कमरेड पढालेखाबीच ‘कोतपर्व’

कमरेड पढालेखाबीच ‘कोतपर्व’

‘न पढेका छन्, न लेखेका छन् । के जानेका छन् त भन्दा आइएम विथ केपी ओली । पढ्नुपर्‍यो नि पढ्नुपर्‍यो, कुनचाहिँ बहुदलीय जनवादको स्कूलमा पढ्नुभो ?’ एमाले सचिव योगेश भट्टराईले पार्टीमा हावी हुँदै गएको व्यक्तिकेन्द्रित राजनीतिप्रति २०७८ सालमै यसरी कटाक्ष गरेका थिए । चार वर्षअघि उनले भनेजस्तै हाकाहाकी  होइन भन्न सक्नेहरूलाई एमालेमा कसरी किनाराकृत गरिन्छ भन्ने ताजा दृष्टान्त बनेको छ, बौद्धिक परिषद । परिषद्का अध्यक्षलाई योजनावद्ध ढंगले हराइएको सन्दर्भ हो यो । 

एमालेको एघारौँ महाधिवेशनका लागि प्रतिनिधि छनोटमा देशभर विवाद उत्पन्न हुँदा बौद्धिक परिषद पनि अपवाद रहेन । विधि र पद्धति मिचेर गुटका आधारमा ‘गोजीका मान्छे’ छानिएको भन्दै ठाउँ–ठाउँमा कुटाकुटको अवस्थासमेत निम्तिंदा परिषद् पनि शिकार बन्न पुग्यो । अध्यक्ष ओलीको नेतृत्वमाथि चुनौती दिएकै कारण अध्यक्ष गजेन्द्र थपलिया, महिला उपाध्यक्ष राधा अधिकारी, महासचिव डा. दिपेन्द्र श्रेष्ठलगायत हराइए ।

अध्यक्ष थपलिया लामो समयदेखि नेतृत्व परिवर्तन हुनुपर्छ भन्दै आएका नेता हुन् । उनले पार्टीभित्र व्यापक सुधारको आवश्यकता औंल्याउँदै अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण गर्नु उपयुक्त हुने सुझावसहितको प्रतिवेदन बुझाएका थिए । एमालेप्रति समाजको दृष्टिकोण पत्ता लगाउने उद्धेश्यसहित विधान महाधिवेशनअघि थपलियाको अगुवाइमा परिषदले ७० वर्षे उमेर हद, दुई कार्यकालको प्रबन्धलगायत एजेण्डामा देशव्यापी खुला सर्वेक्षणसमेत गरेको थियो । आम राजनीतिकर्मी, नेता–कार्यकर्ता र सर्वसाधारणलाई सहभागी गराएर गुगल फारममार्फत लिइएको खुला सर्वेक्षणमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने वा नहटाउने विकल्प दिइएको थियो । एमालेलाई सुधार्न गर्नुपर्ने कामबारे पनि सुझाव मागिएको थियो । 

परिषदले मुलुकमा जटिल परिस्थिति सिर्जना हुन सक्ने प्रक्षेपणसमेत गरेको थियो । मौसम पूर्वानुमान भनेजस्तै साउनको २२ गते अर्थात् जेनजी आन्दोलनको ठीक एक महिनाअगाडि त्यस्तो प्रतिवेदन बुझाइएको हो । तर, भोलिपल्ट देशमा त्यत्रो विध्वंश हुँदै छ भन्ने सुइँकोसमेत नपाएका ओली गोदावरी महाधिवेशनतिरै आत्मप्रशंसामा रमाइरहेका थिए । विधान संशोधन गरी अध्यक्षमा तेहेरिन चाहेका उनले त्यस्तो सुझाव ग्रहण गरेनन् । 

पार्टीलाई कसरी हेरिरहेको छ भन्ने जनअभिमत लिने सकारात्मक उद्धेश्यका साथ सर्वे गरेर प्रतिवेदन बुझाएका थपलियालाई अन्ततः यही कुरा भारी पर्‍यो । फरक विचार समूहलाई वरपर पर्नै नदिने कार्यशैलीका ओलीको आँखाको कसिंगर बनेका उनलाई यही कारण महाधिवेशन प्रतिनिधि हुनबाट वञ्चित गरिएको नेताहरू बताउँछन् । त्यसो त, थपलिया कुनै समय ओलीनिकट नै मानिन्थे । ओलीको प्रधानमन्त्रीकालमा उनले दुईचोटी विकास सल्लाहकार भएर काम गरे । तर, पछिल्लो समय भने आलोचनात्मक धारणा राख्न थालेका थिए । 

