काँग्रेसभित्र पुरानाका स्मरण, नयाँमाथि अविश्वास

काँग्रेसभित्र पुरानाका स्मरण, नयाँमाथि अविश्वास

नेपाली राजनीति फेरि त्यही मोडमा आइपुगेको छ, जहाँ इतिहासले बारम्बार चेतावनी दिँदै आएको थियो । जुन राजनीतिक नेतृत्वले सुन्नै चाहेको थिएन र छैन। प्रमुख राजनीतिक दलहरू, विशेषतः नेपाली काँग्रेस, अहिले गम्भीर आत्मसमीक्षाको मोडमा प्रवेश गरिरहेका छन्। तर विडम्बना—समीक्षा नेताहरूले होइन, कार्यकर्ताहरूले गरिरहेका छन्। पार्टीको दोस्रो र तेस्रो तहले साढे दुई दशकअघिका गिरिजाप्रसाद कोइराला र गोविन्दराज जोशीलाई सम्झिनु कुनै संयोग होइन; यो वर्तमान नेतृत्वको असफलताको प्रत्यक्ष प्रतिक्रिया हो।

आजका दिनमा पनि नेताहरू पदमै टाँसिन व्यस्त छन्, तर विगतका नेता जिम्मेवारी लिन तयार थिए। डोल्पाको दुनैमा माओवादीले आक्रमण गर्दा सेना सहयोगी नबन्दा गृहमन्त्री गोविन्दराज जोशीले सार्वजनिक रूपमा पत्रकार सम्मेलन गरेर पदत्याग गरेका थिए। सेनाले पटक–पटक निर्वाचित सरकारलाई साथ नदिएको इतिहास अहिले झन् स्पष्ट हुँदै गएको छ। हिजोको त्यो नैतिकताको स्तर आज कल्पनातीत जस्तै लाग्छ। रोल्पाको होलेरीमा घेराबन्दी हुँदा पनि परिणाम नआएपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नैतिकता देखाउँदै कुर्सी छाडेका थिए। उनले भनेका थिए—“सुरक्षा संयन्त्रले नै साथ नदिएपछि सत्तामा बस्नुको अर्थ छैन।”

सेना राष्ट्रको सुरक्षा, सार्वभौमता र हितका लागि समर्पित संस्था हो। तर राष्ट्र सञ्चालन गर्ने वैध अधिकार सरकारसँग भएकाले सेना सधैं निर्वाचित सरकारको आदेशमा सञ्चालन हुनु लोकतान्त्रिक सिद्धान्तको आधारशीला हो। सरकारका निर्देशनपछि मात्र शक्ति प्रयोग हुने व्यवस्थालाई नै नागरिक सर्वोच्चता भनिन्छ, जसले राज्यलाई स्थीर बनाउँछ, सैन्य शक्तिको दुरुपयोग रोक्छ र लोकतन्त्रलाई सुरक्षित राख्छ। यदि सेना सरकारको आदेशविपरीत चल्यो भने शक्ति–सन्तुलन भंग हुन्छ, नागरिक स्वतन्त्रता जोखिममा पर्न सक्छ र देश अराजकतर्फ धकेलिन सक्छ। त्यसैले सेना आफ्नो कर्तव्य—राष्ट्र रक्षा, सीमा सुरक्षा र आपतकालीन सहयोग—मा केन्द्रित रहँदै राजनीतिक निर्देशन भने सरकारकै आदेशअनुसार कार्यान्वयन गर्नुपर्छ। यही व्यवस्था चले देश बलियो रहन्छ, सरकार जिम्मेवार बन्छ, सेना मर्यादित रहन्छ र नागरिक थप सुरक्षित हुन्छन्।

तर इतिहास यतिमै थामिँदैन। भित्रभित्रको पीडा अझ गहिरो छ। काँग्रेस कार्यकर्ताहरूको ठूलो आरोप छ—गोविन्दराज जोशीलाई ‘विपक्षीले होइन, काँग्रेसकै नेताहरूले फसाएर’ पार्टीबाट निकालियो। तीन पुस्ते काँग्रेसका एक सच्चा योद्धा, जसले पार्टीका लागि ज्यान दिन सक्ने नेतामाथि पार्टीकै भित्रबाट जालझेल भयो। बलिदान, त्याग र योगदानभन्दा गुट, स्वार्थ र सञ्जालको राजनीति बलियो बनाइयो।

