विष्णु पौडेललाई दोस्रो वामदेव बनाइँदै

विष्णु पौडेललाई दोस्रो वामदेव बनाइँदै

एमाले कार्यकर्तामा फेरि वामदेव गौतमको चर्चा शुरु भएको छ । लुम्बिनी प्रदेश हुँदै देशभर सुशुप्त रूपमा ‘वामदेव गौतमः दोस्रो भाग’को चर्चा चुलिएको हो । एमालेको  शक्ति संघर्षमा जहिले पनि नेता–कार्यकर्ताको टाउको देखाउने तर गुट चलाउन नसक्ने पात्रका रुपमा वामदेव गौतमलाई लिइन्थ्यो । उपाध्यक्ष विष्णु पौडेलको पनि त्यही रुपमा उदय भएको बताउन थालिएको छ । 

महाधिवेशन प्रतिनिधि चयन गर्र्ने अघिल्लो दिन मंसिर १२ गते उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सल्लाहमै ओली रहेको सन्देश प्रवाह गरेका थिए । पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूसँग समेत सल्लाह नगरी गुण्डुतिर हाम्फाल्दा केही नेता रिसाएका छन् । र, सम्झेका छन् वामदेव गौतमलाई । 

‘महासचिव पोखरेलको जिल्लामा समेत पौडेल निकटहरूलाई कसरी प्रतिनिधि बनाएर ल्याउने भनेर हामी खटिएका थियौं तर एका एक अर्कै सन्देश आयो ।’ एक केन्द्रीय सदस्य भन्छन्, ‘पहिला हामीलाई उरालेर पार्टी यसरी चल्दैन, पुनर्गठन हुनुपर्छ भनी बोल्न लगाउनुभयो तर अहिले आफैँ ओलीसँग सम्झौता गर्नुभयो, यो हदसम्मको धोका भयो ।’ उनका अनुसार दाङमा सुरेश गौतम लगायतलाई जबरजस्ती उम्मेदवार बन्नबाटै रोकिनुको कारण १२ गतेको सम्झौता हो । उनका अनुसार त्यो सम्झौताको सन्देश तल नगएको भए दाङ्गबाट पौडेल निकटहरूको बहुमत आउन सक्थ्यो । 

‘विद्या भण्डारीको पक्षमा खुलेर लागेका युवा नेता सुमन पुरीलाई रुपन्देहीबाट जिताएर ल्याउनमा समेत यही घटनाले काम गरेको छ ।’ रुपन्देहीमा खटिएका एक नेता भन्छन्, ‘पहिला महाधिवेशन प्रतिनिधि चयन गरौं अनि सल्लाह गरौँला भनेका थियौँ, एकाएक पदीय बार्गेनिङको खबर आयो, विश्वास नलागेर सोध्दा काठमाडौं आउनुस् अनि सल्लाह गराँैला भन्नुभयो ।’  उनका अनुसार विष्णु पौडेलको भूमिका मैदानमा लड्न सिपाही पठाएर माथि सम्झौता गर्ने कमाण्डरको जस्तो भयो । 

‘ओलीकहाँ गएर मसँग यति नेता–कार्यकर्ता छन् भन्ने र आफूले मात्र लाभ लिने काम गर्नुभयो ।’ एक पदाधिकारी भन्छन्, ‘निकटहरूलाई ओलीको विकल्प छैन भनेरसमेत दवाव पो दिन थाल्नुभयो । त्यसपछि नै हो सचिव पद्मा अर्यालले ओलीको पक्षमा हुने गरी बोली फेरेको ।’ उनका अनुसार, दुवै टिमले प्यानल नबनाउने बेलासम्म नेतृत्वबारे नबोल्ने बताएकी अर्याल एकाएक ओलीतिर आक्रामक बन्नुका पछाडि विष्णु पौडेलको हात छ । 

यता र उता गरेर व्यापारीजस्तो लाभको पद लिइरहेको आरोप पौडेलमाथि लाग्दै आएको छ । ‘चुनाव नै हार्नु भनेर त कसरी भन्ने तर उहाँले दिनुभएको धोकाले हाललाई मर्माहत बनाएको छ ।’ पौडेल निकट गण्डकीका एक नेता भन्छन्, ‘के आपत आइलागेछ, एकदिन पनि कुर्न नसक्ने ?’ असोज २४ गतेको सचिवालय बैठकमा पार्टी पुनर्गठन हुनुपर्ने भनी पौडेलले प्रष्ट बोलेका थिए । असोज २९ गतेको केन्द्रीय कमिटी बैठक शुरु हुनुअघि पनि नेताहरूलाई पुनर्गठनका पक्षमा धारणा राख्न लगाए । 

कात्तिक २७ गते दिउँसो साढे दुईदेखि साढे पाँच बजेसम्म पौडेलले ओली निवास गुण्डुमा गुप्त छलफल गरेका थिए । खाना खाएर सुतेका ओली उपाध्यक्ष विष्णु पौडेल भेट्न आएपछि उठे । ओलीसँग एक्लै तीन घण्टा छलफल गरेपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू पद्मा अर्याल, छविलाल विश्वकर्मा र रघुवीर महासेठसँग कुरा चलाए । तीनै जना सचिवले नेतृत्वका विषयमा अहिले बोल्दा हतार हुन्छ भनेपछि केही हच्किए पनि । जागरण सभा बुटवलमा बोल्दासमेत प्रष्ट खुलेनन् । बरु पृथ्वीसुब्बा गुरुङ गृहजिल्ला लमजुङमा ओलीको पक्षमा बोले । ‘पृथ्वी दाई किन एकाएक ओलीको पक्षमा बोल्नु भयो भनेर साथीहरूले सोधखोज गरे, मलाई उहाँको बोली मन परेन र लामो म्यासेज नै लेखेँ ।’ एक केन्द्रीय सदस्य भन्छन,‘संसदीय दलको बैठक हुँदासमेत यो विषयमा नेताहरू विच कानेखुसी भएको थियो ।’

नेताहरूका अनुसार पौडेल र गुरुङले सल्लाह गरेरै ओलीसँग पदको माग गरेका छन् । पौडेलनिवास भैँसेपाटीमा मंसिर १२ गते बिहान दुई जना बसेका थिए । साझा धारणा लिएर त्यहाँबाट ओलीनिवास गुण्डु पुगे । एक घण्टा छलफल गरेपछि वरिष्ठ उपाध्यक्ष र महासचिवमा दुई जनालाई पक्का गरेको सन्देश विस्तारै फैलिएको छ । ‘रिसाएका साथीहरूलाई फकाउनका लागि हाम्रै हातमा पार्टी आउँछ, किन चिन्ता लिनुहुन्छ समेत भन्न थाल्नुभएको छ ।’ एक नेताले भने, ‘आफ्नो पद कन्फर्म गर्नुभयो तर उहाँहरू भनेर पछि लागेकाहरूको के हुन्छ, केही भन्नुभएको छैन, यो त उही वामदेव पारा भयो ।’ मंसिर १५ गते प्रेस चौतारीको एक कार्यक्रममा गुरुङले अब महासचिवको उम्मेदवार हुने बताए । ओलीसँग कुरा नभएको भए गुरुङले त्यस्तो घोषणा गर्ने थिएनन् ।

‘विधान महाधिवेशनबाट हटाइएको वरिष्ठ उपाध्यक्ष कायम राख्ने र सो पदमा विष्णु पौडेल रहने गरी ओलीले वचन दिएपछि उहाँ खुल्नुभएको हो ।’ एमालेका एक सचिव भन्छन्, ‘ईश्वर पोखरेललाई नै वरिष्ठ उपाध्यक्ष मानेर जाने हो भने सर्वसम्मत हुन्छ भन्ने प्रस्ताव राखिएको तर यसमा ‘तपाईंहरू बिचौलिया हो ?’ भनेर ओलीले हप्काएको गुरुङको भनाइ छ । त्यसपछि दुवै जनाले वरिष्ठ उपाध्यक्षमा विष्णु पौडेल हुनुपर्ने अडान राखेको बताइन्छ । 
 

टिप्पणीहरू