सिनेमा पनि बनाउन थाल्यो एआइले
चीनको सान्यामा ‘फ्रम ओसन टु द इन्फिनिट’ नारासहित अस्तिदेखि जारी ७औं हाइनान् आइल्यान्ड इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रस्तुत गर्न लागिएको एआई फिल्मबारे धेरैले चासो राखेका छन् । मास्टरक्लास र अवार्ड समारोहसँगै ‘उच्च गुणस्तरीय चिनियाँ सिनेमाको विकास’, एआई फिल्म सिजन, चीन–थाइल्याण्ड कूटनीतिक सम्बन्धको ५० वर्षका अवसरमा विशेष प्रदर्शन र लगानी–सम्बन्धी कार्यक्रमसमेत गरिँदै छ ।
सान्याले चाइना फिल्म कन्जम्प्सन इयरअन्तर्गत २० भन्दा बढी सांस्कृतिक–पर्यटन गतिविधि पनि सञ्चालनको योजना राखेको छ । महोत्सवमा ११९ देश र क्षेत्रका ४ हजार ५६४ फिल्म समावेश छन् । जसमा २ हजार ९०० घण्टाभन्दा बढी फुटेज रहेको आयोजकले जनाएको छ । यो फिल्म फेस्टिभलमा हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय र विविध सहभागिता भएको बताइन्छ ।
महोत्सवमा हलिउड निर्देशक जेम्स क्यामरुन,फ्रेन्च अभिनेत्री जुलियट बिनोस,इटालियन निर्माता मार्को म्युलर,चिनियाँ प्रोडक्सन डिजाइनर ह्वाङ वेन–यिङलगायतले फिल्मकला, अन्तर्राष्ट्रिय क्युरेसन,अभिनय र टेक्नोलोजिकल स्टोरीटेलिङबारे मास्टरक्लास सञ्चालन गर्दैछन् ।
भोलि क्यामरुनको नयाँ ‘अवतार’ फिल्मको चिनियाँ प्रिमियर महोत्सवकै क्रममा हुँदै छ । चीनभर प्रदर्शनअघि सान्यामा दर्शकले यसलाई पहिलोपटक हेर्न पाउने भएका छन् ।
गोल्डेन कोकोनट अवार्डअन्तर्गत फिचर फिल्म,डकुमेन्ट्री र सर्ट फिल्म गरी तीन विधामा प्रतियोगिता राखिएको छ । १३ सदस्यीय अन्तर्राष्ट्रिय जज प्यानलको अध्यक्षता मार्को म्युलरले र जुलियट बिनोसले इमेज एम्बासेडरको भूमिका निभाउँदै छन् ।
महोत्सवमा क्यास, लोकार्नो, भेनिस, टोरन्टो र बुसानलगायतका प्रमुख महोत्सवका १०० भन्दा बढी उत्कृष्ट फिल्म प्रदर्शित गरिँदैछन्। सान्या, हाइकौ र लिङ्शुइका १२ हल र बाहिरी स्थलमा नोभेम्बरदेखि सुरु भएको प्रदर्शन नयाँ वर्ष २०२६ को सुरुवातसम्म चल्नेछ । मंगलबारसम्म चल्ने फेस्टिभल अन्तर्गत हाइनानका १८ शहर–काउन्टीमा फिल्महरु निःशुल्क प्रदर्शनको व्यवस्था गरिएको छ ।
टिप्पणीहरू