हिउँ परेपछि महिनौं महोत्सव, करोडौं डलरको व्यापार

हिउँ परेपछि महिनौं महोत्सव, करोडौं डलरको व्यापार

पर्यटन विकासका लागि राज्य र निजी क्षेत्रको प्रयास कस्तो हुनुपर्छ भन्ने उदाहरण चीनले दिएको छ । मरुभूमि, पठार भूमिमा समेत पर्यटन व्यवसाय फस्टाउँदै गरेको चीनमा उत्तरी भेगमा हिउँ पर्न थालेपछि हिउँदभर हिउँ महोत्सव आयोजनाको लागि तयारी थालिएको छ ।

भित्री मङ्गोलिया स्वायत्त प्रदेशले आगामी पाँच महिनासम्म आयोजना गरिने हिउँ र हिउँदे पर्यटन मौसमको तयारी गरेको जानकारी दिएको छ । यसअन्तर्गत १५९ सांस्कृतिक कार्यक्रम, ४८ खेलकुद गतिविधि र ४५ विशेष विषयमा आधारित पर्यटक मार्ग सञ्चालन गरिने स्थानीय अधिकारीहरूले जनाएका छन्।

डिसेम्बर २० देखि सुरु हुने २०२५–२०२६ को हिउँ–पर्यटन मौसममा प्रदेशको २१औँ ‘आइस एन्ड स्नो नादाम फेयर’ र मन्जौली सहरमा हुने २२औँ चीन–रूस–मङ्गोलिया अन्तर्राष्ट्रिय हिउँ–उत्सव मुख्य आकर्षण हुनेछन् । प्रदेश सरकारको संस्कृति तथा पर्यटन विभागका उपनिर्देशक वाङ्ग सेनरोंगका अनुसार यो पहल चीनले हिउँमा आधारित पर्यटन र खेलकुदमार्फत् ‘आइस–स्नो इकोनोमी’ विकास गर्ने राष्ट्रिय योजनाअन्तर्गत गरिएको हो ।

उक्त योजनामा सन् २०२७ सम्म हिउँदे पर्यटन उद्योगको आकार १.२ ट्रिलियन युआन (झन्डै १६ खर्ब ९ अर्ब अमेरिकी डलर) र २०३० सम्म १.५ ट्रिलियन युआन पुर्याउने लक्ष्य राखिएको छ । पछिल्लो समय चीनका विभिन्न प्रान्तहरूले हिउँद यामा हिउँ पर्यटनलाई विस्तार गर्न नयाँ आकर्षण र प्रोत्साहन कार्यक्रमहरू सार्वजनिक गरिरहेका छन् ।

उत्तर पूर्वको हेलोङ्जियाङ प्रान्तमा हुने विश्वकै सबैभन्दा ठूलो ‘हार्बिन आइस–स्नो वल्र्ड’ थप विस्तार गर्दै चार लाख घनमिटरभन्दा बढी स्थानमा हिउँ संरचनाहरु खुलेको छ। चिलिन प्रान्तले १० करोड युआन बराबरको हिउँ–पर्यटन भौचर वितरण गर्ने र स्की रिसोर्टसम्म छुटसहितको सटल सेवा उपलब्ध गर्ने घोषणा गरेको छ । सिन्जियाङको अल्ताय प्रिफेक्चरले स्की प्रवद्र्धनका लागि विद्यार्थीका लागि ‘९ दिनको हिउँ–बिदा’ व्यवस्था समेत गरेको छ।

भित्री मङ्गोलियामा भने उलान्चावु र आर्सान जस्ता शहरहरूले ज्वालामुखी स्कीइङ, स्नोमोबाइल र स्थानीय मौलिक आकर्षणलाई विशेषरूपमा प्रस्तुत गरिँदैछ । प्रदेशले पर्यटन भौचर, स्की–हटस्प्रिङ ‘कम्बो’ टिकट, तातो आराम क्षेत्र, न्यानो पेयसहित रमणीय स्थलहरूको समयावधि बढाउने व्यवस्था गरी हिउँदे पर्यटनका लागि आउने पर्यटलाई थप सहज बनाउन लागिपरेको देखिन्छ । 

स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू