चीनमा सिक्स जी परीक्षण, पाँच वर्षभित्र व्यवसायिक उत्पादन

लगातार चार वर्षको लामो र कठिन प्रयासपछि चीनले सिक्स जी (६जी) प्रविधिको पहिलो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । यस अवधिमा तीन सयभन्दा बढी महत्वपूर्ण प्रविधिहरू विकास गरिएको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

अधिकारीहरूका अनुसार चीनको ६जी परीक्षण कार्यक्रम तीन चरणमा पूरा हुँदैछ । पहिलो चरणमा मूल प्रविधिको क्षमता प्रमाणित कार्यमा ध्यान केन्द्रित गरिएको थियो।

आगामी चरणमा विशिष्ट प्रयोगका लागि प्रोटोटाइप विकास गर्ने र त्यसपछि पूर्व–व्यावसायिक उपकरण तथा प्रमुख उत्पादनहरूको परीक्षणतर्फ कार्य अघि बढाइने छ ।

उद्योग तथा सूचना प्रविधि मन्त्रालयका उपमन्त्री चाङ युनमिङ भन्छन्, ‘चीनले मूल प्रविधि र एकीकृत प्रविधिगत समाधानमा अनुसन्धानलाई निरन्तर बलियो बनाउँदै लैजााने छ । हामी प्रविधि अनुसन्धान तथा विकास, मापदण्ड निर्माण, परीक्षण–प्रमाणीकरण र प्रयोग क्षेत्र विकासलाई एकीकृतरूपमा अगाडि बढाउँदै ६जीको मापदण्ड र औद्योगिकीकरणका लागि मजबूत आधार तयार पार्दै छौं ।’

सरकारी अधिकारीहरुका अनुसार आगामी दशकका लागि ६जी विश्वकै सबैभन्दा महत्वपूर्ण डिजिटल पूर्वाधार बन्नेछ । यसले सञ्चार, सेन्सिङ, कम्प्युटिङलगायतका क्षेत्रमा नयाँ प्रविधिहरूको एकीकृत उपयोगलाई सुनिश्चित गर्नेछ।

चीनले सन् २०३० भित्र ६जी व्यावसायिकरणको लक्ष्यसहित २०१९ मै विशेष समूह गठन गरेको थियो । जसले अनुसन्धान र नवप्रवर्तन कार्यलाई तीव्रता दिँदै आएको छ । त्यसबेलादेखि समूहले ६जी सम्बन्धी ८० भन्दा बढी श्वेतपत्र तथा अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिसकेको छ।

चीनको सूचना तथा सञ्चार प्रविधि एकेडेमीका उपप्रमुख तथा ६जी प्रवद्र्धन समूहकी प्रमुख वाङ ची छिन् भन्छिन्, ‘हामी २०२५ देखि ६जी उपकरणहरूको अनुसन्धान, विकास र परीक्षण चरणमा प्रवेश गरेका छौं । यो वर्ष हामी एकल प्रविधिको परीक्षणबाट परिदृश्य–उन्मुख, प्रणालीगत प्रविधिगत समाधान परीक्षणतर्फ प्रगतिशील बनेका छौँ।’

उद्योगसम्बन्धी प्रतिवेदनअनुसार यस वर्षसम्म चीनले विश्वभरका ६जी पेटेन्टमध्ये ४० प्रतिशत हिस्सा ओगटेको छ, जुन विश्वमै सबैभन्दा ठूलो हिस्साको रुपमा रहेको छ ।

स्राेत : सिसिटिभी प्लस ।

टिप्पणीहरू