महाधिवेशनमा बौद्धिक परिषदलाई ५ जनाको कोटा तोकिएको थियो । त्यसका लागि अध्यक्ष, उपाध्यक्ष र महासचिवसहित पाँच जनाको नाममा करिब सहमति पनि जुटेको हो । इञ्चार्ज अरूण नेपालसहितले सर्वसम्मत गर्न अन्तिमसम्म प्रयास गरेका थिए । तर, दिउँसो सहमतिमै प्रतिनिधि छनोट गर्ने समझदारी गरेर उठेका केही पदाधिकारीलाई राती एक नेताको घरमा बोलाएर चुनाव गराउन दबाब दिइएको बताइन्छ । पार्टी महासचिव शंकर पोखरेलका पिए सरोज रेग्मीहरूको योजनामा भएको छलफलमा अध्यक्ष र महासचिवलाई हराउन कडा निर्देशन दिइएको दावी स्रोतको छ। 
अध्यक्ष र महासचिव पराजित भएको चुनावमा गोविन्द शाही, सुशील बिक, शंकरका पिए सरोज रेग्मी, टिका ढकाल र सृजना घिमिरे प्रतिनिधि चुनिए । फरक विचार समूहलाई सोत्तर पारिएको सम्बन्धमा जिज्ञाशा राख्दा एक नेता भन्छन्, ‘अहिलेको मुख्य कुरा भनेको पार्टी जोगाउने कि नेता जोगाउने भन्ने हो, कार्यकर्ताले विवेक पुर्‍याउने हो भने पार्टी जोगिन्छ ।’

महाधिवेशन प्रतिनिधिमा योजनावद्ध हराइएका महासचिव श्रेष्ठ र महिला उपाध्यक्ष राधा अधिकारी पनि नेतृत्व परिवर्तन हुनुपर्ने पक्षमा वकालत गर्दै आएका पात्र हुन् । महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पिएसमेत रहिसकेका श्रेष्ठ बागमती प्रदेश सभा सदस्य छन् । महिला उपाध्यक्ष अधिकारी विद्या भण्डारीनिकट मोरङका नेता विनोद ढकालकी श्रीमती हुन् । विनोदकै प्रभावले मोरङमा ओलीपक्ष कमजोर छ । 

पार्टीको आन्तरिक मामिलामा खुला सर्वेक्षण गरेपछि अध्यक्ष ओलीको ‘कर्के नजर’ मा परेका थपलियाले असोजमा नेतृत्व परिवर्तन हुनुपर्ने मागसहित पत्र  बुझाएका थिए । जुम बैठकमार्फत देशभरका सदस्यहरूको धारणा लिएर बुझाइएको ११ बुँदे पत्रमा तत्काल महाधिवेशन गरेर नेतृत्व फेर्नुपर्ने, महाधिवेशन गर्न सम्भव नभए केन्द्रीय कमिटीबाट निर्णय लिनुपर्ने माग गरिएको थियो । पदाधिकारी तहका नेतालेसमेत ओलीसँग आँखा जुधाएर कुरा गर्ने अवस्था नरहेको एमालेमा यसरी संस्थागत चुनौती दिने पहिलो संगठन हो बौद्धिक परिषद, जुन आँट अध्यक्ष थपलियाले गरेका थिए । 

यता, आगामी नेतृत्वमा ओली र ईश्वर पोखरेलबीच प्रतिष्पर्धा हुने निश्चित भएसँगै महाधिवेशन प्रतिनिधिहरूको आन्तरिक जोडघटाऊ भैरहेको छ । संस्थापन पक्षले ७८ प्रतिशत प्रतिनिधि आफ्नो पक्षमा रहेको दाबी गरिरहँदा इतर खेमा भने गोप्य मतदान हुने भएकाले परिणाम उल्टनेमा आशावादी देखिन्छ । खासगरी धेरै प्रतिनिधि भएको बाग्मती प्रदेशमा आफूहरू बलियो रहेको हिसाव ईश्वर समूहको छ । बाग्मतीका धादिङ्ग, रामेछाप, दोलखा र चितवनमा संस्थापनले एकलौटी गर्दा पनि प्रतिनिधिको संख्या हाराहारीमा रहेको सो समूहका एक नेताले बताए ।

‘धादिङमा अवस्था राम्रो हुँदाहुँदै भूमि त्रिपाठीले कित्ता फेरेका कारण केही कमजोर भए पनि काठमाडौँले कभर गरेको छ’, उनले भने, ‘कतिपय प्रतिनिधि केपी ओलीलाई भोट हाल्ने तर शंकर पोखरेललाई नहाल्नेहरू पनि छन् । गोप्य मतदान हो, जे पनि हुन सक्छ ।’

(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित) 

टिप्पणीहरू