रक्सी बेचेकै हुन् त राजदूतहरुले ?

रक्सी बेचेकै हुन् त राजदूतहरुले ?

मंसिर २९ देखि पुस ४ गतेसम्म कतारको राजधानी दोहामा हुने भ्रष्टाचारविरुद्ध र सुशासनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सिओएस्पी–११ मा पहिलेभन्दा फरक तरिकाले नेपालबाट प्रतिनिधित्व हुने भएको छ । विगतमा अख्तियार आयुक्त र कर्मचारीको सहभागिता हुने गरेकोमा यसपटक प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्की र सहसचिव भीष्मराज भुसाललाई पठाउने सरकारी तयारी छ । अर्को रोचक त के छ भने कतारबाट आएको पत्रमै एक जना प्रतिनिधिचाहिँ ३५ वर्षभन्दा कम उमेरको हुनुपर्ने व्यहोरा उल्लेख छ । त्यसैले सहसचिव ढुङ्गाना युवाको रूपमा जान लागेका हुन् । 

स्रोतका अनुसार सरकारले अख्तियारबाट एक जना र प्रधानमन्त्री कार्यालयबाट एक जना पठाउने भनेर बीचको बाटो लिन खोजेको थियो । तर, सरकारको चाहना बुझेपछि सबै त्यतैबाट गर्नुस् भन्ने जवाफ गयो । नेपालले सुशासनसँग सम्बन्धित धेरै कानुन बनाउनुपर्ने थियो । यससम्बन्धी प्रतिबद्धता ०७९ सालमै जनाइसकेको पनि हो । तर ती कुनै काम अहिलेसम्म भएको छैन । अख्तियारका अधिकारीहरू प्रधानमन्त्री कार्यालयले अरुबेला आफू जिम्मेवारी प्राप्त भएका कारण गर्नुपर्ने काममा चासो नदिने तर विदेश जाने बेलामा भने अगाडि सर्ने प्रवृत्तिसँग रुष्ट छन् । 

सम्मेलनमा जाने टोली प्रमुखभन्दा सहयोगीका रुपमा खटिने व्यक्ति निकै चलाख हुनुपर्छ । तर, अहिलेसम्म नेपालबाट बन्ने प्रतिनिधिमण्डलमा त्यस्ता व्यक्तिको अभाव देखिएको यसअघि सम्मेलनमा सहभागीहरूले बताएका छन् । उता, भर्खरै परराष्ट्र मन्त्रालयले विश्वभरि छरिएर रहेका आफ्ना नियोगहरूलाई मदिरा खरिदमा भएको खर्च विवरण पेश गर्न निर्देशन दिएको छ । समाचार स्रोतका अनुसार विशेषगरी मुस्लिम मुलुकहरू साउदी अरब, कुवेत, पाकिस्तानतिरका कूटनीतिज्ञले रक्सी खरिद गर्ने र बाहिर महँगोमा बेच्ने गरेको उजुरीका आधारमा यस्तो पत्राचार गरिएको हो । त्यस्तै, एउटा नियोगमा काम गरेर फर्किएका एक जना अधिकारीले बताएअनुसार मुस्लिम राष्ट्रहरूमा रक्सी व्यापारबाट निकै ठूलो आम्दानी हुने गर्छ । ड्युटी फ्रीमा खरिद गरेको रकमभन्दा तीन÷चार गुना बढी मूल्यमा रक्सी बेच्न सकिने उनले बताए । 

समाचार स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले साउनदेखि कात्तिक मसान्तसम्म कति परिमाणको मदिरा किनियो भनी सोधेको सम्भवतः यो पहिलोपटक हो । 

(जनआस्था साप्ताहिकको मंसिर १० गते बुधबारको अंकमा प्रकाशित) 

टिप्पणीहरू