दुवैतिरका अनेकौँ दुःख

दुवैतिरका अनेकौँ दुःख

खुला सीमाका कारण उत्पन्न विभिन्न समस्या अध्ययन गर्न सशस्त्र प्रहरीले देशभर विशेष टोली खटाएको छ ।

यस क्रममा मधेश प्रदेशको धनुषा र सुदूपश्चिमको महेन्द्रनगरबाट हुने गरेको तस्करी र राजश्वलाई प्रतिकूल गतिविधिबारे विशेष अध्ययन थालिएको बताइन्छ । स्रोतका अनुसार, जनकपुर–जयनगर रेलमा प्रतिदिन करिब दुई सय जति मानिस एकै पटक चढ्ने र एक–एक पोका सामान लिएर आउने गरेको अवस्था छ । झट्ट हेर्दा सामान्य पोका पनि ल्याउन नदिएको जस्तो देखिए पनि यसले राजश्वमा मार पर्ने गरेको स्रोतको दावी छ । 

दिनैपिच्छे ५–५ हजार रुपैयाँको घरायसी सामग्री भारत ओसार्ने गर्दा धेरै कुरा प्रभावित भएको छ । सो रेल दिनमा दुई पटक आतेजाते गर्छ । सामान्यतया एक पटकमा एक सय ५० जनादेखि २०० जनासम्म चढ्दै आएका छन् । डेढ सयकै हिसाब राख्ने हो भने पनि कम्तीमा ३ सयले ५–५ हजारको दरले सामग्री ल्याउँदा १५ लाखको भित्रिने गर्छ । यी तस्कर पनि होइनन् तर सरकारले भन्सार उठाउन पाउँदैन । यस्तो काममा अलिक कडिकडाउ गर्ने हो भने रेल चल्न नसक्ने अवस्था खडा हुन्छ । खुला सीमाको फाइदा उठाउँदै सर्वसाधारणले सीमा वारपार गर्दा झनै समस्या निम्त्याउन सक्ने खतरा त छँदै छ । यस्तो समस्याको उचित समाधानतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी हुन्छ ।

यसबीच, नेपाल–भारत सीमा क्षेत्रका सबैजसो जिल्लामा बिग्रिएका, भत्किएका पिलरहरू मर्मतको काम शुरु भएको बताइन्छ । भारतीय सीमा सुरक्षा बलले आफ्नोतर्फको मर्मत काम अघि बढाएको छ । अहिले पश्चिम बंगालसहित १२ वटा राज्यमा आधारकार्ड (रासनकार्ड) रिभेरिफिकेसन शुरु भएको छ । यस्तो बेला नक्कली भेटिए त्यस्ता व्यक्ति भागेर नेपाल आउने खतरा उत्तिकै छ । भारतबाट भागेर आउँदा सस्तो श्रम गर्ने ठाउँका रुपमा रहेको इँटाभट्टामा लुक्न सक्ने भएकाले सबैजसो जिल्ला प्रशासनसँग समन्वय गरी विशेष निगरानी राख्न थालिएको छ । 

यति नै बेला भारतको सीमामा निगरानी बढाइरहँदा चीनको सीमा ताक्लाकोटमा उताका प्रहरीले कडिकडाउ गर्न थालेको बुझिएको छ । ताक्लाकोटमा नेपाली भूमिबाट कैलाश मानसरोवर देखिने ठाउँ छ । त्यस ठाउँमा मानसरोवर जान नसक्ने नेपाली र भारतीयले टाढैबाट पूजाअर्चना गर्दै आएका छन् । डाँडाको टुप्पामा रहेको सो ठाउँ दशगजा भएकाले यता नआइज भन्दै चिनियाँ सुरक्षा बलले रोक्न थालेका छन् । गत बर्खामा रसुवागढीमा आएको बाढीले बगाएको बेलिब्रिज चिनियाँ पक्षले डेढ महिना लगाएर बनाएको थियो । त्यो फेरि भाँचिएपछि नोभेम्बर महिनामा पुनः निर्माण गरिसक्ने लक्ष्यका साथ काम अघि बढाइएको बुझिएको छ । रसुवागढी नाका बन्द भएका कारण मुस्ताङको कोरोला नाका सञ्चालनमा आएको छ । करिब ४ हजार मीटर उचाइ रहेको सो ठाउँमा जोकोही गई बस्न नसक्ने, गाडीहरू स्टार्ट बन्द गरेपछि पुनः सञ्चालन गर्न निकै कठिनाइ हुने भएकाले निरन्तर चालु अवस्थामा राख्नुपरेको छ । 

भाद्र २३ र २४ को घटनापछि सशस्त्र प्रहरीमा पेन्सन भइसकेकाहरूले जागिर छाड्ने बाढी नै चलेको थियो । अहिले भने अलिक कम भएको बताइन्छ । 

(जनआस्था साप्ताहिकको मंसिर १७ गते बुधबारको अंकमा प्रकाशित) 

टिप्पणीहरू