एमाले महाधिवेशनको महासंग्राम !
विसं २०८४ लाई बटमलाइन बनाएर चुनावी घात÷प्रतिघातको योजना बुनिरहेका राजनीतिक दललाई जेनजी विद्रोहले पल्टा खुवाइ दियो । त्यसपछिका तीन महिना कतिखेर के हुन्छ ? कसले के गर्छ र के भन्छ ? त्यसैको सेरोफेरोमा पार्टी र त्यसका नेता–कार्यकर्ता घुमिरहेछन् । एकातिर स्थिति यतिसम्म तरल छ, अर्कोतिर नयाँ नेतृत्व चुन्न पार्टीहरूमा सर्वोच्च सम्मेलन, महाधिवेशनको चटारो शुरु भएको छ । यसले ठूला पार्टीको नेतृत्वलाई खुइल्याउने साना पार्टीहरूको आक्रमणमाथि झड्का लागेको छ । पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड र माधव नेपालले चलाखी देखाउँदै दैलोमा आइपुगेको अधिवेशनको साइतलाई टारेका छन् ।
बहुचर्चामा रहेको अर्को दल रास्वपा त महाधिवेशनको घेरोबाट पहिलेदेखि नै बाहिर बसिरहेको छ । उसले पहिलो महाधिवेशनसम्म पनि गर्ने आँट देखाउन सकेको छैन । रास्वपा महाधिवेशन गरेर महत्वाकांक्षी कार्यकर्ताहरूको सामना गर्न सक्नेवाला पनि होइन । भटाभट संस्थापक नेता तथा सांसदहरू नै पार्टी छोडेर अन्यत्र लिप्सिएका देखिँदैछन् ।
मधेशी, राप्रपालगायत सकल दलहरूका लागि अहिलेसम्म पार्टी महाधिवेशन भनेको राष्ट्रिय महत्वको विषय नै होइन । एनकेन प्रकारेण विधि पुर्याएर कागज तयार गरे पुग्छ । न नीति न त कार्यक्रम ! फेरि कतिबेला फुट्ने र कोसंग जुट्ने निश्चित छैन । एमाले महाधिवेशन पहिलेभन्दा थप संवेदनशील किन पनि छ भने जेनजी आन्दोलनका कारण यही पार्टीका अध्यक्षले नेतत्व गरेको सरकारले सेनाको दवावमा राजीनामा दिनु परेको थियो ।
पार्टी र सरकार मात्र होइन, राज्यविरुद्धको यस्तो विध्वंशक विप्लव र आतंककारी आक्रमण के, कति कारणले भएको हो ? सरकार र यसका सुरक्षा निकाय कहाँनिर चुके ? पार्टी नेतृत्व कहाँनेर असफल भयो ? तलका कुरा नेतृत्वले सुन्नुपर्छ । यसको लेखाजोखा पार्टीको महाधिवेशनमा देशभरबाट भेला भएका प्रतिनिधिहरूले कति गम्भीर बनेर गर्ने हुन् ? गर्छन् कि गर्दैनन् ? पक्ष विपक्ष र नेपाली जनतामात्र होइन, विश्वभर नेपालवारे चासो राख्ने सबैको ध्यान त्यसकारण एमाले महाधिवेशनमा केन्द्रित छ ।
एमाले त्यस्तो लोकप्रिय पार्टी थियो, तीसपैंतिस वर्षअघि विश्वभर वामपन्थीहरूले पराजय ब्यहोरिरहनु परेको समयमा मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादी कार्यक्रम महाधिवेशनबाट पारित गरेर २०४७को आमनिर्वाचनमा दिग्विजय गरेको थियो । त्यतिखेर नै विश्वप्रसिद्ध अमेरिकी पत्रिका न्युजविकले ‘नेपाल जहाँ कार्लमाक्र्स जीवित छन्’ शीर्षकमा महासचिव मदन भण्डारीको अन्तर्वार्ता प्रकाशित गरेको थियो । भण्डारीको नीति कार्यक्रम र मनमोहन अधिकारीको विरासत बोकेर नेपाली आकाशमा अग्रणी बनेको एमाले शासन सत्ताबाट कसरी पदच्युत भयो ? धेरैले यसको कारण र निवारण खोजेका छन् । महाधिवेशनमा यसको विवेचना निर्ममताका साथ हुनुपर्छ । जसबाट देश, जनता र यसका सहयोद्धामाथि लागेको कालो बादलबाट सबैले मुक्ति पाउन् ।
नेपाली लोकतन्त्रिक आन्दोलनको मूल प्रवाह भनिने एमालेमाथिको पछिल्लो बज्रपातको लागि दोषी को हो ? यसबाट बाहिरिने निकास के हो ? एमाले महाधिवेशन झलक्क हेर्दा उसका सफलता र असफलतालाई विवेचना गर्ने कुम्भ मेला ठानिए पनि यो त्यत्तिमा मात्र सिमित छैन, यो त मुलुकको लोकतान्त्रिक आन्दोलनमाथि भएको आक्रमणलाई असफल बनाउने अवसर पनि हो । यो अहिले नेपाल र नेपालीमाथि व्याप्त द्विविधा, अलमल र असमञ्जसबाट मुक्त हुन बाटो पहिल्याउने सामुहिक कार्य हो । जसले वर्तमान मात्र होइन, भविष्यको लागिसमेत संगीन देखिएको यात्रालाई सहजीकरण गर्नेछ ।
जेनजी आन्दोलनको पूर्वसन्ध्यामा भएको एमाले विधान अधिवेशनमा दुई कार्यकाललाई हटाइयो । सत्तरी वर्षको उमेर हदलाई परिवर्तन गरियो । अहिले एमाले नेतृत्व संसद विघटनलाई गैरसंवैधानिक भनेर सर्वोच्च अदालत पुगेको छ । आसन्न निर्वाचनको तयारीका लागि निर्वाचन आयोगमा पार्टीलाई दर्ता पनि गरिएको छ । यही अन्तरालमा महाधिवेशनमा एमाले चुर्लुम्म डुवेको छ । यतिखेर अहम् सवाल उत्पन्न भएको छ, एमालेको खास नीति के हो ? उल्टो पनि जित्ने र सुल्टो पनि जित्ने हो ? महाधिवेशनमा देशको प्रतिनिधित्व गर्दै राजधानीमा भेला भएका अढाइ हजार जति एमालेजनले कान खोलेर सुनुन्, आलोचनात्मक चेतको कसीबाट आफ्नो र नेतृत्वको परिक्षण गरुन् । प्रतिगमन प्रतिगमन नै हुन्छ । कुनै बेला माधव नेपालले भने जसरी प्रतिगमन आधा सच्चिँदैन ! सच्चिनेवाला पनि छैन । महाधिवेशनमा उपस्थित संघर्ष र बलिदानबाट खारिएका मतदाताहरूले भावी नेता बन्न जम्जमाएकाहरूलाई जिम्मेवार बनेर र्याखर्याख्ती पार्न सक्नुपर्छ ।
(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू