कथित ‘राजनेता’को जनप्रेम !
एकताका एकादेशमा एउटा राजा रहेछ । यसो भनेर पनि बुझौं, एउटा नेता रहेछ । त्यो नेता आफूलाई राजा–महाराजा व राजनेता भन्न मनपराउँथ्यो । राजा यति धेरै दुष्ट र भ्रष्ट स्वभावको थियो कि घरपरिवार र आफन्तसमेत उसको व्यवहार सहन नसकेर लाखा पाखा लागेका थिए । राजा दरबारमा केही अह्रौटे भरौटे र धुपौरेहरूलाई मात्र लिएर बस्थ्यो । देश दुनियाँले जे सुकै भनुन् तर उसले हुक्के, चम्चे, बैठके र अह्रौटे भरौटे लगाएर आफूलाई महान जनप्रेमी राजाको प्रचार दुनियाँमा फिँजएको थियो । यो त्यही कथित ‘जनप्रेमी राजनेता’को कथा हो ।
जनसाधारणलाई अनेक बहानामा दुःख–कष्ट दिइरहन्थ्यो । केही सहयोग गरे जस्तो पनि गथ्र्यो तर बदलामा धेरै फाइदा लिन्थ्यो । गाउँलेलाई उसले केही सर–सापटी र ऋण पनि दिन्थ्यो । तर त्यसको दोब्बर तेब्बर ब्याजको स्याजसमेत लिन्थ्यो र सित्तैंमा राजाको काम गरिदिनुपथ्र्यो । अन्न आदिको लिने र दिने माना पाथी पनि ठूला–साना हुन्थे । गरिब जनताका करेसाबारीमा फले फुलेका राम्रा राम्रा फलफूल, मीठो–मसिनो अन्नपात पनि उसैलाई किसानले सबैभन्दा पहिले चखाउनुपथ्र्यो ।
समय बित्दै जाँदा, राजा वृद्ध र रोगी हुँदै गयो । तैपनि, मती सुध्रिएको थिएन । एक दिन सारा जनतालाई दरबारमा बोलायो । ऊ साह्रै सिकिस्त थियो । बृध्द शरीर आज हो कि भोलि जस्तो भएकोले सबै जनता वरिपरी भेला भए ।
राजाले सकिनसकी रुञ्चे स्वरमा भन्न थाल्यो –मेरा प्यारा दाजु भाइ, दिदी बहिनीहरू, मैले तिमीहरू सबैलाई पाखुरामा बल छउञ्जेल साह्रै दुःख दिएँ । म पापी हुँ । यसको प्रायश्चित गर्न चाहन्छु । मलाई विश्वास छ, तिमीहरूले माफ गरिदिनेछौ । तिमीहरूले माफ नदिएसम्म मेरो सास नजाने भयो ।
गाउँलेले सोचे, आखिर बाँचुञ्जेल जति नै दुःख दिए पनि अब त यो बूढो भयो र मर्छ नै । मरेपछि बरु सुख शान्ति हुन्छ भन्ठानेर जीवनभर दिएको दुःखकष्ट बिर्सिई भने–भैगो महाराज, यो अवस्थामा चिन्ता नलिनु होला । पहिले जे–जे भयो, सबै सकियो । अब दुःख नमानी भगवानको नाम लिनु भए हुन्छ । हामी सबैले पुराना कुरा बिर्सिदिन्छौँ । मरणासन्न आवस्थामा पुगिसकेको राजाले अझै रुञ्चे अनुहार पार्दै भन्यो – म पापी हुँ । दुष्ट हुँ । तिमीहरूले मेरो पापको बदला नलिएसम्म मैले कसरी शान्ति पाउँछु ? मेरो बिन्ति छ, मलाई केही न केही सजायँ त दिनै पर्छ । राजालाई उनका बैद्यले पनि सम्झाए– महाराज, अब पुराना कुरा सम्झेर दुःख नमान्नु ।
यता महाराजको अवस्था यस्तो छ, उता घरपरिवार र आफन्तजनलाई पनि त केही खबर नै नगरी बस्न भएन । साह्रो गाह्रो ओखतीपानीका लागि त हामी नै छौं तर थिति, परम्परा र संस्कारका लागि भए पनि खबर त गर्नै पर्छ ।
राजाले रुखो स्वरमा प्रतिवाद गर्यो, तिमीहरूको समस्या पनि मैले बुझेको छु । भैगो, कसैलाई बोलाउन पर्दैन । मेरो अन्तिम संस्कार आफैँले गरिदिए हुन्छ । थला परेर मृत्युशøयामा लडेको बृध्द राजालाई के सजायँ दिनु ? उसको पापको बदला कसरी लिनु ? गाउँलेहरू मुखामुख गर्न थाले ।
राजाले नै उपाय दियो –हो, यो अवस्थामा तिमीहरूले मलाई केही गर्न सक्दैनौ र केही गर्न पनि मिल्दैन । मलाई कुटपिट गर वा काट त भन्छु तर यसो गर्दा पनि तिमीहरूलाई नै पाप लाग्छ । म तिमीहरूलाई त्यस्तो पाप हुन कसरी दिऊँ ?
सर्वसाधारण जनताले पनि बिलौना सुनेर राजाप्रति दया प्रकट गर्न थालिसकेका थिए । राजाले जनतालाई आफूले गरेको कु–कर्मको बदला लिने कबुल गराएपछि अन्तिम उपाय लगाउँदै भन्यो, म अब धेरै बाँच्दिन । तिमीहरूले मलाई माफी दियौ अब म खुशी छु । तिमीहरूलाई पाप गर्न नपर्ने र रिस पनि मर्ने उपाय छ, त्यही गर्नु । सारा गाउँले छक्क परे । के हुन सक्ला त्यस्तो काइदा ? ‘म मरेपछि तिमीहरूले शरीरमा जे जे सक्छौ, त्यही त्यही गर्नु । काटे हुन्छ, कुटे पनि हुन्छ । थुके हुन्छ, लाठी मुड्की घुस्सा जे मन लाग्छ हाने हुन्छ । मरिसकेको भए पनि म त्यही पापी राजा नै हुँ । तै दुष्ट हुँ र यो शव वा शरीर मेरै हो । मरेको शवमा कुटे पिटे तिमीहरूलाई पाप पनि नलाग्ने । ममाथिको रिस पनि सकिने । मलाई पनि प्रायश्चित हुने । त्यसो गर्ने कबुल नगरेसम्म मेरो यो घिड्घिडो सास नजाने भयो ।
अन्ततः मरणान्त राजाको घिक्क–घिक्क सुनेर गाउँलेले उसको शवलाई उसले भनेअनुसारकै सजायँ दिने कबुल गरे । राजाले गाउँलेहरूलाई सो कबोल गराएपछि पानी मुखमा हाल्यो र भगवानको नाम लिँदै देहत्याग ग¥यो ।
जतिसुकै दुष्ट भएपनि राजा मरेको खबर थाहा पाएपछि आफन्त रीतिअनुसारको थिति कर्म गर्नुपर्ने भएकाले जम्मा हुन थाले । तर जब ती जम्मा भए, उनीहरूले देखे–राजालाई त बीभत्स रूपमा काटेको कुटेको पो छ है ! यस्तो कसरी भयो ?
राजा कालगतिले नै मरेका हुन् कि कसैले मारेको ? सोध–खोज गर्दा राजाको अनुरोध के हो थाहा नहुनेहरू र कुटिरहेको देख्नेहरूले घरपरिवारलाई त्यही भनिदिए । केही गाउँलेले राजालाई जथाभावी कुटपिट गरिरहेको देखेका थिए । घरपरिवार र आफन्तले गाउँलेका बिरुद्ध मुद्दा हाले । त्यसपछि अदालतले सारा छरछिमेकीलाई त्यही राजालाई कुटीकुटी मारेको आरोपमा आजीवन जेल सजायँ दियो ।
अन्ततः दुष्ट राजाले बाँचुञ्जेल मात्र होइन, मरेपछि पनि जनसाधारणलाई सुख र शान्तिले बाँच्न दिएन ।
आफ्नै आडम्बरी स्वभावको म अन्तिममा भए पनि अलिकति क्षमायाचना गर्ने मन थियो ।
तर के को व्यस्तताले हो
मौकै पाइन ।...
आफू पलाएको जमिन बिर्सने म
आज,
त्यही जमिनमा बास खोज्दैछु
मेरा फुर्ती र रौनक
मेरो आकाश छुने दौड र घमण्ड
आज मिथ्या लागिरहेछन् !
– प्रेम संग्रौला कृत ‘पासपोर्ट’ कविता संग्रहको ‘पातको बात’ शीर्षक कविताको केही अंश ।
नोट : माथिको कथा विभिन्न नीति कथा वा जनबोलीमा आधारित कहावतको पुनर्लेखनसहितको प्रस्तुति हो ।
टिप्पणीहरू