देउवासामु ओलीले राखे विशेष प्रस्ताव
‘तपाइँ संसद पुनःस्थापनामा साथ दिनुस्, सफल भइयो भने जसलाई भन्नुहुन्छ, उसैलाई प्रधानमन्त्री बनाउन तयार छु ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासामु राखेको प्रस्ताव हो यो । त्यसलगत्तै काँग्रेस पनि विघटनविरुद्ध सर्वोच्चमा गएको छ । मंसिर १९ गतेको भेटका क्रममा एक दिनका लागि भए पनि संसद् पुनःस्थापना होस् भन्ने इच्छा जाहेर भएको स्रोत बताउँछ ।
प्रतिनिधिसभा ब्युँतेमा आफूहरूको राजनीतिक एजेण्डाले जित्ने र सुशीला कार्की नेतृत्वको सरकारले हार्ने ओलीको जिकिर छ । ‘दलले बनाएको सरकारले चुनावको मिति घोषणा गर्नुपर्छ र सुशीला कार्की नेतृत्वको सरकारलाई चुनाव गराउन दिन हुन्न भन्ने उहाँको भनाइ रह्यो,’ स्रोतले भन्यो ।
देउवालाई ओलीले अब सरकार बनाउन नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) को साथ नचाहिने पनि बताए । जेनजीतिर लागेका प्रचण्डलाई नलिइकन सरकार बनाउने र त्यसले नै चुनाव गराउने ओलीको भनाइ थियो । ओलीले त्यस्तो बचन दिएसँगै चुनावी तयारीमा लागिसकेको कांग्रेस संसद् ब्युँताउनुपर्ने माग लिएर सर्वोच्च पुगेको छ । ओलीसँग देउवाको भेट भएको पर्सिपल्टै कांग्रेसले सर्वोच्चमा मुद्दा दायर गरेको हो ।
भेटमा ओलीले आफू कुनै हालतमा सुशीला कार्कीले बोलाएको बैठकमा नजाने र देउवा पनि जान नहुने बताएका छन् । उनको भनाइ रह्यो, ‘म आइदिए हुन्थ्यो भन्ने प्रधानमन्त्रीको इच्छा थियो । तर, मैले अन्य नेतालाई पठाइदिएँ । म गइन, तपाईँ पनि नजानुस् ।’ उनले प्रचण्ड कार्कीले कतिबेला बोलाउलिन् र जाउँला भनी खुट्टा उचालेर बसेको पनि सुनाए ।
सुशीलाले आफूलाई जसरी भए पनि पक्रन खोजिरहेको र गल्ती खोज्न कर्मचारीलाई दबाब दिइरहेको सन्दर्भ निकाल्दै भने, ‘मेरो गल्ती निकाल भनेर दबाब दिइरहेको छ । सम्पत्ति शुद्धीकरणको बिचरा सहसचिवले के गर्न सक्थ्यो र ! मेरो केही भए पो गथ्र्यो !’ सकभर छानबिन आयोगमा बयान दिन नजाने, जानै परे युवासंघका एक लाख कार्यकर्ता लिएर जाने ओलीले बताए ।
‘मलाई सरकारले टार्गेट गरिरहेको छ तर डराएको छैन । मलाई फसाउन खोजेको हो, सक्दैन । बयानमा बोलाएको छ, नगए जरिवाना गर्छ । तयारी अवस्थामा छु, एक लाख कार्यकर्ता लिएर जान्छु’, देउवासामुन्ने उनले भनेका थिए । आउँदो फागुन ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने प्रस्ताव पनि ओलीले राखेका छन्् । कांग्रेस र एमाले मिले राष्ट्रिय सभामा एकछत्र हुने उनको तर्क छ ।
साथै, ओलीले कांग्रेस महाधिवेशनको प्रसंग पनि कोट्याएका छन्् । कुनै पनि हालतमा पार्टी सभापति गगन थापालाई दिन नहुने बताउँदै ओलीले तिनले पार्टीलाई खत्तम बनाएर छोड्ने भन्दै सचेत गराएका छन्् । आचरणमा गगनभन्दा डा.शेखर कोइराला ठीक भएको उनको ठम्याई छ । सामाजिक सञ्जालबाट युवापुस्तालाई उक्साउनेले पार्टीलाई लथालिङ्ग बनाउने उनको ठहर छ ।
देउवालाई सुझाव दिँदै भने, ‘हुन त यो तपाइँहरूको आन्तरिक मामिला हो तर गगनलाई कुनै पनि हालतमा सभापति बनाउनुहुँदैन । फेसबुकमा केटाकेटीलाई उचाल्ने, पछार्ने, सरकारको आलोचना गर्नेलाई सभापति बनायो भने पार्टी सकिन्छ ।’
(जनआस्था साप्ताहिकको मंसिर २४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू