शहरी क्षेत्रमा लोकप्रिय र प्रभावकारी हुँदै ‘नाइट–टाइम स्कुल प्रोजेक्ट’

शहरी क्षेत्रमा लोकप्रिय र प्रभावकारी हुँदै ‘नाइट–टाइम स्कुल प्रोजेक्ट’

चीनको निङ्पो सहरमा थालिएको ‘नाइट–टाइम स्कुल प्रोजेक्ट’ अहिले चीनका अन्य स्थानीय सरकारका लागि एउटा नयाँ सामाजिक–शैक्षिक मोडेलको मानक बनेको छ । मूलतः चियाङपेई जिल्लाले गत वर्षदेखि थालेको यो अवधारणा चीनको ती शहरी समुदायहरूका लागि विशेष उपयोगी सिद्ध भएको छ, जहाँ दिनभर काम गर्ने जनसंख्याको अनुपात तीव्र रूपमा बढ्दै गएको छ।

समय–अनुकूल शिक्षा : शहरी युवाका लागि समाधान

निङ्पो शहरको पछिल्लो श्रम संरचना हेर्दा, कार्यालय वा कारखाना समयपछिको समय अधिकांश युवाका लागि ‘रिक्त’ को सट्टा सीप विस्तार गर्ने ‘अवसर’ बनेको छ । त्यसैले विदेशी भाषा, संगीत, नृत्य, फेशन डिजाइन, बक्सिङजस्ता विषय रातिको समयमा उपलब्ध हुन थालेपछि ती कक्षाहरू स्वतः आकर्षक बनेका हुन् ।

यसले चीनको शहरी जीवनशैलीमा काम–पढाइ–अतिरिक्त कार्यको सन्तुलन बनाउने नयाँ ढाँचा स्थापित गरेको छ ।

स्थानीय सरकारको रणनीति : सार्वजनिक स्रोतको एकीकृत उपयोग

चियाङपेई जिल्लाले विश्वविद्यालय, अस्पताल, ल फर्म तथा अन्य संस्थाका स्रोतहरू एकीकृत गरेर यो परियोजना सञ्चालन गरेको जनाइएको छ । यसलाई चीनमा पछिल्ला वर्षहरूमा देखिएको ‘सार्वजनिक सेवाको साझेदारी मोडेल’ को व्यवहारिक उदाहरण पनि मानिएको छ ।

स्रोतको दोहोरो प्रयोग अर्थात् दिउँसो नियमित सेवा र रातिको विशेष कक्षाले खर्च घटाएको छ भने नयाँ कार्यक्रमलाई दिगो बनाएको छ।

बढ्दो सहभागी र आकर्षण

उक्त परियोजनामा पछिल्लो एक वर्षमा करिब १० हजार चिनियाँ नागरिक सहभागी हुनुलाई असामान्य वृद्धि ठानिएको छ । यसले चीनका शहरी क्षेत्रमा ‘नाइट–टाइम लर्निङ’ को माग उच्च रहेको देखाउँछन । 

त्यसैगरी सामाजिक जीवनशैली र कार्ययोजना विस्तारै परम्परागत समय तालिकाबाट अन्यत्र सिफ्ट भएको एउटा गतिलो प्रमाण पनि हो।

सांस्कृतिक पुनर्जागरणको आयाम

यसबाट कुचिन जस्ता परम्परागत वाद्ययन्त्र, कण्ठसंगीत र पारम्परिक कला कक्षाहरू युवा पुस्तामा पुनः लोकप्रिय बन्न थालेका छन्। नाइट–टाइम स्कुलले आधुनिक र परम्परागत शिक्षालाई एउटै मोडलमा ल्याएर ‘सांस्कृतिक निरन्तरता’ कायम राख्न मद्दत पुर्याएको छ ।

अन्य शहरका लागि मोडल

निङ्पोको सफलताले चीनका अन्य शहरहरूलाई ‘कम लागत, उच्च प्रभाव’ पर्ने यस्तो शिक्षा मोडल अपनाउन प्रेरित गरिरहेको छ। विशेषगरी कामकाजी जनशक्ति धेरै हुने शहरमा यो परियोजना समुदाय विकासका लागि उपयोगी हुने निश्चि छ ।

‘नाइट–टाइम स्कुल प्रोजेक्ट’ लाई चीनमा पछिल्लो समय परम्परागत कक्षा सञ्चालनभन्दा बढी अर्थ बोकेर उभिएको परियोजानाको रुपमा लिइएको छ । यो शहरी युवाको जीवनशैली परिवर्तन, सार्वजनिक स्रोतको सामूहिक उपयोग र सांस्कृतिक–सामाजिक पुनर्संयोजन का रूपमा उदाउँदै गएको स्वतः देखिन्छ ।

यस्तो प्रवृत्ति अन्य शहरमा बढ्दै गएको अवस्थामा चीनमा रातको समय केवल आरामका लागि नभएर ‘सामुदायिक शिक्षा र सीप विकास’ का लागि उपयुक्त घडीका रूपमा स्थापित हुने सम्भावना प्रवल छ।

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू