ।’
कार्की ब्याङ्क्वेटमा आयोजित उक्त भेलामा अध्यक्ष पदका प्रतिस्पर्धी पोखरेलको टिमबाट जितेका सबै पदाधिकारी र केन्द्रीय सदस्य उपस्थित थिए । १२ जनामध्ये २ जना पदाधिकारी छन् भने १० जना सदस्यमा विजयी भएका छन् । उपाध्यक्षमा गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराई र सदस्यहरुमा कृष्णभक्त पोखरेल, कर्णबहादुर थापा,गोकुल बाँस्कोटा,ईश्वर पोखरेल,रचना खड्का,बिन्दा पाण्डे,ठाकुर गैह्रे चिनिएका पात्र हुन् । कृष्णभक्तलाई ओली समूहले पनि आफ्नो सूचीमा समावेश गरेको थियो ।
पोखरेल र सुरेन्द्र पाण्डेले सम्बोधनका क्रममा महाधिवेशनपछि पार्टीको जिम्मेवारीमा नरहेकाले आफूहरु घरमा सीमित हुने कुनै भ्रम नपाल्न आग्रह गरेका थिए । आगामी दिनमा मुलुकभरका नेता तथा कार्यकर्ता र सर्वसाधारणलाई सुसूचित गराउने अभियानमा निरन्तर सक्रिय हुने दुबै जनाले प्रतिबद्धता जनाए ।

उता महाधिवेशनमा आफूसँग प्रतिस्पर्धा गर्न चाहने समूहका कसैलाई पनि पदाधिकारीसँगै केन्द्रीय सदस्यमा समेत हराउनुपर्ने अडानमा अध्यक्ष ओली पहिलेदेखि दृढ थिए । उनले पोखरेल समूहबाट पदाधिकारीमा उठेका सबैलाई केन्द्रीय सदस्यमासमेत कुनै हालतमा आउन नदिन निर्देशन दिएको अर्को पक्षको भनाइ छ । ‘पदाधिकारीसँगै केन्द्रीय सदस्यको हैसियतबाट पनि हराउनुपर्ने’ ओलीको अडान विपरित पोखरेलको सूचीमा भने ओली खेमाका पदाधिकारीहरुलाई केन्द्रीय सदस्यमा चयन गर्नुपर्ने भन्दै नाम समेटिएको थियो ।
पोखरेल समूहले कम से कम पदाधिकारीमा हारे पनि निश्चित नेताहरुलाई कम्तीमा केन्द्रीय सदस्यमा ल्याउनैपर्ने उद्देश्य राखेको थियो । ‘महाधिवेशनपछि पार्टीलाई एकताबद्ध बनाएर लैजान हामीले त्यो पवित्र भावना राखेका हौं । यसो गरिँदा मात्रै दुबै समूहका महत्वपूर्ण नेताहरुलाई राखेर पार्टीलाई चुस्त रुपमा अघि बढाउन सकिन्छ भन्ने हाम्रो मान्यता कायम छ,’ माइतीघर भेलामा उपस्थित एक नेताले बताए ।
"बोली र व्यवहार सँधै फरक हुँदै आएकाले एकताको सट्टा विग्रहलाई बल पुग्ने अवस्था स्थायी रुपमा कायम छ । माधव-झलनाथ खेमा अलग्गिइसक्दा पनि नयाँ इतर खेमा देखा पर्नु त्यसको नमूना हो भनिन्छ ।"
तर संस्थापन पक्षले प्रतिस्पर्धी समूहलाई बाहिरै पार्ने उद्देश्य राखेको अहिलेको अवस्थामा एकताको भावना सञ्चार हुनेमा ढुक्क हुने वातावरण बन्न बाँकी नै छ । अध्यक्ष ओलीको बोली र व्यवहार सँधै फरक हुँदै आएकाले एकताको सट्टा विग्रहलाई बल पुग्ने अवस्था स्थायी रुपमा कायम छ । माधव-झलनाथ खेमा अलग्गिइसक्दा पनि नयाँ इतर खेमा देखा पर्नु त्यसको नमूना हो भनिन्छ ।
उनै नेताले भने, ‘यसअघिका हरेक बैठकमा एउटै कुरा दोहोर्याइएको,आत्म प्रशंसामा रमाएको बाहेक केही सुनिएन । उहाँका बोली र व्यवहार कुनै पनि भविष्यलक्षित नभएकाले नयाँ पुस्ता आकर्षित हुन सकेन ।’
तत्कालीन मालेकालीन अवस्थाको चर्चा गर्ने क्रममा उनले २०३० सालमा रौतहटमा पक्राउ परेका ओली २०४४ मा छुटेको सन्दर्भलाई अहिलेको अवस्थासँग जोडेका छन् । ‘त्यो डेढ दशक पार्टी निर्माणको लागि सर्वाधिक महत्वको समय थियो । देशव्यापी रुपमा त्यसबेला मुलुकभर मालेको विस्तार भयो । तर उहाँले जेलमा पढेर समय बिताउनुभयो ।’
त्यतिबेला संगठन निर्माण नगरेकाले पछिल्लो एक दशक संगठन र पार्टी विधि,पद्धती र विधान बाहिर जाँदा उहाँलाई कुनै पीडा नभएको ठहर इतर समूहका नेताहरुको छ । भन्छन्, ‘संगठन निर्माणमा यातना भोगेका नेताहरुलाई अहिले पीडा हुनुको प्रमुख कारण पनि त्यही हो । तर, उहाँलाई के थाहा त्यस्तो कुरो ! खुकुरीको प्रहार अचानोलाई मात्रै थाहा हुन्छ, पाकिसकेको खानेकुरा पस्कने र खाने डाइनिंग टेबललाई कसरी थाहा हुन्छ ?"
टिप्पणीहरू