‘विद्यार्थीले यी विषय रोज्न पाउनै पर्छ’
यदि राज्यका सबै विद्यार्थी आ–आफ्नो क्षेत्रमा सफल भएको देख्ने हो भने तिमीले यही विषय पढ्नुपर्छ भनेर जुन दबाब दिइन्छ, त्यसलाई सर्वप्रथम हटाउनुपर्छ । अभिभावक पनि यसमा त्यत्तिकै जिम्मेवार छन्, जसले आफ्नो बैँशका टुक्राटाक्री अपुरा सपनाहरू छोराछोरीमाथि लाद्न खोज्छन् । बुझ्नुपर्ने कुरा के हो भने, समय रूपान्तरित भएर हिजो आफ्नो पालाका गुच्चाहरू क्रिकेटको बलमा रुपान्तर भइसकेका छन् । आफ्ना सपना र छोराछोरीको सपनाबीच एउटा अकाट्य रेखा छ भन्ने कुरा बुझ्नैपर्छ । अहिले प्रचलित पाठ्यक्रम त्यही प्रवृत्तिका अभिभावकभन्दा कम छैनन्, जसले मौन आदेश दिइरहेको छ कि तैंले तोकिएका यिनै विषय पढ्नुपर्छ ।
यसैकारण कैयन विद्यार्थी आफ्नो अभिरुचिका विषय पढ्नबाट बञ्चित छन् । डाक्टर, इञ्जिनियर, वकिल वा पाइलट पढ्नुपर्छ नत्र जीवन बर्वाद भयो भन्ने विचारको उत्पत्ति यहीँबाट भयो । कम्प्युटरमा गेम खेलेर, क्यानभासमा कुची खेलाएर, गितारको तारसँग भविष्य जोडेर, उपन्यास लेखेर, कुनै खेलमा आवद्ध भएर पनि जीवनलाई आलोकित बनाउन सकिन्छ भन्ने सोच निकै टाढाका हुन् । यसैकारण त यी पेशा नेपालको सन्दर्भमा पेशा भएनन् । तपाइँ के गर्नुहुन्छ भनेर कसैले सोधे मेरो जागिर छैन, फुर्सदमा उपन्यास लेख्छु भनी दिनरात बौद्धिक श्रम गरेर बेरोजगारीको परिभाषा दिने लेखकमा त्यस्तै विद्यार्थी परे । त्यस्ता विद्यार्थीले पाठ्यक्रममै व्यापक अतिरिक्त क्रियाकलाप छान्न पाएनन् र जीवनभरि सोको महत्व पनि बुझेनन् ।
विद्यार्थी जीवनमा अतिरिक्त क्रियाकलापको धेरै महत्व छ । यसले विद्यार्थीलाई बौद्धिक, कुनै पनि समस्यामा छिटो निर्णय गर्नसक्ने र कुशल बनाउँछ । अतिरिक्त क्रियाकलाप भन्नाले चित्रकला, साहित्य, संगीत, अभिनय, मूर्तिकला आदि पर्दछन् । आजको समयमा विषयवस्तु हजारौँ छ, जसमा मानवीय अभिरुचि पनि गाभिँदै गएको छ, तर साँघुरो पाठ्यक्रमले ती विषयवस्तुलाई समेट्न सकेको छैन । अनिवार्य नेपालीमा साहित्यको सतही स्पर्श मात्र छ, फलस्वरूप साहित्यप्रति अभिरुचि भएका विद्यार्थीलाई नेपाली किताबले पुगेकै छैन । विद्यार्थीको साहित्यिक भोकलाई पाठ्यक्रमको दुईचार कथा र दुईचार कविताले सन्तुष्ट पार्न सक्दैन । यस्तो साँघुरो प्रवृत्तिको पाठ्यक्रमले गर्दा अतिरिक्त क्रियाकलापको आवश्यकता पर्छ ।
किताबमा अश्लील भनिएका चिजहरू विद्यार्थी मानसिकतामा अझ अश्लील हुन गयो । आजका किशोरकिशोरीको बेशी अभिरुचि यसैमा छ भन्ने कुरामा कुनै ध्यान दिइएन । कुनै विषयलाई लुकाएर अपराध हुन दिनुभन्दा, चिनाएर अपराध रोक्नु राम्रो हुन्थ्यो ।
नेपाली विद्यालयमा विद्यार्थीले एस.ई.ई.सम्म आठ वटा विषय अध्ययन गरे पुग्छ । विषय मात्र कालोपाटीमा हुर्काइने परिपाटीको कारण कैयन विद्यार्थी अभिरुचिको विषय अध्ययन गर्नमा बञ्चित छन् । अध्ययन गराइएका विषयमा पनि सतही ज्ञान मात्र पाइन्छ । एस.ई.इ.को आठ वटा विषयमा संगीत अटाएको छैन, चित्रकलाका निम्ति कुनै स्थान छैन र यसरी नै कैयन कला प्रदर्शन गर्न विद्यार्थी चुकेको अवस्था छ । विद्यार्थी जीवनमै अभिरुचिको विषयमा आधारभूत जानकारी पाएका भए, भोलि कलेज पुग्दा त्यस विषय र कलाप्रति ठोस आधार पुग्थ्यो, फलस्वरूप सृजनामा प्वाँख पनि पलाउँथ्यो ।
आजको समयमा माध्यमिक शिक्षालाई पनि कलेजस्तरीय मानविकी स्वरूपमा गाभ्न आवश्यक छ । विद्यार्थीले आठवटा विषयमा परीक्षा दिएता पनि, सयौं विषयबाट छनौट गर्न सक्ने अधिकार पाउनुपर्छ । यस्तो अवस्थामा मात्र कलाले परिपूर्ण विद्यार्थीको उत्पादन गर्छ । त्यहाँ त आठवटा विषयलाई नै अनिवार्य गरी कैयन विद्यार्थीको भविष्य चकनाचुर पारिएको छ । जसको अभिरुचि साहित्यमा छ र जो शेक्सपियरको जीवन र साहित्य अध्ययन गर्न चाहन्छन्, तिनलाई विज्ञान तथा प्रविधि लादेर, न्युटनको सिद्धान्तको स्याउले केही प्रभाव पार्न सक्दैन । न्युटनले रूखबाट खसेको स्याउबाट गुरुत्वाकर्षण पाए किनभने विज्ञान उनको रुचि थियो । के बाध्यताले लादिएको विज्ञान अध्ययन गर्ने विद्यार्थीले रूखबाट खसेको स्याउबाट अरु कुनै आकर्षण भेट्टाउन सक्ला ? जहाँ अभिरुचि छ, त्यहाँ जिज्ञाशा हुन्छ र जिज्ञाशामै सृजना सम्भव छ । आजको समयमा विद्यार्थीले आफ्नो अभिरुचिकै विषयमा परीक्षा दिन पाउनुपर्छ, जुन उनीहरूको नैसर्गिक अधिकार पनि हो ।
जब विद्यार्थीले आ–आफ्नो अभिरुचिको विषयमा एसईई दिन पाउँछन्, त्यो बेला उत्तीर्ण र अनुत्तीर्णको रेखा पनि कोरिँदैन । संगीतमा अभिरुचि भएको विद्यार्थीलाई सारेगमको सूत्र कण्ठ गर्न त्यति कष्ट हुँदैन, जति गणितको ए स्क्वेर प्लस बि स्क्वेर कण्ठ गर्न गाह्रो पर्छ । यसरी संगीतमा अभिरुचि भएको विद्यार्थीले संगीत अध्ययन गर्न पाएमा उ सात सुरबाट आठ सुरमा पुग्न खोज्छ । यस्तो चेष्टाबाट नयाँ र नौलो सृजना हुन्छ ।
नेपाली छात्राहरूमा अझै यौन तथा प्रजननबारे चर्चा र परिचर्चा हुँदा गालामा शरमको लाली पोतिन्छ । माध्यमिक तहमा यौन तथा प्रजननलाई जनसंख्याले नसमेटेको होइन तर श्लीलताकै खेती गर्दा किताबमा अश्लील भनिएका चिजहरू विद्यार्थी मानसिकतामा अझ अश्लील हुन गयो । आजका किशोरकिशोरीको बेशी अभिरुचि यसैमा छ भन्ने कुरामा कुनै ध्यान दिइएन । कुनै विषयलाई लुकाएर अपराध हुन दिनुभन्दा, चिनाएर अपराध रोक्नु राम्रो हुन्थ्यो ।
विद्यार्थीले अभिरुचिको विषय प्राथमिक र माध्यमिक स्तरबाटै अध्ययन गर्न पाउनुपर्छ । यसो भएमा कम उमेरमै धेरै कुरा सिक्न सकिन्छ । सिकेको ज्ञानलाई भोलिका दिनमा अझ प्रयोग गर्दै विकास गर्छ । शिशुहरू रूप र आकारले जसरी भिन्न हुन्छन्, उनीहरूको कलाप्रतिको अचिरुचिमा पनि त्यसरी नै भिन्नता हुन्छ । हरेक मानिस एउटा न एउटा कलाले पूर्ण हुन्छ । त्यस्तो अवस्थामा देवकोटा, नारायणगोपाल, गोपाल योञ्जन, लैनसिङ्ग बाङ्गदेल, र विश्वेश्वरप्रसादहरू फेरि जन्मिएनन् भनेर गुनासो गर्ने ठाउँ रहँदैन ।
टिप्पणीहरू