ठेकेदारलाई पनि के भन्नु र खै !

ठेकेदारलाई पनि के भन्नु र खै !

स्वदेशी कम्पनीले लिएको निर्माणको ठेक्कापट्टामा चरम ढिलासुस्ती भइरहँदा विदेशी कम्पनीको ठेक्काको गति पनि उस्तै पाइएको छ । 

जसको पछिल्लो नमुना काभ्रेको पनौतीस्थित नेपाल पुलिस एकेडेमी हो । यो प्रहरीतर्फको सबैभन्दा ठूलो परियोजनामध्ये एक हो । सन् २०२२ जुन २७ मा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र भारतीय कम्पनी अहलुवालिया कन्स्ट्रक्सन लिमिटेड–रोशन कन्स्ट्रक्सन प्रालिबीच सम्झौता भएको थियो । जसमा एकेडेमीको तर्फबाट तत्कालीन एआईजी मुकुन्दराज आचार्य र डिएसपी रञ्जनकुमार दाहाल, अहलुवालियाको तर्फबाट चिफ अपरेटिङ अफिसर अरुण सहाय र रोशन कन्ट्रक्सनको तर्फबाट अध्यक्ष सञ्जयकुमार गुप्ताले हस्ताक्षर गरेका थिए । 

उक्त निर्माणको कन्ट्रयाक्ट नम्बर एनपिए–आईसीबी–ईपीसी–०१–२०२१–२२ रहेको छ । १० अर्ब एक करोड ५१ लाख एक रूपैयाँमा ठेक्का सम्झौता भएमध्ये एक हजार ९५ दिन अर्थात तीन वर्षभित्र निर्माण सकाउने उल्लेख छ तर ठेक्का सम्झौताको म्याद सकिएको ६ महिना बितिसक्दापनि निर्माणले रफ्तार लिन सकेको छैन । अहिलेसम्म आधा पनि निर्माण सम्पन्न भएको छैन । निर्माणमा ढिलाइ भएपछि एसएनआर कन्स्ट्रक्सन पनि जोडिएको थियो । तर, केही कुरा नमिल्दा पछि हट्यो ।

निर्माण सम्पन्न गर्नका लागि पछिल्लोपटक डिसेम्बर ८ सम्मको म्याद थपिएको छ । त्यो पनि सकिन लाग्यो । प्रतिष्ठानका निर्देशक डिआईजी दिपेन्द्र पन्तले एकेडेमी निर्माणकै क्रममा रहेको जानकारी दिए । जनआस्थासँग भने, ‘म्याद सकिसकेको छ तर निर्माणकै क्रममा छ । म्याद थप गरिएको छ ।’

उक्त परियोजना हेरिरहेका प्रहरी कर्मचारी राजु पाण्डेले निर्माण ठ्याक्कै कति प्रतिशत सकियो भनेर भन्न नसकिने बताए । उनका अनुसार कुनै काम ९० प्रतिशत सकिएको छ भने कुनै आधा मात्रै भएको छ । प्रहरी एकेडेमी मात्र नभएर विदेशी कम्पनीले ठेक्का लिएको अन्य धेरै परियोजना अलपत्र अवस्थामा छ । जलविद्युत, सडक, सरकारी भवन, अस्पताल, पुल, सुरुङमार्गलगायत थुप्रै परियोजनाको ठेक्का विदेशी कम्पनीले लिएको छ । एकैचोटि दर्जनौं ठेक्का लिने अनि आधा बनाएर छोडिदिने प्रवृत्ति विदेशी ठेकेदार कम्पनीहरूको पनि छ । समयमै निर्माण नसकाउने, गुणस्तरहीन काम गर्ने, सम्झौताको पालना नगर्नेलाई सरकारले सार्वजनिक खरिद ऐनअनुसार धमाधम कालोसूचीमा राखिरहेको छ ।
 

टिप्पणीहरू