यति मात्र कहाँ हो र? जोशीका छोरा दीपकराज जोशी स्वयम् सक्षम भएर पनि मेयरको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए। त्यसैका बीच उनीमाथि मरणासन्न हुनेगरी भएको आक्रमण काँग्रेसभित्रको विघटनको एउटा असल उदाहरणजस्तै देखिन्छ। ‘पाप धुरीबाट कराउँछ’ भनाइ शायद यतिखेर काँग्रेसमा भेटिन्छ। यस्तै अन्याय र गुटगत राजनीति नै आजको काँग्रेसको चरित्रलाई घातक मोडमा पुर्‍याउने प्रमुख कारण बनेको छ।

एमालेभित्र पनि समान चिन्ता देखिएका छन्। अध्यक्ष केपी शर्मा ओलीले भदौ २३–२४ मा सुरक्षानिकाय निष्क्रिय भएको आरोप लगाएपछि कतिपय नेताहरूले गिरिजाको ‘नैतिक राजनीतिकता’ सम्झन सुझाएका छन्। तर विडम्बना—पुराना दल मात्र होइन, नवगठित र पुनर्गठित भन्ने दलका नेताहरू पनि कुर्सी नछाड्ने पुरानै रोगबाट मुक्त देखिँदैनन्। ‘परिवर्तन’ र ‘नयाँ राजनीति’को नारा भज्ने दलहरू पनि त्यही पुरानै संस्कारमा फसेका छन्।

जेन–जेड आन्दोलनले सुरक्षानिकायदेखि शक्तिकेन्द्रसम्म प्रश्न उठाएको छ, तर पुराना दलहरूले नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र र गम्भीर आत्मसमीक्षाजस्ता मूल मुद्दालाई बेवास्ता गरे। युवा कार्यकर्ताहरूले स्पष्ट भनेका छन्—“कार्यकर्ता र बलिदानी नेतालाई अपमान गर्ने, जालझेल गर्ने, गुटबन्दीमा चल्ने दलहरूले भविष्यमा जनताको भरोसा जित्न सक्दैनन्।”

अहिलेकै चुनौती के हो भने—देश राजनीतिक रूपमा शून्यतिर धकेलिँदै छ, तर दलहरूको नेतृत्व पुरानै मानसिकतामा अल्झिएको छ। पद छाडेर नयाँ पुस्तालाई अवसर दिनु, आन्तरिक भत्र्सना अन्त्य गर्नु, गुटगत स्वार्थमाथि संगठनको प्राथमिकता राख्नु—यही अहिलेको आवश्यकता हो। तर नेताहरूले यिनै काम गर्न नचाहँदा दलहरू राजनीतिक ट्र्याकबाट छोडिँदै गएका छन्।

काँग्रेसको अहिलेको अवस्था कुनै एक–दुई कारणको परिणाम मात्र होइन। गोविन्दराज जोशी, खुमबहादुर खड्का जस्ता अनुभवी नेताहरूको योगदान, त्याग र भूमिकालाई उचित मूल्यांकन गर्न नसक्नु पनि आजको संकटको एउटा मूल कारण हो।

यी नेताहरूले कठिन राजनीतिक यात्रामा पार्टीका लागि खेलेको भूमिका, संकटका घडीमा देखाएको नेतृत्व, र संगठनलाई मजबुत बनाउन गरेका प्रयासहरू पछिल्लो पुस्ताले आत्मसात गर्न सकेन। पार्टीभित्र अनुशासन कमजोर हुँदै गयो, आन्तरिक लोकतन्त्र क्षीण हुँदै गयो, र पार्टीप्रतिको समर्पणभन्दा व्यक्तिगत स्वार्थ बलियो हुँदै गइरह्यो। परिणामतः अनुभव, त्याग र संस्थागत स्मृतिलाई बिर्सने संस्कृति जन्मियो।

आज काँग्रेसभित्र देखिएको अविश्वास, गुटबन्दी र दिशाहीनता त्यसैको प्रतिफल हो। जसले पार्टीलाई यहाँसम्म ल्याउन अथक परिश्रम गरे, इतिहास निर्माण गरे, तर तिनै व्यक्तिहरूलाई नचिन्ने, उनीहरूको योगदान नबुझ्ने प्रवृत्तिले काँग्रेसलाई कमजोर बनाएको छ।

त्यसैले काँग्रेसलाई पुनः उभ्याउन, समाधान खोज्न र भविष्य सुरक्षित गर्न अतीतका बलिया काँध, त्यागी व्यक्ति र सिद्धान्तमा अडिग पुराना नेताहरूलाई सम्मानपूर्वक सम्झनु र उनीहरूको भूमिकालाई स्वीकार्नु अपरिहार्य छ।
 

टिप्पणीहरू